बैशाख १७, २०८१ सोमबार

कृषि क्षेत्रको समस्या समाधान गर्न सबै पक्षसँग राष्ट्रपति भण्डारीको आग्रह



दोलखा — राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिजन्य वस्तुको बजारीकरण र समस्या समाधान गर्नुपर्नेमा जोड दिएकी छन् । दोलखाको सदरमुकाम चरिकोटमा बिहीबार आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले पछिल्लो समयमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तुले बजार नपाएकोमा चिन्ता व्यक्त व्यक्त गरिन् ।

‘कृषिजन्यको बजारीकरण र उत्पादित वस्तुको ढुवानी र बिक्रीका लागि बजारको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ,’ उनले भनिन्, ‘हिमाली क्षेत्रका पशुपालक किसानलाई चरन क्षेत्रको व्यवस्थापन र पशु बिमा कार्यक्रम प्रभावकारी बनाइनुपर्दछ ।’

कृषि क्षेत्रका दक्ष जनशक्ति पलायन हुने क्रम बढेकोमा उनले चिन्ता व्यक्ति गरिन् । कृषि र पशुपालन क्षेत्रमा देखिएको समस्या समाधान गर्नसमेत सम्बन्धित पक्षहरुसँग राष्ट्रपति भण्डारीले आग्रह गरेकी छन् । विद्यालयस्तरबाटै कृषि क्षेत्रका दक्ष जनशक्ति उत्पादनमा उनले जोड दिइन् । ‘हिमाली क्षेत्रमा किसानका समस्या थपिँदै गएका छन्,’ उनले भनिन्, ‘विद्यालयस्तरबाटै कृषि क्षेत्रका दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनमा सबै पक्ष जिम्मेवार हुनेछ भन्ने विश्वास लिएको छु ।’ उत्पादित कृषिजन्य वस्तुको व्यवस्थापन र बजारीकरणमा ध्यान दिन आग्रह गर्दै उनले कृषकका समस्या समाधानमा सरकार जिम्मेवार हुने विश्वास व्यक्त गरिन् ।

पहिलो पटक राष्ट्रप्रमुखका रुपमा दोलखा आएकी उनले दोलखा भीमेश्वरको दर्शनसमेत गरिन् ।