चैत्र १५, २०८० बिहीबार

एक बालिका सहित २ जना डेंगीका बिरामीको मृत्यु



नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेंगीका बिरामीको मृत्यु भएको छ।

बढैयाताल गाउँपालिका–८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईंले बताए।

उनकाअनुसार, ८६ वर्षीय पुरुष भदौ १४ गते र १२ वर्षीया बालिका १९ गते भर्ना भएका थिए। ८६ वर्षीय वृद्धमा दमको कारण स्वासप्रश्वासमा समस्या देखिएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो।

दुवै जनाको उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो। भेरी अस्पतालमा अहिले डेंगी सङ्क्रमित बिरामी उपचारका लागि आउनेक्रम बढिरहेका छन्।

पहिलो पटक डेंगीको सङ्क्रमण सामान्य भए पनि दोस्रो पटक कडा हुने भएकाले सङ्क्रमण फैलिनसक्ने डा चापागाईंले बताए।

बाँकेमा डेङ्गु सङ्क्रमण फैलिन नदिन नेपालगञ्ज उपमहानगरले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ।

समुदायस्तरमा सचेतना सँगसँगै लामखुट्टेको लार्भा नष्ट पार्ने अभियान भइरहेको उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए।