>

माघ २०, २०७९ शुक्रबार

प्रतिनिधिसभामा २२५ महिला उम्मेदवार मध्ये जम्मा ९ जना विजयी



काठमाडौँ – प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९ जना मात्रै महिला निर्वाचित भएका छन् । मंसिर ४ मा सम्पन्न निर्वाचनबाट एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २, नेपाली कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टीबाट १–१ महिला मात्र निर्वाचित भएका हुन् ।
कूल १६५ सिटका लागि २ हजार ४ सय १२ उम्मेदवारमध्ये २२५ जना महिला उम्मेदवार थिए ।

२ हजार ४ सय १२ उम्मेदवारमध्ये २२५ जना मात्र महिला थिए, तीमध्ये एमालेबाट ३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २, नेपाली कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टीबाट १–१ महिला मात्र निर्वाचित भएका छन् ।

एमालेबाट धनुषा–३ मा जुलीकुमारी महतो, बारा–३ मा ज्वालाकुमारी साह, कास्की–२ मा विद्या भट्टराई र सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी निर्वाचित भएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–२ मा सोविता गौतम र ललितपुर–३ मा तोसिमा कार्की निर्वाचित भएका छन् ।

माओवादीकी रेखा शर्माले दाङ–२ बाट चुनाव जितेकी छन् भने कांग्रेसकी सीता गुरुङले तेह्रथुमबाट चुनाव जितेकी छन् । नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले कैलाली–१ बाट जितेकी छन् । एमाले सचिव पद्मा अर्याल उम्मेदवार रहेको स्याङ्जा–२ मा भने मतगणना भएको छैन ।

समग्रमा प्रत्यक्षतर्फ कम महिला निर्वाचित हुँदा एकातिर संसद्मा महिला प्रतिनिधित्व विगतभन्दा पनि कमजोर हुने भएको छ भने अर्कोतिर समानुपातिकतर्फ सीमान्तकृत समुदायका पुरुषले समेत अवसर नपाउने सम्भावना बढेको छ ।

कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा उम्मेदवार रहेका १४ महिलामध्ये १२ जना पराजित भइसकेका छन् । संविधानले संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने भनेको छ । तर, यस पटक प्रत्यक्षमा सबै पुरुष मात्रै निर्वाचित हुने र समानुपातिकमा थ्रेसहोल्डसमेत नकटाउने दलको संख्या धेरै हुँदा महिलाको प्रतिनिधित्व घट्ने सम्भावना देखिएको छ । एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य प्रत्यक्षमा कम महिला निर्वाचित हुँदा संसद्मा महिलाको प्रतिनिधित्व घट्ने सम्भावना बढेको बताउँछिन् । ‘दलहरूले महिलालाई उम्मेदवार बनाउन कञ्जुस्याइँ गरे । उम्मेदवार नै कम भएपछि धेरै महिलाले जित्ने कुरै भएन,’ उनले कान्तिपुरसँग भनिन्, ‘अब प्रत्यक्षमा धेरै महिलाले नजित्ने, स्वतन्त्र उम्मेदवार र थ्रेसहोल्डसमेत नपुग्ने दलबाट धेरै उम्मेदवार विजयी हुँदा संसद्मा महिला प्रतिनिधित्व ३३ प्रतिशतसमेत पुग्दैन । दलहरूले समानुपातिकबाट यसलाई भरपूर गर्नुपर्ने हुन्छ ।’

प्रत्यक्षमा पुरुष मात्रै विजयी भए पनि समानुपातिक सिट पाउने दलले समानुपातिकबाट आफ्नो दलबाट निर्वाचित हुने सदस्यमध्ये ३३ प्रतिशत महिला निर्वाचित गराउनैपर्ने व्यवस्था छ । तर, यस पटक प्रत्यक्षमा जित्ने र समानुपातिकमा थ्रेसहोल्ड नपुग्ने दलसमेत छन् । प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा एकीकृत समाजवादी, ४ सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टी, ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टी र १–१ सिट जितेका जनमत र नेपाल मजदुर किसान पार्टीले समानुपातिकमा थ्रेसहोल्ड कटाउने सम्भावना कम छ । यी दल र स्वतन्त्र उम्मेदवार भएर जितेका ५ समेत गरी २४ जना छन् । संविधानको व्यवस्थाबमोजिम संसद्मा ३३ प्रतिशत महिलाको संख्या पुग्न यीमध्ये पनि ७ जना महिला निर्वाचित हुनुपर्ने थियो । तर, यीमध्ये एक जना मात्रै महिला छिन् । जसकारण संसद्मा महिलाको प्रतिनिधित्व ३० प्रतिशतको हाराहारी मात्रै हुने देखिन्छ । तर, महिला नेता र अधिकारकर्मीहरू भने निर्वाचन आयोगले विशेष निर्देशन दिएर भए पनि संसद्मा महिलाको प्रतिनिधित्व घट्न दिन नहुने बताउँछन् ।

महिला तथा बालबालिकामन्त्री उमा रेग्मी संसद्मा एक तिहाइ महिलाको प्रतिनिधित्व घट्न दिन नहुने बताउँछिन् । ‘प्रत्यक्षमा महिलाको उम्मेदवारी नै कम भयो, त्यसैले कम महिलाले जित्ने कुरा स्वाभाविक हो । तर, संसद्मा प्रतिनिधित्व ३३ प्रतिशतभन्दा पनि कम हुने कुरा राम्रो होइन,’ उनले भनिन् । विश्लेषक माधवी भट्ट निर्वाचन आयोगले विशेष निर्देशन दिएर भए पनि प्रतिनिधिसभामा ३३ प्रतिशत संख्यामा महिला निर्वाचित गराउनुपर्ने बताउँछिन् । ‘पार्टीले महिलालाई विश्वास गरेनन्, हाम्रो समाजले पनि महिलालाई विश्वास गरिहाल्ने अवस्था बनेको छैन, धेरै महिला पराजित हुनु त्यसैको परिणाम पनि हो,’ उनले भनिन्, ‘त्यसो भन्दैमा महिलाको प्रतिनिधित्व कमजोर हुन दिन हुँदैन ।’

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्मुखमै महिला सांसदहरूले प्रत्यक्षतर्फ कम्तीमा पनि ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने माग गरेका थिए । त्यही बेला निर्वाचन आयोगले समेत ३३ प्रतिशत महिलालाई उम्मेदवार बनाउन दलहरूलाई निर्देशन दिएको थियो । तर, आयोगको त्यो निर्देशन मानेनन्, न त महिला नेताहरूको आग्रह पनि सुनेनन् । जसकारण उम्मेदवारीमा यस पटक पनि विगतकै जस्तै न्यून उम्मेदवारी पर्‍यो ।

कांग्रेसले उम्मेदवारी दिएका ९१ मध्ये ५ जना महिला उम्मेदवार थिए । तर, अहिलेसम्म कांग्रेसले जितेका ४९ सिटमा एक जनामात्रै महिला छन् । तेह्रथुमबाट सीता गुरुङ निर्वाचित हुँदा अरु चार महिला उम्मेदवार पराजित भएका छन् । मकवानपुर–१ मा महालक्ष्मी उपाध्याय (डिना), अर्घाखाँचीमा पूर्वउपसभामुख पुष्पा भुसाल र मोरङ–२ मा पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला पराजित भएका छन् भने सिरहा–२ मा पूर्वकोषाध्यक्ष चित्रलेखा यादव पराजित भएकी छिन् ।

नेकपा एमालेले १४१ सिटमा उम्मेदवारी दिँदा ११ महिलालाई उठाएको थियो । एमालेबाट उम्मेदवारी दिएका पाँच महिला पराजित भएका छन् । कञ्चनपुर–३ मा नीरुदेवी पाल, बागलुङ–२ मञ्जु शर्मा, दाङ–१ शान्ता चौधरी, दाङ–३ कोमल वली र डोटीमा गौरीकुमारी ओलीले जित हासिल गर्न सकेनन् ।

माओवादीले ४६ सिटमा उम्मेदवारी दिँदा महिला ७ जना थिए । अहिलेसम्म १४ सिटमा विजयी हुँदा रेखा शर्माले मात्रै चुनाव जितेकी छन्, ६ जना पराजित भएका छन् । शर्माले दाङ–२ मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले हराएकी हुन् । काठमाडौं–२ मा पूर्वसभामुख ओनसरी घर्ती, ललितपुर–३ मा हाल ऊर्जामन्त्रीसमेत रहेकी पम्फा भुसाल, काठमाडौं–१० मा अञ्जना विशंखे, काठमाडौं–७ मा मानुषी यमी भट्टराई, काठमाडौं–९ मा कल्पना धमला, जुम्लामा गोमा गौतम र कञ्चनपुर–१ बिना मगर पराजित भएका हुन् ।

त्यस्तै, गुल्मी–२ मा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्री पराजित भएकी छन् । सत्ता गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्यूठानमा चुनाव हारिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १३१ क्षेत्रमा उम्मेदवारी दिएकामध्ये १२ महिला थिए । ७ सिट जित्दा काठमाडौं–२ बाट सोविता गौतम र ललितपुर–३ बाट तोसिमा कार्की निर्वाचित भएका छन् । अहिले पाँच सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कोही पनि महिलाले चुनाव जितेका छैनन् । जनता समाजवादी पार्टीले सात जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो । तर, कसैले पनि चुनाव जितेनन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाली–१ बाट चुनाव जितेकी छन् ।

उम्मेदवारीका हिसाबले हेर्दा यस पटक तुलनात्मक रूपमा ०७४ को भन्दा बढी हो । त्यसबेला १२९ जना महिला उम्मेदवार थिए । तीमध्ये १६ जना प्रमुख राजनीतिक दलबाट थिए । जबकि यसपटक प्रमुख दलबाट २५ महिला उम्मेदवार थिए । तर, चार दलको गठबन्धनबाट उम्मेदवार हुँदासमेत धेरै महिला पराजित हुनु दु:खद भएको महिला नेताहरू बताउँछन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी महिलामन्त्री रेग्मी गठबन्धन हुँदासमेत महिला नेताहरू पराजित हुनुमा ‘मनी र मसल’ प्रमुख कारण रहेको बताउँछिन् । ‘चुनाव जित्न संगठन प्रमुख आधार हुन्छ । त्यो महिला भए पनि हो, पुरुष भए पनि उही हो । तर, अहिलेको चुनाव खर्चिलो छ, तडकभडक गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘हामी महिला तडकभडक गर्न सक्दैनौं, करोडौं रुपैयाँ खर्च गर्न सक्दैनौं ।’ दलहरूले महिलाले जित्दैनन् भन्ने मानसिकता राख्दा तल्लो तहसम्म त्यसले प्रभाव पारेको उनको भनाइ छ । ‘त्यत्रो हेभिवेट उम्मेदवारलाई गठबन्धनबाट रेखा शर्माले जित्नुभयो, तेह्रथुममा सीता गुरुङले ०४८ सालदेखि चुनाव जितेको विजय सुब्बालाई हराउनुभएको छ’ उनी भन्छिन्, ‘महिलाले जित्नै सक्दैनन् भन्नु गलत हो भनेर सावित गर्न यही उदाहरण पर्याप्त छन् ।’