चैत्र ३०, २०८० शुक्रबार

७५ प्रतिशत परिवारको घर र जग्गामा छैन महिलाको स्वामित्व



काठमाडाैं – १२औं जनगणनाको प्रतिवेदनले करीब ७५ प्रतिशत परिवारको घर र जग्गा दुवैमा महिलाको स्वामित्व नरहेको देखाएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको १२औं जनगणनाको विस्तृत प्रतिवेदन अनुसार‚ देशभर ६६ लाख ६६ हजार ९३७ परिवार छन्। जसमध्ये आफ्नै घर रहेको ८६,  भाडामा बस्ने १२.८‚ संस्थागत  ०.६ र  अन्य ठाउँमा बसोबास गर्ने परिवारको संख्या ०.७ प्रतिशत रहेको छ। प्रतिपरिवार ४.३७ जना रहेको प्रतिवेदनमा उल्लेख छ।

तथ्याङ्क अनुसार‚ ६६ लाख परिवारमध्ये २.३ प्रतिशत परिवारमा घरको स्वामित्व महिलामा रहेको छ। यस्तै‚ ९.७ प्रतिशत परिवारमा घर र जग्गा दुवैको स्वामित्व महिलाको छ।

७४.७ प्रतिशत परिवारको घर र जग्गा दुवैमा महिलाको स्वामित्व छैन। ११.८ प्रतिशत परिवारको जग्गामा महिलाको स्वमित्व रहेको तथ्याङ्कले देखाएको छ। कुनै स्वामित्व नै उल्लेख नभएको परिवारको संख्या १.७ प्रतिशत रहेको छ।

प्रतिवेदन अनुसार‚ कुल परिवारको १३.३ प्रतिशत घरपरिवार देशभित्र बस्दैनन्। देशभित्रै रहे पनि ५७.१ प्रतिशत पुरुष र ४२.९ प्रतिशत महिला घरपरिवारसँग बस्दैनन्। त्यस्तै, अनुपस्थित सदस्य देशभित्र नबस्नेको संख्या २३.३ प्रतिशत रहेको छ। विदेशमा बसोबास गर्ने अनुपस्थित जनसंख्यामध्ये महिला १७.८ र पुरुष ८२.२ प्रतिशत छन्।