बैशाख ३, २०८१ सोमबार

थपिए महिला सिडिओ



शुक्रबार थप एकजना महिलाले प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारी पाएकी छन् । गृह मन्त्रालयले केही सीडीओको पदस्थापन तथा सरुवा गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय रामेछापको सिडिओमा अनिता निरौलालाई सरुवा गरेको हो । निरौला राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको सहसचिव थिइन् ।

यो सँगै ९ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका छन् । यसअघि नै ९ जिल्लामा महिला सिडिओ कार्यरत रहेपनि धनकुटाकी लीलाकुमारी केसी पाण्डेलाई शुक्रबार पाँचथरको सहायक प्रजिअका रुपमा सरुवा गरीएको छ ।

पाँच जिल्लामा सहसचिव र चार जिल्लामा उपसचिव महिला सिडिओ छन् । ताप्लेजुङमा गोमादेवी चेम्जोङ, ओखलढुंगामा प्रदर्शनी कुमारी, मनाङमा सुप्रभा खनाल ढुंगेल र अर्घाखाँचीमा मीना अर्याल महिला सिडिओ छन् । उनीहरू सबै उपसचिव हुन् ।

अर्घाखाँची र ओखलढुंगामा सहसचिवको दरबन्दी भए पनि उपसचिव सिडिओ खटाइएको छ । रामेछापमा शुक्रबाट सरुवा भएकी निरौला सँगै सुनसरीमा हुमकला पाण्डे, सिन्धुलीमा सुनिता नेपाल, बाग्लुङमा रोशनीकुमारी श्रेष्ठ र डोटीमा कल्पना श्रेष्ठ सिडिओ छन् । उनीहरू सहसचिव हुन् ।

ओखलढुंगाकी सिडिओ प्रदर्शनी कुमारी मधेसी समुदायबाट महिला सिडिओ हुने उनी पहिलो हुन् । उनी बाराकी हुन् ।