>

मंसिर २१, २०७९ बुधबार

निर्वाचनमा खटिएकी कर्मचारीको मृत्यु



धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको शुक्रबार अपराह्न मृत्यु भएको छ ।

मृत्यु हुनेमा सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक्षिका पवित्रा याखा लिम्बू रहेको जनाइएको छ । मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्कंदै गरेकी लिम्बू अचानक बेहोस भएको मतदान अधिकृत प्रज्ज्वल पोखरेलले जानकारी दिए ।

उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको पोखरेलले बताए । उनी मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी थिइन् । उच्च रक्तचापको समस्या रहेकी लिम्बू सोही कारण बेहोस भएको हुन सक्ने बताइएको छ ।