चैत्र १६, २०८० शुक्रबार

नेपालकै उत्कृष्ट बन्याे ७६ वर्षीया देवीमायाले हाँकेको सहकारी



दाङ लमहीको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कारबाट पुरस्कृत भएको छ। देशभरबाट उत्कृष्ट सहकारीको रूपमा कर्मठ सहकारीलाई ठहर गरी तीन लाख रुपैयाँ पुरस्कार र सहकारीकी ७६ वर्षीया अध्यक्ष देवीमाया थापालाई सम्मान गरिएको छ।

लुम्बिनी सम्मेलन तथा ध्यान केन्द्र भैरहवा रूपन्देहीमा बिहीबार भएको कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन र पूर्वमन्त्री गोकर्ण बिष्टले थापालगायत उद्यमीलाई सम्मान तथा पुरस्कृत हो। आफूले नेतृत्व गरेको सहकारी देशकै उत्कृष्ट भई सम्मान तथा पुरस्कार पाउँदा खुसी लागेको थापाले बताइन्।

‘म र मेरो सहकारीमा आबद्ध सबै सदस्य यसरी पटक-पटक सम्मानित हुँदा धेरै उत्साहित भएका छौं,’ उनले भनिन् ‘इमान्दारिताका साथ प्रयास गरे सफलता टाढा रहेनछ।’  सहकारीले गर्दै आएको कामको  मुल्यांकन गरी हेफर प्रोजेक्ट नेपालले राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ।

हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा २०६८ साल मंसिर २२ गते साना किसान उद्यमी सुदृढिकरण परियोजना अन्तर्गत समुह बनाएर कर्मठ सहकारी सुरू भएको थियो।

२०७० कार्तिक १४ गते  सहकारी दर्ता पछि समुहमा हस्तान्तरण भएको थियो। २५ जना सदस्यबाट सुरू भएको सहकारीमा हाल १३३५ जना सेयर सदस्य छन्।  चार करोड कूल पूँजी रहेको कर्मठ सहकारीमा ५ जना कर्मचारी छन्। जसले वर्षेनी दुई हजार बढी खसी बाख्रा बिक्री गर्दै आएका छन्।

सहकारीबाटै पशुको स्वास्थ उपचार, बीमा सेवा, घाँसको बिउबिजन उपलब्धता, रासायनिक मलको बिक्री बितरण गरिँदै आएको अध्यक्ष थापाले बताइन्। यो बीचमा सहकारीमा आबद्ध कतिपय शेयर सदस्यले वैदेशिक रोजगारमा गएका आफ्ना श्रीमानलाई घरमा फिर्ता बोलाएर व्यावसायिक बाख्रापालन गर्दै स्वरोजगार सृजना गर्दै आएको थापाले जानकारी दिइन्।