जेष्ठ ६, २०८१ आईतबार

पहिला छोरी नपढाउने मधेशमा अहिले छात्रभन्दा छात्रा धेरै



बाराको सिम्रौनगढ–९ बसबरियाको प्रस्तावित नेरामाविमा ९ कक्षामा छात्र २० र छात्रा २६ जना छन् । १० कक्षामा छात्र १८ छन् भने छात्रा २४ छ । केही वर्षअघिसम्म उक्त विद्यालयमा छात्राको संख्या निकै कम थियो । प्रधानाध्यापक उमाशंकर यादवका अनुसार पाँच वर्षयता विद्यालयको उपल्लो कक्षामा छात्राको संख्या बढेको छ ।

बाराकै, आदर्श कोतवाल गाउँपालिका–६ पटेर्वाको नेपाल राष्ट्रिय माविको कक्षा ९ मा ६९ छात्रा र ४४ छात्र छन्, १० मा भने छात्रा ३२ र छात्र १७ जना छन् । गाउँपालिकाको शिक्षा फाँट प्रमुख जितेन्द्र गिरीका अनुसार उक्त विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा पनि मावि तहमा छात्रभन्दा छात्रा नै धेरै थिए । २०७८ मा कक्षा ९ मा ३२ छात्रा र १७ छात्र थिए भने १० मा ३३ छात्रा र १३ छात्र थिए ।

बाराका कतिपय विद्यालयमा छात्रछात्राको संख्या बराबरी जस्तै देखिन्छ । सिम्रौनगढ–८ कचोर्वाको जनता माविमा कक्षा ९ मा छात्रा ७८ र छात्र ८१ छन् तर कक्षा १० मा छात्रा ६० र छात्र ५३ छन् । आफ्नो २५ वर्षको शिक्षण पेसा अनुभवमा सामाजिक चेत फेरिएको देखेको प्रधानाध्यापक शम्भुप्रसाद यादव बताउँछन् ।

‘पहिला–पहिला छोरीचेली विद्यालय गएकोलाई धेरैले आश्चर्य मान्थे । तर, अहिले त्यसो छैन, स्वास्थ्यलगायत चौतर्फी क्षेत्रमा छोरीहरू पनि उच्च शिक्षा पनि लिन उद्यत छन्,’ उनी भन्छन्, ‘छोरा जत्तिकै अधिकार छोरीलाई पनि दिनुपर्छ भन्ने चेतनाको बढेको छ । त्यसैले छोरीलाई पढ्न पठाउने परिवार बढेका छन् ।’

शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बाराका एकीकृत शैक्षिक व्यवस्थापन सूचना फाँट प्रमुख सन्तोष शर्माका अनुसार सिम्रौनगढ नगरपालिकामा ५ वटा माध्यमिक तहका विद्यालय छन् । ९ र १० मा छात्रको तुलनामा छात्रा संख्या बढी छ । उनले भने, ‘छात्र ६ सय ४९ र छात्रा ७ सय ३३ छ ।’

शिक्षा विकास इकाइ कार्यालयका अनुसार सबै विद्यालयको ९ र १० मा छात्राको संख्या धेरै नदेखिए पनि जिल्लाका धेरै विद्यालयमा छात्रा संख्या उल्लेख्य छ, केहीमा बढी छ । जिल्लाका १६ स्थानीय तहका ४ सय ३१ विभिन्न मावि तहका सामुदायिक विद्यालयमा २०७८ मा ९ हजार २ सय १३ छात्र र ९ हजार १ सय ४९ छात्रा थिए । यसवर्ष भने बारामा कक्षा ९ मा छात्रा ६ हजार १ सय ४८ र छात्र ६ हजार २ सय ६ छन् भने कक्षा १० मा छात्रा ५ हजार २ सय ६८ र छात्र ५ हजार ३ सय ४९ छन् ।

बाराकै जस्तो विद्यालयमा छात्रा उपस्थिति बढेको मधेश प्रदेशका अन्य जिल्लामा पनि भेटिन्छ । सर्लाहीका ४ सय ५१ सामुदायिक विद्यालयको तथ्यांकअनुसार छात्रभन्दा छात्राका संख्या ३ सय १६ ले बढी छ । शिक्षा तथा समन्वय इकाइ कार्यालयका अनुसार सर्लाहीका विद्यालयमा विद्यार्थी संख्या २ लाख ४१ हजार ४ सय १५ छ । जसमा १ लाख २० हजार ८ सय ५८ छात्रा र १ लाख २० हजार ५ सय ४२ छात्र छन् । इकाइका निमित्त प्रमुख सुनिल कुशवाहाले भने, ‘सर्लाहीमा छात्राको संख्या बढी छ । १० वर्षयता सामुदायिक विद्यालयमा छात्राको संख्यामा उल्लेख्य सुधार भएको हो ।’

देशमा संघीयता आएदेखि मधेश प्रदेशले बेटी पढाउ बेटी बचाउ कार्यक्रम शुरु गरेको छ । स्थानीय तहहरुले पनि छोरी पढाउने अभियान चलाएका छन् । प्रदेश सरकारको ‘बेटी बचाऊ, बेटी पढाऊ’ र छोरीलाई साइकल वितरणले पनि शैक्षिक वातावरणमा सकारात्मक प्रभाव परेको शिक्षकहरुको भनाई छ ।

जस्तो कि, चन्द्रनगर गाउँपालिकाले बालविवाह रोक्नुका साथै बालिका शिक्षाको गुणस्तर बढाउन कार्यक्रम सञ्चालन गरेको छ । पालिकाले २० वर्ष पूरा भई १२ कक्षा उत्तीर्ण भएर मात्रै विवाह गर्ने युवतीलाई सम्मानस्वरूप ५० हजार नगद सहयोग गर्दै आएको छ । यसले बालविवाह रोक्नुका साथै छोरी शिक्षित हुने विश्वास गाउँपालिकाको रहेको अध्यक्ष राजकुमार महतोले बताए । छोरा शिक्षित भए एक परिवार, छोरी शिक्षित भए दुई परिवारलाई मद्दत पुग्ने भएकाले बालिका शिक्षामा जोड दिइएको उनको भनाइ छ । ‘महिलाको साक्षर दर निकै कम छ, जसले बालविवाहलगायतका कुरीति छन्,’ उनले भने, ‘यसलाई चिर्न छोरी शिक्षा अभियानको थालनी गरेका हौं, यसले विद्यालयमा छोरीको संख्या बढिरहेको छ ।’

बारा र सर्लाहीको भन्दा फरक चित्र छैन सप्तरीमा पनि । सप्तरीको तिलाठी कोइलाडी–८ तोपास्थित जनता माविका प्रधानाध्यापक रमेश झा छात्राको संख्या बढिरहेको बताउँछन् । केही वर्षयता यस्तो देखिएको उनले बताए ।

पालिकाको शिक्षा शाखाका प्रमुख चन्द्रभूषण रायका अनुसार तिलाठी कोइलाडीमा माध्यमिक तह पढाइ हुने विद्यालयमा कक्षा ८, ९ र १० मा गरी ९ सय १८ छात्र छन् भने १ हजार १ सय ५० छात्रा छन् । ‘छोरालाई संस्थागत विद्यालयमा र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने मानसिकता अझै ग्रामीण क्षेत्रमा कायमै रहेका कारण सामुदायिक विद्यालयमा छात्रभन्दा छात्राको संख्या बढी छ,’ शिक्षा शाखा प्रमुख रायले भने, ‘सामुदायिक विद्यालयमा पनि अहिले पढाइको स्तर राम्रो भए पनि छोरालाई संस्थागतमै पढाउने अभिभावकको सोच हट्न सकेको छैन ।’

सप्तरीको कञ्चनरूप नगरपालिकाका सामुदायिक विद्यालयमा कक्षा ८, ९ र १० मा गरी १ हजार २ सय १४ छात्रा छन् भने १ हजार २ सय ४२ छात्र छन् । राजविराज नगरपालिकाको शिक्षा शाखाको तथ्यांकअनुसार कक्षा ८, ९ र १० मा गरी सामुदायिक विद्यालयमा १ हजार २ सय १५ जना छात्र छन् भने छात्रा संख्या १ हजार ६२ छ । यी दुई तथ्यांकले पनि छात्रछात्राको संख्यामा उल्लेख्य फरक देखाउँदैन ।

छोरीलाई घरनजिकै पायक पर्ने विद्यालयमा पढाउने अभिभावकको सोचका कारण ग्रामीण क्षेत्रका सामुदायिकमा छात्राको संख्या अत्यधिक रहेको पूर्वप्रधानाध्यापक देवेन्द्र मिश्रको बुझाइ छ । ‘छोरालाई बाहिर पढ्न पठाउने, महँगो विद्यालयमा पढाउने तर छोरीलाई गाउँबाहिर पढाउन अभिभावक हिचिकिचाउने गरेका कारण ग्रामीण विद्यालयमा छात्राको संख्या बढेको हो,’ उनी भन्छन्, ‘अझै छोरालाई संस्थागत र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने सोच कायमै छ ।’ कान्तिपुरकाे सहयाेगमा