चैत्र १६, २०८० शुक्रबार

माओवादीको चाहना : महिला उपराष्ट्रपति



काठमाडौं – नेकपा माओवादी केन्द्रले उपराष्ट्रपति फर समुदायको महिला हुनुपर्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बालुवाटारमा बसेको माओवादी घटकका ८ दलको संयुक्त बैठकपछि माओवादी महासचिव देव गुरुङले उपराष्ट्रपतिमा लैंगिक रूपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।

गुरुङले नेपालको अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने बताए । आफ्नो पार्टीले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन गठबन्धनका घटकहरूले पहल गर्नुपर्नेमा उनले जोड दिए ।

महासचिव गुरुङले भने, ‘उपराष्ट्रपतिमा जसले सिफारिस गरेको भएपनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रूपले फरक र सामुदायिक फरक भन्ने छ । अभ्यास हामीले के बसाल्ने प्रक्रियाको सुरू गरियो भने एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ । नेपालको अहिलेको अवस्था स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो । हामीले परामर्श दिनुपर्दा लैंगिकरूपले फरक हुनुपर्छ । महिला दिँदा राम्रो हुन्छ ।’

९ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाको भागमा परिसकेको छ । सोही बाँडफाँटअनुसार बिहीबार जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । यादवलाई उपराष्ट्रपतिमा पठाएर अध्यक्ष उपेन्द्र यादव उपचुनावबाट संसद भवन प्रवेश गर्ने दाउमा छन् ।

उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहिता पनि हट्ने भएकाले चैत ५ गतेपछि मात्रै सरकार विस्तार हुने गुरुङले बताए ।