बैशाख २२, २०८१ शनिबार

ग्याँस सिलिण्डर विष्फोटमा जलेर साँसद चन्द्र भण्डारीकी आमाको मृत्यु, भण्डारीलाई भारत लगिँदै



खाना पकाउने ग्याँस सिलिण्डर विष्फोटमा परी संघीय साँसद डा.चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु भएको छ। बुधबार राती साढे १० बजे बुद्धनगर स्थित घरमा भएको विष्फोटमा परि गम्भिर घाइते भएकी भण्डारीको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बिहान १० बजेर ५७ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

राति खाना खाएर सुतिसकेपछि भान्सा कोठामा ग्यास लिक भएको थाहा पाएर ८९ वर्षीय  हरिकला पुगेको समयमा विस्फोट भएको थियो । लगत्तै आमालाई बचाउन पुगेका साँसद डा. भण्डारी पनि जलेर घाइते भएको भण्डारीका स्वकीय सचिव भुवन भुसालले जानकारी दिए ।
घटना लगत्तै किर्तिपुर अस्पताल पु¥याइएबको थियो । आमा हरिकलाको शरिरको ७० प्रतिशत भाग र डा. भण्डारीको २५–३० प्रतिशत भाग जलेको अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले बताइन् ।

चिकित्सकहरुले नेपालको स्रोत साधनले उपचार सम्भव नभएको भन्दै विदेशको कुनै सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरेका थिए । ‘माननीयज्यूको अनुहार, दुवै हात र दुवै गोडाहरुमा गरी २५–३० प्रतिशत र आमाको जीउको अधिकांश भागमा गरी ७० प्रतिशत जलन भएको तथा दुवैजनाको श्वासनलीमा ताताहावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ’, अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ ।’

तर भण्डारीले भने स्वदेशमै उपचार गर्न पाए हुन्थ्यो भन्ने आसय राखका थिए । तर डाक्टरहरुले यहाँको स्रोत साधनले नभ्याउने बताएपछि राजनीतिक दलका नेताहरुले पनि उनलाई भारत गएर उपचार गराउन भनेपछि भण्डारी भारत जान तयार भएको उनको पारिवारीक स्रोतले बतायो । बिहीबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, स्वास्थ्यमन्त्री पदम गिरी,  एमाले उपमहासचिव प्रदीप ज्ञवाली, कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला, एनपी साउद र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतका नेता अस्पताल पुगेर भण्डारीलाई भेटेका थिए ।

चिकित्सकहरुको सिफारिस अनुसार भण्डारीलाई भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको स्वास्थ्यमन्त्री पदम गिरीले बताए । भण्डारीलाई श्री एयरलाइन्सको चार्टड विमानबाट मुम्बई लैजाने तयारी भइरहेको छ ।  बिहान स्वास्थ्यमन्त्री पदम गिरीले भण्डारीलाई भेटेर सरकारले उपचारको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता जनाएका थिए । स्वास्थ्यमन्त्री गिरीले भारतमा उपचार गराउन लैजाँदा नेता भण्डारीको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरेको उनले बताए ।