बैशाख १४, २०८१ शुक्रबार

संस्कृति जोगाउँदै महिला पञ्चेबाजा समूह



दोलखा — गाउँघरमा विवाह होस् या व्रतबन्ध । कुनै सांस्कृतिक उत्सव वा मेला महोत्सवमा भीमेश्वर–५ का महिलालाई भ्याइनभ्याई हुन्छ । २० जनाको ‘महिला पञ्चेबाजा समूह’ बनाएका उनीहरूले यस्ता कार्यक्रममा पञ्चेबाजा घन्काएर झाँकी प्रर्दशन गर्ने गरेका छन् । रैथाने चोली र फरियामा सजिएका महिलाको कला हेर्नेको भीड नै लाग्छ ।

गाउँमा पञ्चेबाजा बजाउनेहरू रोजगारीका लागि सहर र विदेशतिर पलायन हुन थालेपछि रैथाने बाजा जोगाउन समूह नै बनाएको अमृता थापाले बताइन् । ‘पञ्चेबाजा बजाउन गाउँमा युवा छैनन्, भएका पनि धमाधम गाउँ छाडेर पलायन भइसके,’ उनले भनिन्, ‘कोही पनि नभएपछि रैथाने बाजा जोगाउन समूह नै बनाएर पञ्चेबाजा सिकेका हौं ।’ सुरुमा बाजा बजाएको देखेर सबैले जिब्रो टोक्ने गरेको उनले बताइन् । ‘गाउँघरमा महिलाले बाजा बजाउनु हुँदैन भन्ने मान्यता छ,’ उनले भनिन्, ‘पञ्चेबाजा संरक्षण गर्नुपर्छ भनेर कोही अघि सरेनन्, हामीले आँट गरेर संरक्षण समूह बनाएका हौं ।’

महिलाले बाजा बजाएको भनेर हेर्ने र फोटो खिच्नेको भीड नै लाग्ने गरेको छ । पहाडी जिल्लामा अधिकांश दलित समुदायले मात्रै पञ्चेबाजा बजाउने गरेका छन् । तर समूहमा दलित र गैरदलित महिला मिलेर बाजा संरक्षणको अभियान थालिएको समूहकी बबिता नेपालीले बताइन् । ‘सबै दिदीबहिनी मिलेर बाजा संरक्षण गर्नुपर्छ भन्ने लागेर समूह बनाएका हौं,’ उनले भनिन्, ‘वडाको सहयोगमा प्रशिक्षण लिएर बाजा बजाउन सिक्यौं, कसैले बोलाए पारिश्रमिक लिएर बजाउन जान्छौं ।’

समूहका सबै जनाले एकै रंगका पोसाकसमेत जोडेका छन् । पहाडी ग्रामीण महिलाको पहिचान झल्कने कालो चोली र रातो फरिया यो समूहको पोसाक हो । पञ्चेबाजाको तालमा लोकभाका घन्काउँदै मेला महोत्सव र विवाह व्रतबन्धमा समूह खुबै चर्चामा आएको उनले सुनाइन् । ‘सुरुमा महिलाले पनि बाजा बजाउँछन् भनेर हाँसोको पात्र बनाउँथे,’ उनले भनिन्, ‘गरे जे पनि सकिन्छ भनेर सिक्यौं, अहिले सबैको वाहीवाही पाएका छौं ।’ फुर्सदको समयमा गाउँमा रोजगारी पनि हुने भएकाले पञ्चेबाजालाई व्यावसायिक रूपमा पनि अँगाल्न थालेको उनले बताइन् ।

जिल्लामा सांस्कृतिक पहिचान झल्कने बाजागाजा, भेषभूषा देखिनै छाडेको थियो । धेरै वर्षपछि चरिकोटमा आयोजित दोलखा महोत्सवमा जिल्लाभरका सांस्कृतिक झाँकी प्रस्तुत गरिए । झाँकीमा महिलाकै सहभागिता उल्लेखनीय थियो । हराइसकेको सुनुवार जातिको भेषभूषा र नाच पनि प्रस्तुत गरियो । जिल्लामा लोपोन्मुख सुरेलसहित जिरेल, शेर्पा, थामी, तामाङलगायतको पहिचान झल्कने भेषभूषा र गीतले चरिकोट गुन्जियो । शेर्पा जातिको श्याब्रु नाचमा महिलाको मात्रै सहभागिता थियो । शेर्पाहरूको मुख्य बसोबास रहेको गौरीशंकर गाउँपालिका मार्बुका शेर्पा महिलाले श्याब्रु नाचेका थिए । लोप भइसकेको जिरेल भेषभूषा र नाच भने जिरीका कलिला बालिकाले प्रस्तुत गरेका थिए । थामी जातिको ढ्याङ्ग्रो नाचसँगै गाइने गीत पनि लोप हुने अवस्थाबाट जोगाउने प्रयास महिलाहरूले गरिरहेका छन् । तामाङ भाषामा सेलो गाउँदै डम्फुको तालमा नाचिने तामाङ सेलोमा पनि महिलाकै सहभागिता बढ्दो छ ।

‘सुनुवार जातिको विशेषता, पहिचान भाषा र भेषभूषा आफ्नै छ,’ कविता सुनुवारले भनिन्, ‘तर गाउँमा पुस्तान्तरणमा समस्या बन्दै गएकाले महिलाको सहभागिता बढ्दै गएको हो ।’ जिल्लाको तामाकोशी गाउँपालिका–७ हावा सुनुवारको गाउँले परिचित छ । सुनुवार जातिको भेषभूषा लोप हुने अवस्थामा पुगेकाले युवा पुस्तालाई पनि आकर्षण गर्न अभियान थालेको उनले बताइन् । अधिकांश पुरुषले रोजगारीका लागि गाउँ छाडेपछि पहिचान, भाषा, भेषभूषा जोगाउने जिम्मेवारी महिलामा आएको रविना सुनुवार बताउँछिन् ।