बैशाख २, २०८१ आईतबार

मधेसमा ‘बच्चा चोर’ को अफवाह- निशानामा निम्छरो महिला



जनकपुरधाम । सिरहाको कर्जन्हा नगरपालिका-६ स्थित बगैचामा बिहीबार दिउँसो एक महिला बसेकी थिइन् । उनी घण्टौसम्म त्यहाँ बसेपछि स्थानीय भेला भएर ‘बच्चा चोर’ को आरोप लगाउँदै मरणासन्न हुनेगरी कुटपिट गरे ।

कुटपिटबाट बेहोस बनेकी महिलालाई गाउँलेले कर्जन्हा प्रहरी चौकीमा लगेर जिम्मा लगाइदिए । प्रहरीका अनुसार गाउँलेले आरोप लगाएजस्तो ती महिला होइनन् । सर्लाही घर भएकी उनको मानसिक स्वास्थ्यमा समस्या देखिएको प्रहरीले बताएको छ । उनलाई हिजै साँझ छाडियो ।

बिहीबार राति सिरहाकै औरही गाउँपालिका ५ मा पनि एक महिला स्थानीयबाट कुटिएकी छन् । गाउँकै डिहबार मन्दिर आसपास घुमिरहेकी ४० वर्षीया महिलालाई राति करिब १० बजे गाउँलेले नियन्त्रणमा कुटपिट गरे, अनी नजिकै रहेको प्रहरी चौकीमा बुझाए ।

उनीमाथि पनि गाउँलेले ‘बच्चा चोर’ को आरोप लगाए । स्थानीयले होहल्ला गर्न थालेपछि औरही प्रहरीले उनलाई राति नै जिल्ला प्रहरी कार्यालय सिरहा लगेको थियो ।

यी प्रतिनिधि केही घटना मात्र हुन् । केही दिनदेखि सप्तरी, धनुषा, महोत्तरी, रौतहट, बारा र पर्सालगायत मधेसका जिल्लामा बच्चा चोरको आतंक नै चलेको छ । भारतबाट बच्चा चोर्ने गिरोह मधेस पसेको अफवाहले स्वयं बालबालिका मानसिक तनावमा छन् ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बच्चा चोर भनेर स्थानीयबाट समातिएकी महिलाहरुमाथि अनुसन्धान गर्दा पुष्टि नहुने गरेको बताए ।

उनले भने, ‘कर्जन्हामा स्थानीयले बुझाएको महिला निर्दोष सावित भइन् । औरहीबाट नियन्त्रणमा लिइएकी महिला पनि दोषी पाइएन । मानिसहरू सचेत हुनु जरुरी छ। जो पायो त्यहीलाई शंका लाग्यो भन्दै कुटपिट गर्नु हुँदैन । प्रहरीमा बुझाएपछि अनुसन्धान हुन्छ । यदि दोषी देखिए कानूनबमोजिम कारबाही हुन्छ ।’

रौतहतमा पनि महिलामाथि अन्याय

रौतहटमा पनि बच्चा चोरको हल्लाले निर्दोष अपरिचित महिलाहरू कुटिएको घटना सार्वजनिक भएको छ । केही दिनअघि राजदेवी नगरपालिकाका बासिन्दाले एक महिलालाई बच्चा चोर्न आएको भन्दै कुटपिट गरे र पछि प्रहरीमा बुझाए । उनीमाथिको आरोप पनि गलत देखियो ।

आरोपी बोल्न नसक्ने थिइन् । तर, स्थानीयले नबोल्ने नाटक गरेको भन्दै उनीमाथि जाइलागे ।

रौतहटका प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगर भन्छन्, ‘जिल्लाका अन्य ठाउँमा पनि यस्तै प्रकृतिको घटना भएको छ । तर, नियन्त्रणमा लिइएका र कुटपिट गरिएकाहरू बच्चा चोर रहेको पुष्टि भएको छैन ।’ उनका अनुसार बच्चा चोरको हल्लामा सत्यता छैन ।

‘बच्चा चोर’ को आरोप गाउँलेले कुटपिट गर्दै प्रहरीमा बुझाएकाहरू मागेर खाने, मानसिक सन्तुलन ठिक नभएका, बोल्न नसक्ने पाइएको प्रहरीले जनाएको छ । शंकाकै भरमा कसैलाई आक्रमण गर्दा अर्को दुर्घटना हुन सक्ने भन्दै त्यसरी कुटपिट नगर्न र आवश्यक परे प्रहरीलाई खबर गर्न एसपी बुढामगरले आग्रह गरे ।

कसरी चल्यो हल्ला ?

फेसबुक र टिकटकबाट यस्तो हल्ला फैलिएको छ । भाइरल एक भिडिओमा बच्चालाई एक युवकले विस्कुटले लोभ्याएर बेहोस पार्छन्, अनी पेट चिर्न खोज्दा गाउँले आएर कुटपिट गरेको देखाइएको छ ।

युवा अभियनता महेश यादव भन्छन्, ‘सामाजिक सञ्जालको भाइरल भिडिओलाई गलत ढंगले प्रचार गर्दा अहिले बच्चा चोरको गलत हल्ला फैलिएको छ । यसले धेरै मानिसलाई त्रसित बनाएको छ ।’

प्रहरी प्रशासनले यस्तो अफवाह फैलाउनेलाई कारबाहीको दायरामा नल्याए साथै सर्वसाधारणमाझ सचेतना जनाउन नसके निर्देोष अझै कुटिने उनको भनाइ छ ।