बैशाख १३, २०८१ बिहीबार

निर्मला हत्याको ४ वर्ष : अलमलमै अनुसन्धान ११० जनाको डीएनए परीक्षणपछि प्रहरीकाे यस्ताे जवाफ



कञ्चनपुर — भीमदत्तकी किशोरी निर्मला पन्तको हत्यापछिका चार वर्षमा आधा दर्जन टोलीद्वारा छानबिन तथा अनुसन्धान, ६ सय ३५ जनासँग सोधपुछ र १ सय १० जनाको डीएनए परीक्षण भइसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन ।

प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अहिले पनि उक्त घटनाको अनुसन्धान गरिरहेको छ । ०७५ साउन १० मा भीमदत्त–१८, निम्बुखेडास्थित साथीको घर गएकी भीमदत्त–२ उल्टाखामकी निर्मला त्यही दिनदेखि बेपत्ता भएकी थिइन् । भोलिपल्ट उनी घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् ।

त्यसयता सुरु भएको प्रहरी अनुसन्धान अहिलेसम्म टुंगोमा पुगेको छैन । प्रहरीले अपराधीसम्म पुग्ने प्रमाणसमेत भेट्न सकेको छैन । अहिले पनि शंकास्पद व्यक्तिलाई सोधपुछ, निगरानीमा राख्नेदेखि डीएनए परीक्षण भइरहेको जिल्ला प्रहरी कञ्चनपुरका प्रमुख एसपी श्यामसिंह चौधरीले बताए ।अनुसन्धानका क्रममा डीएनए परीक्षण गरिएकामध्ये २ जनाको रिपोर्ट आउन बाँकी रहेको एसपी चौधरीले बताए ।

‘अब हामीले अनुसन्धानको शैली परिवर्तन गरेका छौं,’ उनले भने, ‘लागूऔषध प्रयोगकर्तालाई पनि घटनासँग जोडेर अनुसन्धान गरिरहेका छौं ।’ उनले घटनास्थल र घटनाको प्रकृति हेर्दा लागूऔषध प्रयोगकर्ता वा मजदुर वर्गकै व्यक्ति संलग्न हुन सक्ने विश्लेषण गरिएको बताए । अहिले पनि प्रहरीले लागूऔषध प्रयोगकर्ता १७/१८ जनालाई निगरानीमा राखेको छ । ‘केही व्यक्ति घटनालगत्तै भारततर्फ गएको देखिएको छ, उनीहरूलाई ट्रेस गरिरहेका छौं,’ एसपी चौधरीले भने ।

उनले पछिल्लो समय स्थानीय र महिला अधिकारकर्मीलगायतबाट सहयोग पाउँदा अनुसन्धानमा सहज वातावरण बनेको बताए । जिल्ला प्रहरी कार्यालयले डीएसपी चक्रबहादुर शाहलाई अनुसन्धान अधिकृत तोकेर अहिले पनि घटनाको अनुसन्धान गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले पनि डीएसपी मनोहर भट्टको नेतृत्वमा टोली पठाएको छ । घटनाको ४ वर्षको अवधिमा थुप्रै उतारचढाव आइसकेको छ । सत्तापक्षले हत्यारा लुकाएको आरोप लगाउँदै आएको कांग्रेस अहिले सरकारमा छ ।

प्रधानमन्त्री शेरबहादुर देउवादेखि मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति दिलेन्द्रप्रसाद बडूले प्रतिपक्षमा रहेका बेला निर्मलाकी आमा दुर्गादेवीलाई घरमै भेटेर अपराधी उम्किन नदिने आश्वासन दिएका थिए । आफ्नो सरकार आएको २४ घण्टाभित्रै अपराधी पत्ता लगाउने प्रतिबद्धता कांग्रेस नेताहरूले गरेका थिए । बडू केही समय कानुन मन्त्रीसमेत भए । कांग्रेस नेतृत्वको सरकार बनेको पनि एक वर्षभन्दा बढी भइसकेको छ ।

निर्मलाको शव भेटिएकै दिनदेखि महिला अधिकारकर्मीदेखि विभिन्न संघसंस्थाले आन्दोलन थालेका थिए । घटनाको करिब एक महिनापछि भदौ ४ मा प्रहरीले भीमदत्त–१९ बागफाटाका दिलीप बिष्टलाई अपराधीका रूपमा सार्वजनिक गरेको थियो । त्यसपछि नक्कली हत्यारा सार्वजनिक गरेको भन्दै आन्दोलन झनै चर्कियो ।

भदौ ७ मा सरकारले घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्‍यो । छानबिन समिति गठन भएकै दोस्रो दिन आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा भीमदत्त–१८ का सन्नी खुनाको मृत्यु भएको थियो । कैयौं घाइते भएका थिए । उक्त घटनाको राष्ट्रिय मानवअधिकार आयोगले छानबिन गरेको थियो ।

आयोग र सरकारले गठन गरेका छानबिन समितिले अनुसन्धानमा संलग्न प्रहरीको प्रारम्भिक अनुसन्धान नै प्रभावकारी हुन नसकेको छानबिन प्रतिवेदनमा उल्लेख गरिएको थियो । तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त सार्वजनिक कार्यक्रममै घटनाको अनुसन्धानमा प्रहरीबाट लापरबाही भएको तर्फ संकेत गर्दै केही प्रहरीको गैरजिम्मेवार कामले प्रहरी संगठनकै शिर निहुरिएको बताएका थिए ।