>

मंसिर २१, २०७९ बुधबार

खानेकुरा नमिल्दा बढ्ने सुगर, कसरी थाहा पाउने ?



हिजोआज चियापसलमा चिनी विनाको चिया पिउनेहरु धेरै भेटिन्छन्। तिनमा कोही ‘सुगर’ भएकाहरु हुन्छन् त कोही ‘सुगर’ नहोस् भनेर चिनीरहित वा कम चिनीयुक्त चिया पिउने हुन्छन्।  यसैले देखाउँछ सुगर अर्थात् मधुमेह रोगप्रति मानिसहरुको चिन्ता।

के हो त मधुमेह अर्थात सुगर रोग? नर्भिक हस्पिटलकी कन्सल्टेन्ट एन्डोक्राइनोलोजिष्ट डा. मधु पाण्डेका अनुसार अंग्रेजी भाषामा डायबिटिज भनिने यो एकदमै सुखसयल जिन्दगी जिउने मानिसलाई लाग्ने रोग हो।

डा. पाण्डेका अनुसार गुलियो खाएकै कारण डायबिटिज हुँदैन। शरीरमा मोटोपन हुँदा, अल्छीपना बढ्दा र इन्सुलिन कम हुँदा मधुमेह हुन्छ।

विश्वभर ५ करोड बढी मधुमेहका रोगी छन्। २०३० सम्म यो संख्या बढेर ७ करोड पुग्ने अनुमान छ।

‘अहिले १० जना बच्चामध्ये १ जनामा, ६ जना गर्भावस्थाका महिलामध्ये १ जनामा डायबिटिज भेटिन्छ’, उनी भन्छिन्, ‘मधुमेहका रोगी बढ्दै गएका छन्।’

२ किसिमको हुन्छ चिनी रोग अर्थात् मधुमेह
डा. पाण्डे नेपालमा ५० प्रतिशत मानिसमा वंशाणुगत कारणबाटै यो रोग देखिएको बताउँछिन्। त्यसबाहेक प्रकार–२ का मधुमेह रोगीमध्ये ५० प्रतिशत मोटोपनको कारण हुन्छ। जसमा २ जनामा चेक गर्दा १ जनामा मधुमेह देखिनथालेको छ।

‘मधुमेह मुख्यतः २ किसिमको हुन्छ। प्रकार–१ र प्रकार–२ को हुन्छ’, उनी भन्छिन्, ‘प्रकार–१ बच्चाहरुमा बढी हुन्छ भने प्रकार–२ वयष्कहरुमा बढी देखिन्छ।’

विश्वभर नै प्रकार–२ का बिरामी बढी हुने उनको भनाइ छ। प्रकार–१ का मधुमेह हुनेमा इन्सुलिन बन्दै बन्दैन। यस्ता बिरामीले जीवनभरि नै इन्सुलिन प्रयोग गर्नुपर्छ।

कसरी थाहा पाउने मधुमेह हो कि होइन?
मधुमेह बढ्दै जाने रोग भएकाले यसले आँखा, किड्नी (मिर्गौला), मुटु, नशा र खुट्टालाई बढी हानि गर्छ।

डा. पाण्डेका अनुसार मधुमेह भएको ६० प्रतिशत मानिसलाई कुनै लक्षण नै देखिँदैन।
सोही कारण वंशाणुगत रुपमै मधुमेह देखिएका परिवारले हरेक २–३ महिनामै स्वास्थ्य परीक्षण गराइराख्न उनको सुझाव छ।

उनी भन्छिन्, ‘परिवारमा मोटोपन, बच्चा ४ किलो तौलभन्दा माथि जन्मिएको छ र बीएमआई (बडी मास इन्डेक्स अर्थात् कुनै पनि व्यक्तिको उचाइ र तौलमा आधारित मापन) ३५ भन्दा माथि छ भने मधुमेह हुनसक्छ।

खानेकुरा नमिल्दा बढ्छ सुगर
गाउँमा बस्नेको तुलनामा सहरमा बस्ने धेरैलाई मधुमेह देखिन्छ।

गाउँको खानपान स्वस्थ हुनुका साथै काम पनि उत्तिकै गर्ने हुँदा मधुमेह लाग्न नपाउने डा. पाण्डे बताउँछिन्।

‘तर सहरका बच्चा पिज्जा, बर्गर मात्रै खोज्छन्। जसले मधुमेह बढाउन सहयोग गर्छ’, उनी भन्छिन्।

१० वर्ष अघिसम्म मधुमेहलाई रोगका रुपमा लिइँदैनथ्यो। रोग नै नमानिसकेपछि यसको उपचार गर्नुपर्छ भन्ने चेतना पनि थिएन। तर आजभोलि भने धेरैले स्वास्थ्य परीक्षण गराउनुपर्छ भन्ने जागरुकता आएको उनको भनाइ छ।

‘स्वास्थ्य बीमा गर्नुपर्छ, परिवारको कसैलाई मधुमेह भए चेक गराउनुपर्छ, स्वस्थकर खानेकुरा खानुपर्छ भन्ने जागरुकता बढिरहेको छ’, उनी थप्छिन्।

मानिसले बजारमा आउने नयाँ खानेकुरा खाने तर व्यायाम नगर्दा मधुमेह बढ्दै गएको उनको बुझाइ छ।

‘बेकरी आइटम, मिठाइ, प्याकिङ फुडजस्ता प्रोसेस्ड फुड खाँदा मधुमेह हुन्छ’, उनी भन्छिन्, ‘अब हामीले स्वस्थकर खाना प्रयोग गर्नुपर्छ भन्ने चेतना आइरहेको छ।’

मधुमेह नियन्त्रण हुन्छ त भन्ने नेपालखबरको प्रश्नमा डा. पाण्डे यसको सबैभन्दा राम्रो उपाय खाना नियन्त्रण नै रहेको बताउँछिन्। खासगरी पकेटका खानेकुरा जति सकिन्छ नखान उनको सुझाव छ।

‘हरेक दिन ३० मिनेट हिँड्ने व्यायाम गर्ने। खानाको कन्ट्रोलले नै केही वर्षलाई धकेल्न सकिन्छ’, उनी भन्छिन्, ‘आफूले स्वस्थकर जीवन बिताउँदा नराम्रो अवस्था आउनबाट रोक्न सकिन्छ। तर दीर्घकालीन रोग भएको हुँदा पछि बिरामीलाई इन्सुलिन नै चाहिन्छ।’

यसरी मधुमेहको विषयमा जागरुक बनाई नियन्त्रण गर्न सकिने उनको भनाइ छ।

मधुमेह रोगीले के खाने? के नखाने?
नेपालमा बढीजसो मधुमेहका बिरामीले फलफूल खानै हुँदैन भन्ने छ। खानामा पनि च्याँख्ला, ढिँडो, कोदो खाऊ भन्ने ‘कन्सेप्ट’ बनिरहेको छ। अझ भात त खानै हुँदैन, रोटी खानुपर्छ भन्ने पनि छ।

तर डा. पाण्डे यसलाई भ्रम भन्छिन्। उनका अनुसार यो सबै गलत बुझाइ हो।
‘राम्रो साग सब्जी खाएर थोरै भात खाँदा सुगर बढ्दैन’, उनी भन्छिन्, ‘कसैले भात खाँदैन तर १० वटा रोटी खान्छ भने सुगर बढिहाल्छ।’

खानाको मात्राले पनि फरक पार्ने उनी बताउँछिन्।

‘अहिले बिरामीमा के छ भने ब्राउन राइस खाँदा सुगर हुँदैन, सामान्य भात खाँदा बढ्छ भन्ने छ’, उनी भन्छिन्, ‘ब्राउन राइसको स्वाद नमिठो हुँदा मानिसले धेरै भात खाँदैन तर साधारण चामलको भात खाँदा धेरै खान्छ। धेरै खाँदा सुगर बढ्छ।’

कार्बोहाइड्रेड पाउने खानाभन्दा प्रोटिन पाउने खाना बढी प्रयोग गर्न उनी सुझाव दिन्छिन्।

उनका अनुसार भात, रोटीभन्दा बढी तरकारी खानुपर्छ। रेशा, खस्रोयुक्त खाना छिटो पच्दैन। नरम खालको खाना बढी खानेबित्तिकै शरीरले उत्पादन गर्ने ग्लुकोज र इन्सुलिनको प्रक्रिया मिल्दैन।

त्यसकारण मधुमेह नियन्त्रण गर्न साग, सब्जीजस्ता रेशाजन्य परिकारमा बढी ध्यान दिनुपर्छ।

औषधि छ कि छैन? यसको प्रयोगले बिरामी कमजोर हुन्छ?
डायबिटिजमा फरक–फरक प्रकारको औषधि रहेको डा. पाण्डे बताउँछिन्। प्रकार–१ का डायबिटिज भएकाले इन्सुलिन लगाउनैपर्छ।

उनका अनुसार सुगर चेकजाँच गर्दै नगर्दा कतिबेला कम कतिबेला बढी हुन्छ थाहा नहुँदा अप्ठ्यारो हुन्छ। प्रकार–२ को डायबिटिज भएकाले भने औषधि प्रयोग गर्नुपर्छ।

औषधि प्रयोग गर्दा सुगर कम हुनसक्ने, रिंगटा लाग्ने, पसिना आउने, थर्थराउने, छिटो भोक लाग्ने हुँदा आफूलाई सुगर लो भएको हुनसक्छ। सुगर चेकजाँच गराउँदा ७०–८० भए कम हुनुपर्छ। कमजोरी औषधिको कारण मात्रै नभई खानपानको व्यवहारले पनि हुन्छ।

औषधि खाने तर खाना नखाँदा बिरामी कमजोर हुन्छ। सुगर लो हुँदा औषधि कम हुन्छ। मधुमेहका औषधिले मिलाएर खाँदा साइड इफेक्ट नगर्ने उनी बताउँछिन्।