बैशाख २३, २०८१ आईतबार

स्याङ्जामा २५ प्रतिशत घर जग्गामा महिलाको स्वामित्व



स्याङ्जा – स्याङ्जाको कुल परिवार संख्याको २५ प्रतशित महिलाको घर जग्गा (सम्पत्ति) मा स्वामित्व रहेको पाईएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल परिवार संख्या मध्ये २५ प्रतिशत महिलाको घर जग्गा (सम्पत्ति) मा स्वामित्व रहेको पाईएको हो ।

स्याङ्जाको परिवार सख्ंया ६८ हजार ९ सय ५९ रहेकोमा १७ हजार ६ सय ३१ महिलाको सम्पत्तिमा स्वामित्व रहेको छ । जिल्लाको कुल जनसंख्या २ लाख ५३ हजार २४ मध्ये ५३ दशमलब ९ प्रतिशत अर्थात १ लाख ३६ हजार ३ सय ४६ महिला छन् भने ४६ दशमलब १ प्रतिशतले हुने १ लाख १६ हजार ६ सय ७८ पुरुष छन् ।

सम्पत्तिका ३ किसिममा महिलाहरुको स्वामित्व फरक फरक छ । जग्गामा मात्रै स्वामित्व रहेको संख्या ८ हजार ३ सय ७३ छ भने घर सम्पत्तिमा २ हजार ९५ महिलाको स्वामित्व छ । घर र जग्गा दुबै सम्पत्तिमा स्वामित्व रहेको महिलाको संख्या ७ हजार १ सय ६३ रहेको छ ।

प्रति घरपरिवार ३ दशमलब ६७ संख्या रहेको स्याङ्जामा ७१ प्रतिशत अर्थात ४८ हजार ९ सय १५ परिवारको सम्पत्ति पुरुषको स्वामित्वमा छ । जनगणना अनुसार ३ दशमलब ४ प्रतिले हुने २ हजार ३ सय ७७ परिवारले सम्पत्तिमा स्वामित्व महिला र पुरुष दुबै विवरण उल्लेख गरेका छैनन् ।

जिल्लामा ६० हजार ८ सय ७४ परिवार आफ्नै घरमा बसोबास गर्ने गरेका छन् भने ७ हजार १ सय ५९ परिवार भाडामा बस्दै आएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार माटोको घरमा ४४ हजार ३ सय ६० परिवार बसोबास गरेका छन भने ढुङ्गा र ईट्टाको घरमा १४ हजार ४ सय १७ र सिमेन्ट ढलानको घरमा ९ हजार ८ सय १४ परिवार बस्दै आएका छन् ।

सम्पत्तिमा २५ प्रतिशत स्वामित्व रहेका स्याङ्जाका अधिकांश अर्थात ३६ प्रतिशत महिलाले सरदर १९ वर्षमा विवाह गरेको तथ्याङ्कमा देखिन्छ । विवाह दर्ताका आधारमा १६ वर्षमा २७ प्रतिशत र २२ वर्षको उमेरमा १८ प्रतिशत महिलाले विवाह गरेको देखिन्छ । १० देखि १४ वर्षको उमेरमा विवाह गर्नेको संख्या जिल्लामा १ हजार २ सय ३३ पुरुष हुँदा ९ हजार ७१ महिला रहेका छन् ।

पुरुष ९० र महिला साक्षर ७५ प्रतिशत रहेको जिल्लामा कुल साक्षर दर झण्डै ८२ प्रतिशत रहेको छ । १० जोड २ वा सो सरह उच्च तह उत्र्तिण कुल ३८ हजार ९१ जना मध्ये मानविकी तथा सामाजिकमा १ हजार ४ सय ६५, व्यवस्थापन संकायमा ६ हजार ३ सय २, शिक्षामा ८ हजार ८ सय ५३, विज्ञान विषयमा ५ सय ८२, स्वास्थ्य तथा चिकित्साशास्त्रमा ४ सय ८६ र ईन्जिनियरिङ्ग अध्ययनमा ७२ गरी १७ हजार ७ सय ६० महिलाले उच्च शिक्षा हासिल गरेको देखिन्छ ।