बैशाख ८, २०८१ शनिबार

महिला उद्यमीको संख्या बढे मात्र अर्थतन्त्र सबल : सोनाली गुरुङ



काठमाडौँ — हाम्रो आइटी स्टिल स्टक्चर सोलुसन कम्पनी एक युरोपियन टेक्नोलोजी हो । यो टेक्नोलोजी विदेशमा यसअघि नै विश्वसनीय भइसके पनि नेपालमा नयाँ कन्सेप्ट रहेको छ । २०७२ को भूकम्पमा भएको क्षतिपछि ३ वर्षको गहन अनुसन्धान गरी हामीले यो टेक्नोलोजी लिएर आएका हौं ।

२०१५ पछि भार नहुने घरहरुको विकास हुन थालेको छ । यो टेक्नोलोजीद्वारा ठूला – ठूला घर पनि बनाउन सक्छौं, भवनहरु निर्माण गर्न सक्छौं । हाम्रो टेक्नोलोजीमा एमएस स्टिल राखेर ठूला भवन पनि बनाउन सकिन्छ । यस्ता घरमा भार कम पर्ने भएकाले भूकम्पमा मानवीय र भाैतिक संरचनाहरुको क्षति निकै कम हुन जान्छ । अहिले हाम्रो मुख्य चुनौती भनेको बैंकको उच्च ब्याजदर हो । कुनै पनि बिजनेसको संभाव्यता अध्ययन गरी लागत, तिर्ने क्षमता मूल्यांकन गरेर मात्रै ऋण लिन्छौं । सुरुमा ऋण लिँदा ब्याजदर ७– ८ प्रतिशत थियो । तर हाल यो १६–१७ प्रतिशतसम्म तिर्नु परेको छ । यसले गर्दा हाम्रो प्रोजेक्ट नै अब फेल हुने अवस्थामा पुगेको छ । विशेषत सुरुवाती इमर्जिङ व्यवसायीलाई ‘सर्भाइव’ गर्न निकै गाह्रो छ ।

अर्को भनेको भन्सार महसुल पनि चुनौतीकै विषय छ । हामीले धेरै रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान गर्नको लागि योगदान पुर्‍याउन खोज्छौं । त्यसकारण सरकारले भन्सार महसुलको दर पनि हेरिदिनुपर्छ । मेसिनमा ३३ प्रतिशत भन्सार महसुल लगाइरहेको अवस्था छ । कच्चा पदार्थको पनि समस्या छ । कच्चा पदार्थ हामीले चीन वा भारतबाट ल्याउनुपर्ने बाध्यता छ । हाम्रो इन्डस्ट्रिजले खपत गर्ने कच्चा पदार्थ जिङ्ककोटिङ पातालाई तयारी वस्तुको रुपमा हेरिएको छ, जसले गर्दा हामीलाई कच्चा पदार्थमा पनि भन्सार महसुल २० प्रतिशत छ । अर्को भनेको म्यानुफ्याक्चरिङ र फ्रेब्रिकेसन इन्डस्ट्रिज वर्गीकरण गर्नमा समस्या छ । सरकारले वर्गीकरण गरी फ्रेब्रिकेसन इन्डस्ट्रिजलाई छुट्याइदिनुपर्छ । हामीले दर्ता गर्दा फ्रेब्रिकेसन भन्ने कुनै शब्द नै नभएकाले म्यनुफ्याक्चरिङ कम्पनीका रुपमा दर्ता गराउनु परेको छ । बैंकले हरेक महिना वा त्रैमासिक बिक्री रिपोर्ट माग्छ । तर हामी प्रोजेक्टमा आधारित काम गर्छौं, सेल्स गर्देनौं । तसर्थ बैंकले प्रोजेक्टमा आधारित व्यवसायलाई छुट्टाएर हेरिदिनु पर्‍यो ।

नेपालमा टेक्निकल फिल्डमा महिलाको संख्या निकै कम छ । पछिल्लो समय पुरुषले पनि आफ्ना श्रीमतीहरुलाई टेक्निकल फिल्डमा अगाडि बढाइरहनु भएको छ । बुबाहरुले छोरीहरुलाई आवद्ध गराउनुभएको छ । जबसम्म छोरीहरुलाई हरेक किसिमका बिजनेसमा आवद्ध गर्दनौं तवसम्म अर्थतन्त्रलाई अघि बढाउन गाह्रो हुन्छ ।

कम्पनी दर्ता गर्ने क्रममा भएको एउटा रमाइलो घटना म भन्छु । बुवाले प्रेरणा दिएकाले हामी ३ छोरीहरु कम्पनी दर्ता गर्नका लागि प्रपोजल बुझाउन गयौं । हामी आफैंले प्रपोजल लेखेर जाँदा त्यहाँका हाकिमले हाम्रो ब्युटीपार्लरको लागि वा आचार उद्योगका लागि आएको ठान्नुभएछ । उहाँले नै महिलाहरुले टेक्निकल फिल्डमा पनि उद्योग खोल्न सक्छन् भनेर सोच्नै सक्नुभएको रैनछ । त्यसैले अब सोचलाई परिवर्तन गर्नुपर्छ । महिलाहरु दक्ष भइसकेका छन् । अब छोरी, बुहारीहरु पनि सक्षम भइसकेका छन् । यदि हामीले बराबरी गर्न सकेनौं महिलाहरु जहाँको त्यहीं हुन्छौं । दर्तामा प्रपोजल दिएपछि १० वटा त्रुटि निकालियो । किनभने हामीले दर्ताको लागि कसैलाई घुस खुवाएनौं । उद्योग दर्ता गर्न छ महिना लाग्यो । कत्ति पनि रकम नबुझाइकन कम्पनी दर्ता गर्न सफल भयौं ।

महिलाहरुलाई आर्थिक रुपले समृद्ध बनाउन महिलाहरुमार्फत नै अझै उद्योगमा लगानी बढाउनुपर्छ । यसले हाम्रो अर्थतन्त्र पनि सबल हुन्छ । महिलाहरुलाई उद्योगमा सहभागी गराउनका लागि ‘सफ्ट लोनको सिलिङ’ अझै बढाउनुपर्छ । २५ लाख मात्रै नभएर १ देखि २ करोडसम्मको सीमा राखेर सफ्ट लोनको व्यवस्था गर्नुपर्छ । ब्याजदर थोरै राखेर प्रोत्साहन गरियो भने महिलाहरुलाई अगाडि बढ्न सजिलो हुन्छ । महिलाहरुलाई प्राविधिक क्षेत्रमा प्रोत्साहन गराउनु पर्छ । सरकारले नै छात्रवृत्ति दिएर महिलालाई प्राविधिक सीप सिकाउने, व्यवसायका लागि सस्तो ब्याजदरमा उचित ऋण रकम बैंकमार्फत लगानी गराउन सक्यौं भने यसले अर्थतन्त्रलाई नै अघि बढाउँछ ।

(आइटी स्टिल स्टक्चर सोलुसनकी प्रवन्ध निर्देशक गुरुङले कान्तिपुर मिडिया ग्रुपद्वारा माघ २१ गते भैरहवामा आयोजित ‘कान्तिपुर: लुम्बिनीको सामर्थ्य’मा दिएको मन्तव्यको सम्पादित अंश)