बैशाख १२, २०८१ बुधबार

बलात्कार गरेको आरोपमा सन्दीप लामिछाने विरुद्ध आफ्नै फ्यानद्वारा किटानी दर्ता



आफ्नै प्रसंकलाई बलात्कार गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध किटानी दर्ता भएको छ । महानगरीय प्रहरी वृत्त गौशालामा बुधबार १७ वर्षीया युवतीले लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले बताए ।

लामिछानेले आफूलाई बलात्कार गरेको जाहेरी लिएर पिडित किशोरी गौशाला प्रहरीमा पुगेपछि प्रहरी वृत्तले काठमाडौं प्रहरी प्रमुख बोहोरालाई त्यसबारे जानकारी गराएको थियो । त्यसपछि उक्त सूचना प्रहरी नेतृत्वसम्म पुगेको थियो ।

प्रहरीले हिजै स्वास्थ्य परीक्षण गराएर प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ । काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती लामिछानेकी ‘फ्यान’ भएको कारण लामिछानेसँग सम्पर्क भएको प्रहरीले जनाएको छ । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । सामाजिक सञ्जालमार्फत नै लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए ।

‘पीडित उनको फ्यान भएकाले म्यानिपुलेट गरेको जस्तो देखिन्छ’ गौशाला प्रहरीका एक अधिकृत भन्छन्, ‘प्रायजसो स्न्यापच्याटमै कुरा हुने रहेछ ।’ स्न्यापच्याटमा संवाद पठाएको हेर्ने वित्तिकै आफैं डिलिट हुन्छ । लामिछाने ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए ।

त्यसको अघिल्लो दिन उनले पीडितलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुईपटक बलात्कार गरेको पीडितको भनाइ छ । ‘केन्या जानु अघिल्लो दिन सन्दीप आफ्नो कारमा मध्य बानेश्वरस्थित होस्टल नजिकै लिन आएको थियो’ उनले प्रहरीसमक्ष भनेकी छन्, ‘त्यतिबेला भक्तपुर गएका थियौं, फर्किएर आउँदा मध्यराति भइसकेको थियो।’

उनले सन्दीपलाई राति ८ बजेपछि होस्टल बन्द भइसक्ने बताएकी थिइन् । तर सन्दीपले ‘एकछिनएकछिन’ भन्दै ढिला गरेको पीडितको भनाइ छ । झण्डै ११ बजिसकेपछि सन्दीपले होटलमा बस्ने प्रस्ताव गरेको उनको बयान छ । त्यसपछि सन्दीपले उनलाई पिंगलास्थानस्थित होटलमा लगेका थिए । पीडितले दुईवटा कोठा लिन भने पनि सन्दीपले नमानेको प्रहरीको भनाइ छ ।

राति लठ्याएर दुई पटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट ९सीसी० टीभी फुटेज पनि संकलन गर्न थालेको छ । होटलका कर्मचारीहरुसँग पनि सोधपुछ गरिरहेको छ ।

प्रारम्भिक जाँचमा उनी ५ भदौमा ती स्थानमा पीडितसँग गएको देखिएको प्रहरीले जनाएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले ४ पुस २०७८ मा लामिछानेले राष्ट्रिय क्रिकेट टिको कप्तान नियुक्त गरेको थियो । उनी २५ वर्षका छन् ।

‘स्टारडम’को आडमा नाबालिगलाई बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहलाई मंगलबार मात्रै दुई वर्ष कैद सजाय भएको छ । पीडितले अदालतमा बयान फेरेपछि बलात्कारको कसूरमा उनले सफाइ पाएका छन् । तर बाल यौन दुरुपयोगमा उनी दोषी ठहर भएका हुन् ।