बैशाख ६, २०८१ बिहीबार

यसरी सफल भयाे प्रेमिका प्रयोग गरेर साथीकी छोरी अपहरण गर्ने याेजना !



फोटो क्याप्सन : बालिकाको अपहरणमा संलग्न रवीन्द्रकुमार साह र अनु साह। तस्बिर/ किशोर बुढाथोकी

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका-१ का दीपेन यादवकी एक वर्षीया छोरी निकिशा यादवको अपहरण उनकै साथीको योजनामा भएको खुलेको छ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका-६ रामपुरका २७ वर्षीय रवीन्द्रकुमार साहले आफ्नी प्रेमिका विराटनगर-५ की २७ वर्षीया अनु साहलाई प्रयोग गरेर दीपेनकी नाबालिका छोरी निकिशालाई अपहरण गरेका हुन्।

दीपेन र रवीन्द्र पुराना साथी रहेको प्रहरीले जनाएको छ। दीपेनको घरनजिक रवीन्द्रको श्रीराम ट्रेडर्स नामको पसल छ।

बाबु दीपेनकै कारमा रहेकी निकिशा गत सोमबार बिहान ९ बजेतिर विराटनगर-१२ रोडशेष चोकबाट अपहरणमा परेकी थिइन्।

अपहरणपछि भारतको दरभंगामा लगेर दुई दिनसम्म लुकाएर राखिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।

उनका अनुसार फिरौती माग्ने योजना बनाएर बालिकाको अपहरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।  अपहरणमा संलग्न रवीन्द्र र अनुलाई पक्राउ गरेर प्रहरीले बुधबार सार्वजनिक गरेको छ।

‘निकिशालाई अपहरण गरेर बुवा दीपेन तथा हजुरबुवा दीपक यादवसँग १०-१५ लाख रूपैयाँजति फिरौती माग्ने योजना बनाइएको पाइयो,’ एसपी कोइरालाले भने, ‘घटनाका मुख्य योजनाकार रवीन्द्र हुन्।’

रवीन्द्र र अनुबीच दुई-तीन वर्षअघिदेखि प्रेम सम्बन्ध रहेको प्रहरीले जनाएको छ। फिरौती माग्नका लागि रवीन्द्रले प्रेमिका अनुलाई बालिकाको अपहरणमा प्रयोग गरेको कोइरालाले बताए।

उनका अनुसार सानैदेखिको साथी भएकाले दीपेनको पारिवारिक आर्थिक अवस्था मजवुत रहेको रवीन्द्रलाई थाहा थियो।  आर्थिक रूपले सम्पन्न रहेका अभिभावकसँग ‘बार्गेनिङ’ गरेर पैसा लिनका लागि निकिशाको अपहरण गरिएको उनले बताए। त्यसका लागि रवीन्द्रले अनुलाई प्रयोग गरेका हुन्।

रवीन्द्रको योजनाअनुसार प्रेमको नाटक गर्दै अनु दीपेनसँग नजिक भइन्। दीपेनको मोबाइलमा दुई महिनाअघि अपरिचित नम्बरबाट फोन आएको थियो।

फोनमा युवती (अनु) बोलिन्। बोलचाल हुँदै जाँदा दुवै जना नजिक भए। दीपेनकी पत्नी अध्ययनका क्रममा काठमाडौंमा बस्दै आएको प्रहरीले जनाएको छ।

‘दीपेन र अनुबीच फोनमा बाक्लै कुराकानी र भेटघाट हुन थालेछ। दीपेनसँग अनुले प्रेमको नाटक गरेकी रहिछन्,’ एसपी कोइराला भन्छन्, ‘फोन र भेटघाट गर्न तथा नजिक भएर सम्बन्ध बनाउन रवीन्द्रले लगाएको खुलेको छ। भेटघाटका क्रममा दीपेनले पत्नी काठमाडौंमा बस्ने र आफ्नो साथमा बच्चा (छोरी)पनि रहेको सुनाएका रहेछन्।’

प्रहरीका अनुसार दीपेनलाई सोमबार बिहान अनुले भेट्न बोलाइन्। साथमा छोरीलाई पनि ल्याउन आग्रह गरिन्। नानीलाई हेर्न र कपडा किनिदिन मन लागेको छ भनेर उनले आग्रह गरेपछि कारमा एक बर्से छोरीलाई राखेर दीपेन घरबाट निस्किए। रोडशेषको स्वागतम होटलअगाडि भेटेर अनुलाई पनि कारमा राखे।

‘अनुले साथमा बच्चाले लगाउने कपडा पनि ल्याएकी रहिछन्। कारभित्रै कपडा फेरिदिएर निकिशालाई आफूसँगै राखिछन्। त्यसपछि उनीहरु महेन्द्र मोरङ क्याम्पसनजिकको चिया पसलमा पुगे,’ कोइरालाले भने, ‘दुई कप चिया अर्डर गरे। तर मास्क लगाएकी अनुले चिया खाइनन्। आफ्नो मोबाइलमा ब्यालेन्स सकिएको र साथीलाई फोन गर्नुपर्ने भन्दै दीपेनको मोबाइल पनि मागेर लगेको खुलेको छ।’

फोन गर्नु छ भन्दै दीपेनकी नाबालिका छोरी र मोबाइल लिएर चिया पसलबाट निस्किएकी अनु फर्किनन्। प्रहरीका अनुसार पूर्वयोजनामुताविक रवीन्द्र पनि क्याम्पसनजिकै प्रदेश १-०२-०४६ प ७४१० नम्बरको मोटरसाइकल लिएर बसेका थिए। बच्चा लिएर आएकी अनु चढेपछि रवीन्द्रले मोटरसाइकल हुइँक्याए।

सुनसरीको दुहवी, इनरुवा हुँदै सप्तरीको राजविराज पुर्‍याएर कुनौली नाकाबाट भारतीय गाडी रिजर्भ गरी बालिकालाई दरभंगा लगेर दुई दिनसम्म राखेको पाइएको एसपी कोइरालाले बताए।

उनका अनुसार रवीन्द्र भने त्यही दिन फर्किएर विराटनगर आएका थिए। बिहान ११ बजेतिर दीपेनले आफ्नी छोरी लिएर अनु भागेको जानकारी प्रहरीलाई गराए।

अनु भने बच्चालाई लिएर दरभंगामै बसिन्। मोरङको रंगेली घर भइ विराटनगरमा फलफूल पसल सञ्चालन गरेर बसेका शम्भु साहका साडुभाइ विकास साहको घरमा लगेर उनले बच्चालाई राखेको पाइएको छ।

शम्भुमार्फत अनु केही समयअघि दरभंगास्थित विकासको घर पुगेको प्रहरी बताउँछन्। यता रवीन्द्रले भने विराटनगर आएर अनुकै मोबाइलबाट बालिकाका हजुरबुवालाई म्यासेज र फोन गरेपछि बालिका अपहरणमा परेको रहस्य खुलेको एसपी कोइरालाको भनाइ छ।

‘म्यासेज र फोन गर्दै पीडित परिवारलाई रवीन्द्रले फेसबुक र सामाजिक सञ्जालबाट बालिका हराएको कुराको पोस्ट हटाउन लगाएको पाइयो। भोलि फोन आउँछ अहिले शान्त भएर बस्नु भन्दै फोन र म्यासेज गरेका रहेछन्,’ उनले भने, ‘पैसा माग्दै धम्की पनि दिएपछि बालिका अपहरणमा परेको खुल्यो। त्यसअघि नै सबैतिर प्रहरी खटाएर बालिकाको खोजी तीव्र पारिएको थियो।’

उनका अनुसार रवीन्द्रले फोन र म्यासेज गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। बूढीगंगाबाट उनी पक्राउ परेपछि बालिकालाई दरभंगा पुर्‍याएको खुलेको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले बताए। त्यसपछि नेपाल प्रहरीले भारतीय  प्रहरीसँग समन्वय गर्दै बालिकाको खोजी थालेको थियो। भारतीय प्रहरीले बुधबार बिहान बालिकासहित उनलाई भारतको दरभंगामा लगेर लुकाउने अनुलाई नेपाल-भारत सीमा क्षेत्रसम्म ल्याइदियो।

‘भारतीय प्रहरीको सहयोगमा बालिकालाई सकुशल उद्धार गर्न सकियो,’ डीएसपी कार्कीले भने, ‘बालिकालाई दरभंगा पुर्‍याएर दुई दिनसम्म राख्ने अनुलाई पनि पक्राउ गरियो।’

उनका अनुसार परिवारसँग पैसा असुल्न दीपेनसँग युवतीलाई नजिक बनाउँदै रवीन्द्रले बालिका अपहरणको योजना बनाएको र योजनाअनुसार बालिकाको अपहरण भएको पाइएको छ।

फिरौतीवापत माग गरिएको रकम बुझाउन नपाउँदै अपहरणकारीलाई पक्राउ गरेर बालिकालाई उद्धार गर्न प्रहरी सफल भएको कार्की बताउँछन्।

उनका अनुसार रवीन्द्र र अनुविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ।

कसूर स्थापित भएमा अपहरणमा संलग्नलाई सातदेखि १० वर्षसम्म कैद र ७० हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।