>

माघ १९, २०७९ बिहीबार

पत्रकारलाई मन्त्रीको म्यासेज : निद्रा लागेन, तिम्रो याद आयो !



म विगत दश वर्षदेखि मधेस प्रदेशमा पत्रकारिता गर्छु । एकजना राज्यमन्त्रीलाई अन्तर्वार्ताका लागि पटकपटक फोन गरेँ । उहाँको समय मिलेपछि अन्तर्वार्ता लिएँ । अन्तर्वार्ता लिइसकेपछि ‘तपाईं त राम्रो मान्छे हुनुहुँदोरहेछ, मैले पहिल्यै भेट्नुपर्ने’ भन्नुभयो । मैले सामान्य रूपमा लिएँ । त्यतिबेला म रेडियो र टेलिभिजन दुवैमा काम गर्थें । रेडियोमा गरेपछि केही दिनपछि टेलिभिजन अन्तर्वार्ताका लागि समय मिलाएँ । स्टुडियोमा अन्तर्वार्ता सकिएपछि उहाँले ‘प्राइभेट रुम छैन ? एकछिन कुरा गरौँ न’ भन्नुभयो । प्राइभेट रुम त छैन, तर यहाँ कुरा गर्न मिल्छ भनेँ । ‘भइहाल्यो’ भनेर उहाँ जानुभयो । राति मोबाइलमा म्यासेज आयो– ‘निद्रा आएन, तिम्रो याद आयो ।’ मैले जवाफ दिइनँ र उहाँसँग कहिल्यै सम्पर्क गरिनँ ।

मधेस प्रदेशमा रेडियो र टेलिभिजनमा कार्यरत एक महिला पत्रकारकाे याे भनाइ मिडिया एडभोकेसी ग्रुप (म्याग) ले वि.सं. २०७९ साउन २६ गते गरिएको समूहगत छलफलमा राखेकी हुन् । म्यागले आज (बुधबार) ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ काे प्रतिवेदनमा याे  विषय सार्वजनिक गरेकाे छ । प्रतिवेदन अनुसार देशभरका दुई सय ८१ महिला पत्रकारबीच गरिएको अध्ययनमा ९० प्रतिशतले अनलाइन हिंसा भोगेको बताएका छन् ।

अन्य संस्थाको तुलनामा सञ्चारमाध्यमलाई बढी बहस र छलफल हुने थलोको रूपमा लिइन्छ । पत्रकारले प्रचलित कानुन र सामाजिक न्यायका सम्बन्धमा मोटामोटी बुझेको हुन्छ भन्ने पनि समाजको धारणा पाइन्छ । छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत पत्रकार महिलामाथि नै यो परिमाणमा हिंसा हुन्छ भने आम महिलाको अवस्था के होला ?

सहकर्मीबाटै बढी हिंसा

अध्ययनमा सहभागी ८८.६ प्रतिशत (दुई सय ४९ जना) ले विभिन्न माध्यम र प्रकारबाट आफूले अनलाइन हिंसा भोगेको बताएका छन् । यस्तै, ११.४ प्रतिशत (३२ जना) ले आफूले प्रत्यक्ष रूपमा अनलाइन हिंसा नभोगेको तर भोगेकाहरूले आफूलाई सुनाएको बताएका छन् ।

अध्ययन अनुसार, सबैभन्दा बढी हिंसा गर्नेमा कार्यालयभित्र र कार्यालय बाहिरका सहकर्मी छन् । त्यस्तै, राजनीतिक दलका व्यक्ति, सरकारी निकायका व्यक्ति र सुरक्षाकर्मीले समेत हिंसा गरेको पाइएको छ ।

अध्ययनमा सहभागी ४१.३ प्रतिशत (एक सय १६ जना) ले कार्यालयभित्रका सहकर्मीबाट र ३१.७ प्रतिशत (८९ जना)ले कार्यालय बाहिरका सहकर्मीबाट अनलाइन हिंसा भोगेको बताएका छन् । नचिनेको व्यक्तिबाट हिंसा गर्ने पनि ३१.७ प्रतिशत नै छन् ।

यस्तै, राजनीतिक दलका सदस्यबाट १९.९ प्रतिशत, सरकारी निकायका व्यक्तिबाट ९.३ प्रतिशत र सुरक्षाकर्मीबाट ६ प्रतिशतले हिंसा भोगेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यरत संस्था के भन्छ ?

अध्ययन अनुसार, अनलाइन हिंसामा परेका महिला पत्रकारले हिंसा सम्बन्धमा आफू कार्यरत संस्थालाई बताउने गरेका छन् । अध्ययनमा सहभागीमध्ये ३३.५ प्रतिशत (९४ जना)ले आफू कार्यरत संस्थाको नेतृत्वले कानुनी उपचार खोज्न सुझाव दिएको बताएका छन् । यस्तै, २०.६ प्रतिशत (५८ जना) ले आफू कार्यरत संस्थाबाट कुनै प्रतिक्रिया र सहयोग नपाएको, १६ प्रतिशत (४५ जना)ले आफू कार्यरत संस्थाले चुप लागेर बस्न भनेको बताएका छन् ।

आफू कार्यरत संस्थाले पीडकमाथि छानबिन गरेको बताउने ११ प्रतिशत छन् भने घटनालाई सामान्य रूपमा लिन भनिएको बताउने ५ प्रतिशत महिला पत्रकार छन् ।

अध्ययनमा सहभागीमध्ये ४.६ प्रतिशत पीडितलाई उनीहरू कार्यरत संस्थाले डिजिटल सुरक्षा विशेषज्ञसँग सम्पर्क गर्न भनेको थियो ।

प्रहरीमा उजुरी र न्याय

अध्ययन प्रतिवेदन अनुसार, अनलाइन हिंसामा परेपछि प्रहरीमा उजुरी दिँदा पनि न्याय नपाउने ३७ प्रतिशत छन् । उजुरी दिनेमध्ये २०.६ प्रतिशतको दर्ता भएको, ६.८ प्रतिशतको उजुरी नै दर्ता नभएको, ११.४ प्रतिशत पीडितको उजुरीमा पीडकलाई पक्राउ गरिएको, ६.८ प्रतिशत पीडितको उजुरीलाई अदालत पु¥याइएको, १६ प्रतिशत पीडितको उजुरीमा पीडकले माफी मागेर मिलापत्र भएको, ९.३ प्रतिशत पीडितको उजुरीमा पीडितलाई पक्राउ गरी अनुसन्धान थालेको प्रतिवेदनमा उल्लेख छ ।

हिंसाको असर

अध्ययनअनुसार, अनलाइन हिंसामा परेका ७४.३ प्रतिशत पत्रकार महिलाले तनाव बढेका कारण कामको गुणस्तर खस्केको बताएका छन् ।

अध्ययनमा सहभागीमध्ये ४० प्रतिशतले अनलाइन हिंसाका कारण आफ्नो पेसामा असर परेको, ३१ प्रतिशतले पारिवारिक जीवनमा असर परेको र ४३ प्रतिशतले मानसिक स्वास्थ्यमा असर परेको बताएका छन् । यस्तै, हिंसामा परेपछि २६.३ प्रतिशत महिला पत्रकारले मनोसामाजिक परामर्श लिनुपरेको छ ।

हिंसामा परेको घटना बताउँदा साथी तथा सहकर्मीको हेर्ने नजर फरक परेको बताउन १७.७ प्रतिशत छन् ।

हिंसाको कारण

अध्ययन प्रतिवेदनले महिला पत्रकारमा अनलाइन हिंसा बढ््नुमा सातवटा कारण देखाएको छ । जसअनुसार, डिजिटल लिटरेसीको कमी, उचित कानुनको कमी, मिडियामा आवश्यक नीतिको अभाव, महिला पत्रकारलाई हेर्ने दृष्टिकोण, कानुनको कार्यान्वयनमा उदासीनता, पितृ सत्तात्मक स्रोत र पत्रकारमा व्यावसायिकताको कमी आदि कारण महिला पत्रकारमाथि अनलाइन हिंसा बढेको हो ।

माध्यम

इन्टरनेटलाई माध्यम बनाएर गरिने हिंसालाई अनलाइन हिंसा भनिन्छ । अध्ययनमा सहभागीमध्ये सबैभन्दा बढी एक सय ७५ जना (६२.२ प्रतिशत) ले फेसबुक म्यासेन्जरबाट आफू हिंसामा परेको बताएका छन् । यस्तै, एक सय ७२ जना (६१.२ प्रतिशत) ले फेसबुकका माध्यमबाट, १२.८ प्रतिशतले ह्वाट्सएपबाट, ११.७ प्रतिशतले भाइबरबाट, ४.६ प्रतिशतले इन्स्टाग्रामबाट, ६ प्रतिशतले इमलेबाट र २.५ प्रतिशतले युट्युबबाट, १.१ प्रतिशतले एसएमसएबाट र माथिका सबै माध्यमबाट १.१ प्रतिशतले हिंसा भोगेको बताएका छन् ।