असार ६, २०८१ बुधबार

डेंगी सार्ने लामखुट्टेले दिउँसै टोक्छ



दिउँसै टोक्ने लामुखट्टेले डेंगी सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरू बताउँछन्।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहानैदेखि बिरामीको भीड लाग्ने गरेको छ। जिउ दुखेका, ज्वरो आएका बिरामीको टिकट काउन्टरमा लामो लाइन हुन्छ।

दुई वर्षयता प्रायः ज्वरो आउँदा कोरोनाभाइरस संक्रमणको चिन्ता हुन्छ। केही दिनदेखि भने काठमाडौंमा अर्को रोग देखिएको छ, डेंगी। अहिले टेकु अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीमा डेंगी पुष्टि भएको चिकित्सक बताउँछन्।

काठमाडौंसँगै देशका विभिन्न जिल्लामा डेंगी रोग फैलिंदै गएको छ। चिकित्सकका अनुसार, एडिस इजिप्टी र एडिस आल्बोपिक्टस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट यो रोगको संक्रमण हुने गर्छ। अहिलेसम्म ९८३ जनामा डेंगी देखिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, गत साता देशैभर २९५ जनामा डेंगी देखिएको छ। जबकि, गत वर्ष भदौको दोस्रो साता देशभर १० जनामा मात्रै डेंगी देखिएको थियो।

गत साता ललितपुरमा ८१, रुपन्देहीमा ६०, काठमाडौंमा ३७, नवलपरासी पश्चिम र भक्तपुरमा आठ-आठ, धादिङ, गुल्मी र कपिलवस्तुमा सात-सात, अर्घाखाँचीबाट ६, तेह्रथुम, सिन्धुली र मकवानपुरबाट पाँच-पाँच जनामा डेंगी देखिएको छ।

अहिले टेकु अस्पतालमा मात्रै दैनिक दर्जनौं बिरामी आकस्मिक कक्षमा भर्ना हुन थालेका छन्। अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार, भदौ ११ गते ८५ जना भर्ना भएका छन्। त्यस्तै, भदौ १० गते ६८, भदौ ९ गते ६५ र भदौ ८ गते ५९ जना भर्ना भएका थिए।

अस्पताल भर्ना भएकामध्ये केही बिरामी गम्भीर पनि देखिएका छन्। केहीलाई आईसीयूमा पनि राख्नु परिरहेको छ। अहिले तीन जनालाई आईसीयूमा राखेर उपचार भइरहेको गौतमले बताए।

डेंगीबारे सचेत नभएकाले नै अहिले एकाएक बिरामी बढ्न थालेको अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनको भनाइ छ। “मानिसले अझै पनि दिउँसो लामखुट्टेले टोक्छ भन्ने विश्वास गरेका छैनन्। राति सुत्दा झुलदेखि सबै सुरक्षाका मापदण्ड अपनाउँछन्, तर दिउँसो भने यसलाई बेवास्ता गरिरहेका हुन्छन्,” डा. पुन बताउँछन्।

घरमा जस्तै विद्यालय, कार्यालयमा पनि लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनुपर्ने उनी बताउँछन्। “घरमा हुँदा सचेत हुन्छन्, तर सबैभन्दा बढी सचेत विद्यालय, कार्यालय, घर निर्माण भइरहेको क्षेत्र आदिमा हुनुपर्छ,” उनी भन्छन्।

उनका अनुसार, अस्पताल आउने ३० प्रतिशत मानिसलाई दिउँसो टोक्ने लामखुट्टेले डेंगी सार्छ भन्ने थाहा नै छैन। जसले गर्दा समूहमै डेंगी फैलिइरहेको पाइएको उनको भनाइ छ। केही विद्यालयका एकै कक्षाका विद्यार्थी बिरामी भएको पाइएको उनी बताउँछन्।

अहिले एडिस इजिप्टी र एडिस आल्बोपिक्टस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट डेंगी संक्रमण भइरहेको छ। सन् २००४ मा मात्र यसको रिपोर्ट भएको थियो। डेंगीको प्रवृत्ति हरेक तीन वर्षमा ठूलो प्रकोप ल्याउने रहेको डा. पुन बताउँछन्।

अहिले सबै प्रदेशमा डेंगीको संक्रमण देखिएको छ। २०७० देखि २०७६ सालसम्म सबैभन्दा बढी प्रदेश १ मा चार हजार १४५ जनामा डेंगी देखिएको थियो। त्यस्तै, लुम्बिनीमा एक हजार ३३१, बागमतीमा एक हजार २८१, मधेशमा ८०७, गण्डकीमा ६२९, सुदूरपश्चिममा ८८ र कर्णालीमा २८ जनामा डेंगी देखिएको तथ्याङ्क छ।

अहिले सबैभन्दा ठूलो चुनौती डेंगीका लागि प्रयोग गर्ने औषधिको सेवन भएको डा. पुन बताउँछन्। “डेंगीले मानिसको जीउ एकदमै दुखाउँछ। यसका लागि कडा औषधि माग गर्छन्। ज्वरोका लागि सिटामोल नै दिने गरेका छौं, जुन कडा औषधिको जस्तो काम गर्दैन,” डा. पुन भन्छन्, “तर, बिरामी आफैंले घरमा उपचार गर्ने हुँदा सिटामोलले काम गरेन भनेर ब्रुफिन, फ्लेकजोन, निम्स जस्ता औषधिहरू प्रयोग गर्छन्, जुन स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छन्।”

डेंगीका लागि यस्ता औषधिको प्रयोगले पछि स्वास्थ्यमा नराम्रो असर गर्छ। टेकु अस्पतालमै कार्यरत चिकित्सकहरूले नेपालमा २००६ देखि २०१९ सम्म डेंगीको प्रकोपबारे गरेको अध्ययनमा कतिपय बिरामीमा एक्युट डेंगी हेमोरेजिक फिभर, डेंगी सक सिन्ड्रोम, मल्टी अर्गान फेलियर जस्ता समस्या देखिएका छन्।

हालै मात्र पाँच दिनसम्म लगातार फ्लेकजोन औषधि सेवन गरेका व्यक्तिको आँखाबाट रगत बग्न थालेको केस अस्पतालमा आएको डा. पुन बताउँछन्। “योभन्दा अगाडि यस्तो केस देखेको थिइनँ,” डा. पुनको सुझाव छ, “घरमै बसेर उपचार गर्ने बिरामीलाई गम्भीर समस्या भएमा तुरुन्त अस्पताल भर्ना गर्नुपर्छ।”

डेंगीका लक्षण:

  • ज्वरो आउने
  • जीउ तथा जोर्नीहरू दुख्ने
  • टाउको दुख्ने
  • आँखाको गेडा खस्ला जसरी दुख्ने
  • वाकवाकी लाग्ने, वान्ता हुने
  • खान मन नलाग्ने
  • जीउ चिलाउने
  • एडिस आल्बोपिक्टस प्रजाति।

डेंगीबाट बच्ने उपाय:

  • डेंगीबाट बच्न कुनै प्रकारका औषधि तथा खोप हुँदैन। यसबाट बच्न डेंगी सार्ने लामखुट्टेको टोकाइबाटै बच्नुपर्छ।
  • दिउँसो पनि लामखुट्टेबाट बच्न सुरक्षाका साधनहरू प्रयोग गर्ने।
  • फोहोर ठाउँहरू सफा राख्ने, पानी जम्न नदिने।
  • कार्यालय, विद्यालय तथा कक्षाकोठाहरूमा पनि लामखुट्टे मार्ने साधनहरूको प्रयोग गर्ने।
  • हातखुट्टा छोपिने गरी लुगा लगाउने।
  • घरभित्र वा बाहिर लामखुट्टेले टोक्न नसक्ने क्रिमहरूको प्रयोग गर्ने।

हिमालखबरबाट