बैशाख ६, २०८१ बिहीबार

शंकाकै कारण घट्याे रमाइलो चोकमा यस्ताे नरमाइलाे घटना



चितवन । साउदी अरबमा रहेका भरतपुर १० का कृष्णप्रसाद आचार्य परिवारका सदस्यहरुलाई खबर नगरी १९ जेठमा नेपाल आए । काठमाडौं ओर्लिए लगत्तै आफन्तलाई पनि जानकारी नदिई भरतपुर–१०, रमाइलो चोकस्थित घर आउँदा उनकी श्रीमती रुष्मा आचार्य घिमिरे लुगा पट्याएर बसिरहेकी थिइन् ।

अचानक घर आएका श्रीमानलाई देखेर उनी छक्क परिन् । श्रीमानले ‘सरप्राइज’ दिएको खुसी रुष्माले त्यसै दिन कुटाइ खाइन् । कृष्ण विदेशमा बस्दा पनि घरमा रहेकी श्रीमती रुष्मामाथि शंकाको नजरले हेर्थे भने रुष्मा त्यसको खण्डन गर्थिन् । कृष्ण घर फर्किएपछि पनि विवाद साम्य भएन, बरु ८ साउनमा अग्र रुप लियो ।

कृष्णले घाँटीमा धारिलो हतियार प्रहार गरेर श्रीमती रुष्माको हत्या गरिदिए । आफूले पनि घरको तीन तला माथिबाट हाम फालेर आत्महत्या गरे । रमाइलो चोकको तीन तले घरको माथिल्लो तलामा कृष्ण र उनकी आमा तथा दोस्रो तलामा रुष्मा र १२ वर्षीया छोरी बस्दै आएका थिए । ८ गते कृष्णकी आमा बट्टाइदेवी आचार्य आफन्तको घरमा गएकी थिइन् । त्यही मौकामा कृष्णले श्रीमतीमाथि खुकरी प्रहार गरे ।

श्रीमतीलाई खुकुरीले हानेपछि घरको तेस्रो तलाको छतमा पुगेका कृष्ण घर अगाडिको सडकमा हाम फाले । भुइँमा बजारिँदा टाउकोमा गम्भिर चोट लाग्यो । घटनाबारे थाहा पाएपछि प्रहरी पुग्दा भुइँमा लडिरहेका कृष्णलाई प्रहरीले उपचारका लागि चितवन मेडिकल कलेज पठायो । भित्र बैठक कोठामा रगताम्य भएर ढलेकी ३५ वर्षीया रुष्मालाई प्रहरीले पुरानो मेडिकल कलेजमा पठायो ।

तर दुबैलाई चिकित्सकले मृत घोषणा गरे । रमाइलो चोकको नरमाइलो घटना आगो सरी फैलियो । पोष्टमार्टममा संलग्न अधिकारीहरुका अनुसार शायद प्रतिकार गर्न खोजेकाले होला, रुष्माको घाँटी र हातमा पनि थुप्रै चोट देखिन्थे । कृष्णको भने निधारको भाग सडकमा बजारिएर फुटेर मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ । उनीहरुको सोमबार देवघाटमा सोमबार अन्त्येष्टि गरिएको छ ।

रूष्माले दिएकी थिइन् घरेलु हिंसाको जाहेरी

कृष्ण र रुष्माको बिहे भएको १४ वर्ष भएको थियो । उनीहरुको परिवारमा एक छोरी छिन् । भरतपुर १० मा घर बनाएका कृष्ण खर्च धान्न गाह्रो भएको भन्दै वैदेशिक रोजगारीका लागि साउदी अरब गए । श्रीमती रुष्माले विद्यालय पढाउँथिन् । नारायणगढको भानु माविमा केही वर्ष पढाएकी उनले पछिल्ला वर्ष तोरीखेतस्थित राष्ट्रिय माविमा अस्थायी राहत दरबन्दीमा अंग्रेजी विषय पढाउँथिन् ।

गत जेठ १९ गते अकस्मात विदेशबाट घर आएका श्रीमानले कुटपिट गर्न थालेपछि रुष्माले गत असार ३ गते जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा पुगेर आफ्नो पीडा पोखिन् । घरेलु हिंसा गरेको भनेर जाहेरी दिएपछि प्रहरीले रुष्माको माइती पक्ष र कृष्णको परिवारसहित राखेर छलफल पनि गरायो । एकै ठाउँमा बस्न नसक्ने भएपछि उनीहरुको बीचमा एउटै घरमा तर अलग–अलग फ्ल्याटमा बस्ने सहमति प्रहरीकै रोहवरमा भयो ।

तर श्रीमानले घरमा कुटपिट गर्न नछाडेको भन्दै रुष्मा असार ३१ गते जिल्ला प्रहरी कार्यालय पुगिन् । त्यही उनीहरुबीच छोडपत्रका लागि कानुनी प्रक्रिया अघि बढाउने सहमति भयो । छोडपत्रका लागि प्रक्रिया अघि बढाउन सहमत भए पनि जायजेथाको भागबण्डा कसरी गर्ने भन्ने सहमति हुन बाँकी थियो ।

उसो त कृष्ण र रुष्माबीच सहमति गराउन भनेर स्थानीय अगुवा महिलाहरुले पहल गरेका थिए । अब विदेश नफर्किने सोचले आएका कृष्णले घरमै पसल खोलेर व्यापार गर्ने र रुष्माले विद्यालय पढाउने भनेर मिलाउने प्रयास गरेको स्थानीय सीता दाहाल बताउँछिन् । ‘उनीहरुकै घरमा गएर हामीले दुबैलाई सम्झाएर मिलाउने प्रयास पनि गरेका थियौं,’ दाहालले भनिन्, ‘उनीहरु बीचमा आशंकाको ठूलो खाडल रहेछ ।’

कृष्णले अरु नै मान्छे देखाएर त्यसैसँग जा भनेर धम्काउने र कुटपिट गर्ने गरेको रुष्माले बताएकी थिइन् । रुष्माको भनाइ सम्झिँदै दाहालले भनिन्, ‘मैले पनि दुःख गरेर बसेकी छु, श्रीमान् विदेश गएको भनेर यहाँ पैसा उडाएको छैन, आफैंले त्यति टाढा गएर विद्यालय पढाएको छु, तर उसले जहिल्यै शंका गर्छ ।’

प्रहरीमा दुबै परिवारका जाहेरी

रुष्माको हत्या र कृष्णको आत्महत्याका विषयमा दुबै परिवारले अलग–अलग जाहेरी दिएका छन् । मृतक रुष्माका बुबा नेत्र घिमिरे र कृष्णकी आमा बट्टाइदेवी आचार्यले अनुसन्धान गरिपाऊँ भनी प्रहरीमा जाहेरी दिएका छन् । मृतक महिलाको माइती पक्षले भने नाम किटेर जाहेरी दिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीले विभिन्न विज्ञहरुको सहयोगमा घटनाको अनुसन्धान गरिने बताए ।