चैत्र १५, २०८० बिहीबार

निशा अधिकारीद्वारा पति शरदविरुद्ध अंशवण्डाको मुद्दा



अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीचको दाम्पत्य जीवनमा संकट उत्पन्न भएको छ । निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध दायर गरेको अंशवण्डाको मुद्दामा अदालतले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ ।

अदालतको वेबसाइटमा उल्लेख भएअनुसार न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले उक्त आदेश दिएको हो । नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै निशाले पति शरदविरुद्ध मुद्दा हालेकी हुन् । निशाले गत भदौ २८ गते अंश चलनको मुद्दा दायर गरेकी थिइन् ।

२०७४ सालमा यी दुईले विवाह गरेका थिए । विवाहअघि यी दुईजना प्रेम सम्बन्धमा थिए । २०७५ सालमा अमेरिकामा पुगेर निशाले छोरालाई जन्म दिएकी थिइन् । यतिबेला दुवै जना नेपालमा बस्दै आएका छन् । निशा फिल्म करिअरमा व्यस्त छिन् ।

शरद भने राष्ट्रिय टिममा समावेश नभएका कारण फुर्सदमा छन् । अंशवण्डा मुद्दा दायर गरेकी निशाले सम्बन्धविच्छेदको मुद्दा भने दायर गरेकी छैनन् ।