चैत्र १५, २०८० बिहीबार

दार्चुलाकामा महिलामाथि यस्ता हिंसा



दार्चुला। पछिल्लो समय महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको दार्चुला प्रहरीको आँकडा हेर्ने हो भने पनि महिलामाथि र बालिकामाथि हुने घटना बढेका छन् । प्रहरीको तथ्याङ्क हेर्दा बलात्कार मात्र होइन, समग्र महिला हिंसा नै बढ्दो क्रममा देखिन्छ ।

त्यसमध्ये बलात्कार, बलात्कार प्रयास र घरेलु हिंसाका घटना अत्यधिक बढेका छन् । तथ्याङ्कअनुसार घरेलु हिंसापछि बलात्कार सङ्ख्यात्मक रूपमा महिला तथा बालिका बढी पीडित भएका छन् । समाजमा महिला हिंसामा पनि घरेलु हिंसाका घटनाको सङ्ख्या उच्च देखिन्छ ।

आर्थिक वर्ष २०७४/७५ मा २७, २०७५/७६ मा ३९, २०७६/७७ मा ४५, २०७७/७८ मा ३९ र २०७८/७९ पुग्दा घरेलु हिंसाको मात्रै ७७ वटा उजुरी प्रहरीमा परेका छन् । यस्तै २०७५/७६ मा पाँच, २०७६/७७ मा आठ, २०७७/७८ मा पाँच र २०७८/७९ मा पुग्दा बलात्कारका घट्ना ह्वात्तै बढेको छ । जबरर्जस्तीकरणी उद्योग, बालयौन दुव्र्यवहार, बालविवाह, बहुविवाह र महिलामाथि हुने हिंसाका आँकडा केलाउने हो भने अधिकांश घट्नामा महिला नै बढी पीडित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाही बताउनुहुन्छ ।

यसरी घटना बढ्नुमा एक त समाजमा अपराधकै दर बढेको र त्यससँगै प्रहरीमा उजुरी दिने प्रचलन बढ्नुले पनि सङ्ख्या थपिएको प्रहरी अधिकारीको तर्क छ । अपराधको सूचना प्रहरीमा आउने क्रम बढेसँगै समुदायमा कानुनको पहुँच पनि बढ्दै गएको भन्ने पनि देखाउँछ ।

स्थानीय तहमा बनेका न्यायिक समितिका कारण पनि पछिल्लो समय प्रहरीमा उजुरी दिने बढेको कतिपय बताउँछन् । निर्वतमान नौगाड गाउँपालिका उपाध्यक्ष गौरी बडाल न्यायिक समितिमा आउने उजुरी पनि प्रहरीमा पठाउने गरिएका कारण पछिल्लो समय उजुरीको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ ।

जिल्ला अदालतकै तथ्याङ्क हेर्ने हो भने पनि गतवर्ष बहुविवाह र बालविवाहका गरी १०/१० मुद्दा दर्ता भएका थिए । घरेलु हिंसाका चार मुद्दा दर्ता भएकामा तीन वटा फछ्र्यौट भएका छन् । विसं २०६६ मा जारी भएको घरेलु हिंसा कसूर तथा सजाय ऐनले शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातनालाई घरेलु हिंसाका रूपमा परिभाषित गरेको छ ।

ऐनले यो अपराध प्रमाणित भएमा रु तीन हजारदेखि रु २५ हजारसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ ।