फाल्गुन २१, २०८० सोमबार

महालेखाको इतिहासमै पहिलोपटक दुई महिला सचिव



काठमाडौं – महालेखापरीक्षकको कार्यालयमा इतिहासमै पहिलो पटक २ जना महिला उपमहालेखापरीक्षक भएका छन् । महालेखामा राजपत्रांकित विशिष्ट श्रेणी सचिवसरहका ४ जनाको दरबन्दी रहेको छ । जसमा २ जना महिला उपमहालेखापरीक्षक हुन सफल भएका हुन् । उपमहालेखापरीक्षकको पहिलो नम्बरमा राममाया कुँँवर र चौथोमा विन्दू विष्ट रहेका हुन् ।

कुँवरलाई २०७५ साल साउन २३ गते बसेको मन्त्रिपरिषद बैठकले नायब महालेखापरीक्षकबाट उपमहालेखापरीक्षकमा बढुवा गरेको हो । उनी साढे ४ वर्षदेखि उपमहालेखापरीक्षकको जिम्मेवारीमा छन् ।

त्यस्तै विष्टलाई २०७९ साउन १९ गते बसेको मन्त्रिपरिषद बैठकले नायब महालेखापरीक्षकबाट उपमहालेखापरीक्षकमा बढुवा गरेको हो ।

वनबाट सरकारी सेवा थालेकी राममाया

उपमहालेखापरीक्षक राममायाको जन्म लमजुङमा भएको हो । उनको विवाह कास्कीका विनोद कुँवरसँग भयो । विनोद सरकारकै प्रशासन सेवाका सहसचिव छन् ।

राममाया निजामती सेवा प्रवेश गर्नुअघि अस्थायी सेवामा लेखापाल थिइन् । श्रीमान विनोदको साथ पाएर उनी स्थायी रुपमै निजामती सेवामा प्रवेश गरिन् ।

राममाया र विनोद मुखियादेखि खरिदार हुँदै शाखा अधिकृत र उपसचिव तथा सहसचिवसम्म सँगसँगै थिए । तर, सचिवमा भने राममायाले विनोदलाई जितिन् । संयोगले विनोदले नायब सुब्बा पदमा जागिर खाए । तर, राममायाले खाइनन् । एकैपटक खरिदारबाट अधिकृतमा प्रवेश गरिन् ।

राममाया २०४९ सालमा वन विभागमा खरिदारभन्दा एक तहमुनिको मुखिया पदबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् । त्यसवेला विनोद पनि मुखिया नै थिए । राममायाले वन विभामा मुखियाका रुपमा २०५२ सालसम्म ४ वर्ष काम गरिन् ।

त्यसपछि उनले खुला प्रतिस्पर्धाबाट २०५३ सालमा प्रशासन सेवाको खरिदार पदमा नाम निकालिन् । उनलाई घ्याचोक गाविसको सचिवको जिम्मेवारी दिइयो ।

कार्य क्षेत्रमा जाँदा गाविस अध्यक्षले महिलासँग काम गर्न नसक्ने भन्दै उनलाई फिर्ता पठाइदिए । सम्भवतः त्यतिबेला महिला गाविस सचिव अरु कोही पनि थिएनन् । गाविस सचिवबाट फिर्ता पठाएपछि उनले भूमिसुधार विभागमा ३ वर्ष काम गरिन् । त्यसपछि उनको लोक सेवा आयोगमा सरुवा भयो । त्यसैवेला उनले २०५९ सालमा शाखा अधिकृतको परीक्षाको तयारी पनि गरिन् । संयोगले शाखा अधिकृतको परीक्षाको मुखैमा ससुरा बिरामी परे । उनलाई परीक्षा छोडेर पोखरा जानुपर्ने भयो । उनले पोखरा परीक्षा केन्द्र सार्न सकिन्छ कि भनेर पहल पनि गरिन् ।

आयोगले उनको परीक्षा केन्द्र पोखरा तोकिदियो । तर, परीक्षाको दुई दिनअघि उनी आफैं बिरामी परिन् । श्रीमान साथमा लगेर परीक्षा दिइन् । २०५९ साल चैतमा दिएको परीक्षामा उनी सफल भइन् ।

उनले महालेखापरीक्षकको कार्यालयमा लेखापरीक्षण अधिकारी भएर ८ वर्ष काम गरिन् । अधिकृत हुँदा उनले उद्योग, स्वास्थ्य, स्थानीय तहलगायतका शाखामा बसेर काम गरिन् । २०६७ सालमा उनले खुला प्रतिस्पर्धाबाट लिखित परीक्षामा उपसचिव र सहसचिवमा एकै पटक नाम निकालिन् । तर, उनी सहसचिवको अन्तर्वार्तामा असफल भइन् ।

उपसचिव हुँदै उनले शिक्षा विज्ञान तथा प्रविधि र विश्वविद्यालय लेखापरीक्षण निर्देशनालय, संवैधानिक निकाय तथा प्रशासनिक व्यवस्था लेखापरीक्षण निर्देशनालयको प्रमुखको जिम्मेवारी सम्हालिन् । उपसचिव भएको २ वर्षपछि २०६९ मा उनले खुला प्रतिस्पर्धाबाटै सहसचिव अर्थात नायब महालेखापरीक्षकमा नाम निकालिन् । ६ वर्षे सहसचिवको कार्यकालमा उनले सुरक्षा व्यवस्था लेखापरीक्षण महानिर्देशनालय, सामाजिक सेवा लेखापरीक्षण निर्देशनालय, संवैधानिक र प्रशासनिक लेखापरीक्षण महानिर्देशनालयको प्रमुखको जिम्मेवारी सम्हालिन् ।

२०७५ साउन २३ गते विशिष्ट श्रेणी अर्थात सचिवसरह उपमहालेखापरीक्षकमा बढुवा भएकी रामममयाले यस पदमा साढे ४ वर्ष बिताइसकेकी छन् । सामाजिक सेवा लेखापरीक्षण विभागमा पदस्थापन भएकी उनले अर्थ तथा आर्थिक क्षेत्र लेखापरीक्षण विभागको जिम्मेवारी पुरा गरेर अहिले पूर्वाधार विकास लेखापरीक्षण विभागको जिम्मेवारी सम्हालिरहेकी छन् । उनले अब शासकीय व्यवस्था लेखापरीक्षण विभाग हेर्नमात्रै बाँकी छ । उनले ५ महिनापछि निजामती सेवाबाट अनिवार्य अवकाश पाउँदैछिन् ।

पटकपटक नायब सुब्बामा अनुत्तीर्ण विन्दू

२०५६ सालमा नायब सुब्बामा अनुत्तीर्ण भएकै कारण हरेस खाएको भए अहिले निजामती सेवाको विशिष्ट श्रेणीमा पुग्ने थिइनन् विन्दू विष्ट । सुनसरीको धरानमा जन्मिएकी उनी विवाह गरेर मोरङ विराटनगर पुगिन् । २०५६ सालमा नायव सुब्बामा असफल भएपछि विन्दूले २०५७ सालमा सरकारको सबैभन्दा तल्लो तह खरिदारमा परीक्षा दिइन् ।

खरिदार बनेपछि २०५७ साल असोज १ गते उनले लोक सेवा आयोग धनकुटाबाट संखुवासभाको सित्तलपार्टी गाविस सचिवको जिम्मेवारी पाइन् । प्रशासनतर्फको खरिदारमा नियुक्त भएको एक वर्षपछि उनको २०५८ सालमा झापाको तत्कालीन टाघनदुपा गाउँ विकास समितिमा सचिवकै जिम्मेवारीमा सरुवा भयो ।

खरिदार रहँदै उनले दुई पटकसम्म नायब सुब्बा पदमा प्रयास गरिन् । तर, सफल हुन सकिनन् । त्यसपछि उनको जिल्ला शिक्षा कार्यालय सिरहामा सरुवा भयो । त्यहाँ बसेर उनले यूएनडीपीको लैंगिक मूल प्रवाहीकरण कार्यक्रममार्फत सरकारी सेवामा भएका महिला कर्मचारीलाई तालिम दिने काम गरिन् । त्यसैमार्फत काठमाडौंमा काजमा खटिएर केही समय अध्ययन बिदामा बसिन् ।

विवाहित र बच्चा पनि भइसकेकाले उनलाई प्रशासन सेवामा रहेर गाविस सचिवको काम गर्न साह्रै अप्ठ्यारो भयो । काठमाडौं आएका बेला उनले एकै कार्यालयमा बसेर काम गर्न मिल्ने र बाहिर कार्यालय नभएको सेवा के होला भनेर खोज्दै र बुझ्दै जाँदा लेखापरीक्षण सेवा उपयुक्त लाग्यो । त्यसपछि उनले शाखा अधिकृतको तयारी लेखापरीक्षण सेवामा गर्न थालिन् । महालेखापरीक्षकको कार्यालय काठमाडौं बाहिर नभएकाले पनि उनले काठमाडौंमै बसेर काम गर्न सहज हुने ठानिन् र कस्सिएर अध्ययन गरिन् ।

नभन्दै विन्दूले लेखापरीक्षण सेवामा अधिकृतसरहमा नाम निकालेर २०५९ चैत १२ गते महालेखापरीक्षकको कार्यालयमा हाजिरसमेत भइन् । महालेखापरीक्षकको कार्यालयमै उपमहालेखापरीक्षक रहेकी राममाया र विन्दू सँगै अधिकृतसरह सिफारिस भएकी हुन् ।

शाखा अधिकृत अर्थात लेखापरीक्षण अधिकारी भएको करिव १० वर्षपछि २०६८ सालमा विन्दू महालेखापरीक्षकको कार्यालयमा उपसचिवसरह निर्देशक पदमा बढुवा भइन् । राममाया पनि विन्दूसँगै बढुवा भएकी हुन् । विन्दू आन्तरिक प्रतिस्पर्धाबाट बढुवा भएकी हुन् भने राममाया खुला प्रतिस्पर्धामा महिलाबाट बढुवा भएकी हुन् ।

उपसचिव भएको एक वर्षमै २०६९ सालमा खुला प्रतिस्पर्धाबाट राममाया सहसचिवसरह नायब महालेखापरीक्षकमा बढुवा भइन् । विन्दूले पनि प्रतिस्पर्धा गरेकी थिइन् । तर, एक पदमात्रै रिक्त भएकाले राममायाले बाजी मारिन् ।

विन्दू भने २०७१ साल फागुन १३ खुलाबाट सहसचिवसरह नायब महालेखापरीक्षकमा बढुवा भइन् । त्यसलगत्तै उपमहालेखापरीक्षकको एक पद रिक्त भएपछि २०७५ सालमा राममाया उपमहालेखापरीक्षकमा बढुवा भइन् । विन्दू rfxLF २०७९ साल साउन २० गते ज्येष्ठताको आधारमा उपमहालेखापरीक्षकमा बढुवा भइन् ।

महालेखापरीक्षककको कार्यालयमा पहिलो महिला उपमहालेखापरीक्षकको रुपमा विमला सुवेदीले साढे ३ वर्ष काम गरेकी थिइन् । उनी कार्यबाहक महालेखापरीक्षक समेत भएकी थिइन् । नेपालप्रेसबाट