बैशाख २१, २०८१ शुक्रबार

सामुदायिक विद्यालयमा नर्स, महिनावारी र यौन तथा प्रजनन समस्याको समाधान



दैलेखको नारायण नगरपालिकाले ‘विद्यालयमा नर्स’ कार्यक्रम शुरु गरेको छ । विद्यार्थीको उपचार र उनीहरूलाई आधारभूत स्वास्थ्यसम्बन्धी कक्षा सञ्चालनका लागि पालिकाले ‘विद्यालयमा नर्स’ कार्यक्रम शुरु गरेको हो । पहिलो चरणमा विद्यार्थी धेरै भएका र भौतिक पूर्वाधार बढी भएका विद्यालय छनोट गरी १० विद्यालयमा यो कार्यक्रम लागू भएको छ ।

विद्यालयमा सबै शिक्षक र विद्यार्थीको एकरएक महिनामा स्वास्थ्य परीक्षण हुन्छ । आकस्मिक अवस्थाका बिरामीलाई तत्काल उपचार गरेर औषधि वितरण हुन्छ । प्रत्येक साता विद्यार्थीको तौल, उचाइ र उनीहरूको अन्य स्वास्थ्य अवस्थाबारे परीक्षण गर्ने गरिएको विद्यालयकी स्टापनर्स खम्बिरा शाहीले बताइन् । उनका अनुसार बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन, पोषण सेवाको पहुँच बढाउन र स्वस्थ रहन नियमित कक्षा सञ्चालन गरिएको छ ।

विद्यालयमा नर्स राखिएपछि किशोरकिशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य तथा महिनावारीसँग सम्बन्धित समस्याहरूको समाधान पनि भइरहेको उनले बताइन् । ‘प्राथमिक उपचार सेवा र सीपमा आधारित स्वास्थ्य शिक्षा नियमित दिइरहेका छौं,’ उनले भनिन्, ‘यसले विद्यार्थीको नियमित उपस्थितिसँगै शैक्षिक गुणस्तर पनि बढाएको छ ।’

नर्सले स्वास्थ्यसम्बन्धी अध्यापन र उपचार गर्ने भएपछि महिनावारी हुँदा पनि नियमित विद्यालय आउन थालेको महेन्द्र उच्च माध्यमिक विद्यालयकी कक्षा ९ की छात्रा विष्णु बोगटीले बताइन । ‘नर्सले प्रत्येक छात्राको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदा विद्यालय नियमित भएको छ,’ उनले भनिन्, ‘हामी मात्र हैन, घरपरिवारलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्नेबारे पनि सिक्न पाइएको छ ।’

नगरपालिकाले आवश्यक औषधि र उपकरणसहित नर्स विद्यालयमा खटाएको नगर उपप्रमुख तप्ता थापाले बताइन् । उनका अनुसार १० वटै विद्यालयमा १र१ वटा मेडिकल कक्ष पनि स्थापना गरिएको छ । विद्यालय तहबाट नै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने र विद्यालयमा आइपर्न सक्ने स्वास्थ्य समस्या समाधान गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको उनको भनाइ छ । ‘विद्यार्थीको किशोरावस्थाको शारीरिक र मानसिक परिवर्तनको व्यवस्थापन गर्नमा पनि कार्यक्रमले सहयोगी भूमिका खेलेको छ,’ उनले भनिन्, ‘यो कार्यक्रमले विद्यालयमा जंकफुड नियन्त्रण, महिनावारीसम्बन्धी समस्यामा सहजीकरण र कुलतमा लागेका विद्यार्थीलाई सुधार्न ठूलो टेवा पुर्‍याएको छ ।’

नर्स राखिएपछि विद्यार्थीले बिरामीको बहाना गरेर घर जाने प्रवृत्तिमासमेत कमी आएको वसन्त माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष सुरतबहादुर रावतले बताए । उनका अनुसार विद्यालयमा कक्षा १ देखि १२ सम्म ४ सय ५० विद्यार्थी अध्ययनरत छन् । ‘विद्यार्थीले हाफ टाइमपछि विभिन्न बहाना गरेर कक्षा छाड्थे, अधिकांश बिरामीको बहाना टाउको दुखेको र बिरामी भएको भन्ने हुन्थ्यो,’ उनले भने, ‘विद्यालयमै उपचार सुविधा भएपछि विद्यार्थीहरू नियमित उपस्थित हुने गरेका छन्, स्वास्थ्यकर्मीले नै कक्षा सञ्चालन गरेपछि विद्यार्थीले स्वास्थ्यका कुराहरू सजिलै बुझ्न थालेका छन्, जसले शैक्षिक गुणस्तर बढाएको छ ।’ नर्सहरूले शिक्षकहरूको पनि स्वास्थ्य परीक्षण गर्न थालेपछि उनीहरू पनि विद्यालयमा नियमित भइरहेको विद्यालयले जनाएको छ ।