चैत्र १५, २०८० बिहीबार

कर्णालीमा एक वर्षमा १३ महिलाको हत्या, २११ महिला हिंसामा



सुर्खेत – कर्णाली प्रदेशमा एक वर्षको अवधिमा १६ जनाको हत्या भएको तथ्यांक सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कर्णालीमा सन् २०२२ मा १३ महिला र ३ पुरुषको हत्या भएको तथ्यांक सार्वजनिक गरेको हो ।

इन्सेकका अनुसार कर्णालीमा विगत वर्षहरूमा जस्तै सन् २०२२ मा पनि पारिवारिक बीभत्स घटनाहरूको संख्या उल्लेख्य रहेको पाइएको छ । यो वर्ष महिलामाथि भएका हिंसाका घटनामा २ सय ११ जना पीडित भएको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताए । उनका अनुसार घरेलु हिंसाका घटनामा १ सय ३२, बोक्सी आरोपमा १, बलात्कारका घटनामा ३९, बलात्कार प्रयासका घटनामा ११ जना र यौन दुर्व्यवहारको घटनामा ८ जना पीडित भए । यो वर्ष कर्णालीमा परिवारबाट ७ महिलाको हत्या भएको छ । गत वर्ष परिवारबाट ९ महिलाको हत्या भएको थियो ।

परिवारबाट भएका हत्यामा आरोपित पक्षले आत्महत्या गरेको बताउने गरेको पाइएको सुवेदीले जनाए । उनका अनुसार परिवारबाट महिलामाथि हुने घटनालाई गाउँ-समाजमै मिलाइने गरेको पाइएको छ । ‘धेरैजसो घटनामा महिलालाई नै दोष दिएर आरोपितलाई उन्मुक्ति दिने प्रयास भइरहेको छ,’ उनले भने, ‘प्रहरीमा दर्ता भएका अधिकांश महिला हिंसाका घटनामा पनि मिलापत्र गरेको भेटियो ।’

यस्तै, सन् २०२२ मा बाल अधिकारका घटनामा ७७ बालिका र ३ बालक गरी ८० पीडित भएका छन् । बाल अधिकारका घटनामा बालविवाह १२, बेचबिखन तथा ओसारपसारबाट ३, विद्यालयमा शारीरिक दण्ड सजायबाट १, बलात्कार घटनामा ४९ र यौन दुर्व्यवहारका घटनामा १४ पीडित भएका थिए । एक जना नवजात शिशुको हत्या भएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२२ मा कर्णालीमा ४ सय ९६ मानवअधिकार उल्लंघन र ज्यादतीका घटना भएका मध्ये पनि महिला धेरै पिडीत छन् । मानवअधिकार उल्लंघनका घटनामा ४ महिला र २९ पुरुष गरी ३३ , ज्यादतीका घटनामा ३ सय २८ महिला र १ सय ३५ पुरुष गरी ४ सय ३६ समस्यामा परेको तथ्यांकमा उल्लेख छ । यो वर्ष कर्णालीमा राज्य पक्षबाट भएका कुटपिट घटनामा १५ जना, गिरप्तारीका घटनामा १ जना, अमानवीय व्यवहारको घटनामा १ जना, संगठित भेलामा १५ जना पीडित भएका थिए । एक जनाको थुनामा मृत्यु भयो ।