चैत्र १६, २०८० शुक्रबार

सिन्के धूपको धुँवा चुरोट जस्तै हानिकारक



आजभोली हामीले पूजापाठ गर्दा अगरबत्ती बाल्ने प्रचलन अत्यधिक छ । एक त भगवानको नाममा बालेको अगरबत्ती, त्यसमा पनि सुगन्ध आउने भएकोले हामीले उक्त धुवाँको कुनै वास्ता गर्दैनौं । तर सिन्के धूपको धुवाँ हानीकारक रहेको विशेषज्ञहरुले बताएका छन् ।

वीर अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. अशेष ढुंगानाका अनुसार धूपको धुवाँ सिधै हाम्रो फोक्सोमा गएर विभिन्न समस्या निम्त्याउन सक्छ । ‘सिन्के धूपबाट निस्कने धुवाँले फोक्सोलाई त्यति नै असर गर्छ जति चुरोटबाट निस्किएको धुवाँले’, उनले भने, ‘केही अनुसन्धानले त पूजापाठ गर्दा निस्कने धुवाँ र लामखुट्टे भगाउन बालिने धूपबाट निस्किएको धुवाँ धूम्रपान भन्दा पनि बढी हानिकारक हुने देखाएको छ ।’

लामो समय धूपको धुवाँमा बसेका व्यक्तिमा दीर्घकालीन रूपमा ‘सिओपिडी दम’, पहिलेदेखि दम भएको मान्छेलाई दम बिग्रिने, एलर्जी हुने र फोक्सोको क्यान्सर समेत हुन सक्ने सम्भावना रहेको डा. ढकाल बताउँछन् । ‘हाम्रो फोक्सोलाई विभिन्न प्रकारको संक्रमणबाट बचाउन ‘म्युकोसिलरीया क्लियरेन्स’ हुन्छ । जसले फोक्सोका विकारहरूलाई खकारको माध्यमबाट बाहिर निकाल्न मद्दत गर्छ । धुवाँले त्यो ‘म्युकोसिलरीया’लाई असर गर्छ र धूपबाट निस्किएको धुवाँमा भएको विभिन्न तत्त्व, ग्यास र कार्बनको कण गएर हाम्रो फोक्सोमा टाँसिन्छ ’, उनले भने, ‘लामो समय धूपको धुवाँमा बसेका व्यक्तिमा त्यो कण टाँसिंदै गएर पछि दीर्घकालीन रूपमा ‘सिओपिडी दम’, पहिलेदेखि दम भएको मान्छेलाई दम बिग्रिने, एलर्जी हुने र फोक्सोको क्यान्सर समेत हुन सक्ने सम्भावना हुन्छ ।’

उनका अनुसार आगोको धुवाँ, गाडीबाट निस्कने धुवाँ जस्तै र त्यो भन्दा बढी हानिकारक धूपको धुवाँ हुन्छ । भारत र नेपालमा बढी धूपको प्रयोग हुन्छ, त्यसैले यसको बारेमा अन्य देशमा ठूला–ठूला अनुसन्धान नभएपनि अगरबत्तीको धुवाँ र लामखुट्टे भगाउने धूपको धुवाँ लगभग उस्तै रहेको उनी बताउँछन् ।