बैशाख ९, २०८१ आईतबार

नातिनातिनासँगै परीक्षा तयारी



गोरखा — शिक्षकलाई गृहकार्य देखाएर स्याबासी पाएसँगै ६० वर्षीया आसमाया गुरुङ फुरुङ्ग बनिन् । ७ वर्षकी ललिता तामाङ र ११ वर्षीय सविन गुरुङको गृहकार्य ‘चेक’ गरेपछि शिक्षक सुनिता थापा बिहीबार ४९ वर्षीया विष्णुमाया गुरुङसमक्ष पुगिन् । गोरखा नगरपालिका–६ स्थित बालमन्दिर माविको कक्षा २ मा पढ्ने आसमाया र विष्णुमाया सकेसम्म गृहकार्य छुटाउँदैनन् । उमेरले नातिनातिना उनीहरूका सहपाठी बनेका छन् ।

२०७८ मंसिरमा विद्यालय भर्ना भएका आमाहरू सकेसम्म कक्षा छुटाउँदैनन् । ‘कसैको विवाह र छेवर परे निम्तो मान्न जाँदा कक्षा छुट्छ, नत्र पढ्न आउन छोड्दैनौं,’ आसमाया भन्छिन् । कक्षा १ बाट २ मा पुग्दा विष्णुमाया दोस्रो बनिन् । दुवै आमाहरू चैत ६ बाट हुने वार्षिक परीक्षाको तयारीमा छन् । उनीहरू बिहानको घरधन्दा सकेर कापीकिताब च्यापी ९ः३० बजे विद्यालय पुग्छन् । विद्यालयले उनीहरूलाई पोसाकमा छुट दिएको छ । आफूलाई सजिलो लाग्ने पोसाकमै विद्यालय जान्छन् । प्रार्थनाको समयमा पनि उनीहरूलाई लाइनबद्ध हुनैपर्ने अनिवार्य छैन । आसमाया भन्छिन्, ‘राष्ट्रिय गान बज्दा भने उभिन्छौं ।’

आसमाया र विष्णुमाया भर्ना भएसँगै टोल छिमेकका अन्य ८ आमा पनि बालमन्दिरमा पढ्न आए । तर बीचमै कक्षा छाडे । ‘एक वर्ष तीन महिना भयो, हामीले विद्यालय छाडेका छैनौं, समयले साथ दिएसम्म पढ्ने हो,’ विष्णुमाया भन्छिन् । दुवैको स्थायी घर आरुघाट गाउँपालिका–१ मान्वु पर्छ । अहिले सदरमुकाम बस्दै आएका उनीहरू अक्षर नचिन्दा पाएको दुःख सम्झिएर विद्यालय भर्ना भएको बताउँछन् ।

विष्णुमाया जन्मिएको चार महिनामै बुबाको निधन भयो । मजदुरी गरेर गुजारा चलाउने उनकी आमाले विष्णुमायाका दाइ र दिदीलाई पनि विद्यालय पठाउन सकिनन् । १७ वर्षको उमेर टेकेसँगै विष्णुमाया विवाह बन्धनमा बाँधिइन् । ‘बुहारी भएपछि दिनभर मेला जानुपर्ने, बिहान–बेलुकी घाँस, दाउरा र ढिकी–जाँतो गर्दैमा बित्थ्यो,’ उनले भनिन्, ‘त्यो बेला गाउँमा प्रौढ शिक्षा चलेको भए पनि घरको कामले पढ्न पाइनँ ।’

उनकी एक छोरी २७ वर्ष पुगिन्, नाति ११ वर्षका भए । ‘उमेरले पढ्न र सिक्न छेक्दैन,’ उनले भनिन्, ‘नामसमेत लेख्न नजान्दा विद्यालय भर्ना भएको हुँ ।’ उनलाई सुरुवाती दिन पेन्सिल समात्नै धौधौ पर्थ्यो । ‘कापीमा लेख्दा पनि उल्टोतिरबाट लेख्दोरहेछु, पेन्सिल समात्दा औंला दुख्थ्यो,’ उनी भन्छिन् । अहिले उनी नेपाली र अंग्रेजीमा आफ्नो नाम निर्धक्कसाथ लेख्न सक्छिन् ।

अक्षर चिन्न नसक्दा आफन्त र साथीभाइका नम्बर मोबाइलमा सेभ गर्नसमेत छोरीको सहायता लिन्थिन् । ‘मोबाइलमा भिडियो हेर्न जान्थें अरू नजान्ने,’ उनले भनिन्, ‘मोबाइलमा म्यासेज पढ्न नजानेर छोरीलाई सोध्नुपर्ने, त्यसपछि मनमा दुःख लाग्यो, आत्मादेखि नै पढ्छु भनेर आएको हुँ ।’ दुई कक्षा पुग्दा विष्णुमायाले आफन्त र छिमेकीको नम्बर ‘डायल’ गर्न सक्ने बनेकी छन् । ‘हाईहेल्लो भन्दा सन्चै छु भनेर फर्काउन सक्ने बनेको छु,’ उनले भनिन् । उनले अँधियामा अरूको बारीमा कृषि उपज लगाएकी छन् । बिहान–बेलुकी काममा खट्ने र गृहकार्यका लागि साँझको समय छुट्याउँछिन् । ‘दिनभर पढेको कुरा नर्बिसियोस् भनेर ९ बजेतिर किताब हेर्छु, गृहकार्य गर्छु,’ उनले भनिन् ।

आसमायालाई भने कम्तीमा ५ कक्षा उत्तीर्ण गर्ने धोको छ । सानो उमेरमा विद्यालय जान नपाए पनि प्रौढ शिक्षा भने पढेकी थिइन् । ‘हामी जागिर खान, पढ्न आएका होइनौं, अक्षर चिन्नका लागि विद्यालय आउँदा छुट्टै मज्जा लागेको छ,’ उनले भनिन् । सुरुका दिनमा विद्यालय आउँदा धक लागे पनि अहिले सहज बनेको उनको अनुभव छ । ‘पढेपछि केही न केही जानिँदो रहेछ, अहिले त क देखि ज्ञ सम्म लेख्न सक्छौं । १, २ पनि सयसम्म आउँछ, एबीसीडी पनि जान्यौं,’ उनले भनिन् । कुनै नौलो ठाउँ पुग्दा ठाउँको नामसम्म पढ्न नजान्दाको ग्लानिले विद्यालय भर्ना भएको उनले सुनाइन् । ‘हामी बूढीआमाहरू विद्यालय आए भनेर कसैले पनि खिस्याएको थाहा पाएका छैनौं,’ उनले भनिन् ।

आमाहरूको पढाइप्रतिको लगाव देखेर शिक्षकसमेत दंग छन् । ‘उहाँहरू अरू विद्यार्थीसरह नै पढ्न आउनु हुन्छ,’ शिक्षक सुनिता थापाले भनिन्, ‘उहाँहरूमा सिक्नैपर्छ, जान्नुपर्छ भन्ने भावना छ ।’ आमाहरूको पढ्ने रहरले आफूहरूलाई पनि उत्साह बढाएको विद्यालयका प्रधानाध्यापक शिव थापाले बताए । ‘१२ बजे र १ बजेको छुट्टीका बेला पनि उहाँहरू कक्षामा नै नजानेका कुरा एकअर्कालाई सोधेर बस्नु हुन्छ,’ उनले भने, ‘साना बच्चाहरू चकचक गर्छन्, उहाँहरूले कक्षालाई पनि कन्ट्रोलमा राख्नुभएको छ ।’ कान्तिपुरबाट