बैशाख २५, २०८१ मंगलबार

६ वर्षीया बालिका हत्याका अभियुक्त अरुण साहलाई जन्मकैद



महोत्तरी — महोत्तरीको बर्दिवास–१४ की ६ वर्षीया बालिका गुलाबसा खातुन हत्या प्रकरणका अभियुक्त अरुणकुमार साहलाई अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।

जिल्ला अदालत महोत्तरीका न्यायाधीश रामचन्द्र खड्काको इजलासले साहलाई जन्मकैदको सजाय सुनाएको हो । २०७७ मंसिर ७ गते बर्दिवास–१४ स्थित शुभम् बस्तीका सादिम आलमकी ६ वर्षीया छोरी गुलाबसा बेपत्ता थिइन् । उनी त्यसै रात मृत फेला परेकी थिइन् ।

बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै परिवारले आन्दोलन चर्काएसँगै पक्राउ परेका साहलाई अदालतले दोषी ठहर गरेको छ ।

हत्या अभियोग लागेका २७ वर्षीय साहमाथि ४ वटा मुद्दा अदालतमा दर्ता भएको थियो । जबरजस्ती करणी, शरीर बन्धक,अपहरण र हत्या मुद्दाको फैसला गर्दै अदालतले उनलाई जन्मकैदको फैसला गरेको जिल्ला अदालत महोत्तरीले जनाएको छ । पूर्ण पाठ भने आउन बाँकी रहेको जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार मदनप्रसाद जयसवालले बताए ।