चैत्र ३०, २०८० शुक्रबार

श्रीमानले नै आगो लगाएर हत्या गर्न खोजेकी स्वेता भन्छिन, ‘मुद्दा फिर्ता लिन दबाब दिइरहेका छन्’



जनकपुरधाम- श्रीमान् र घरपरिवारबाट शरीरमा आगो लगाएर गम्भीर घाइते भएकी जनकपुरधाम उपमहानगरपालिका २० देवपुराकी श्वेता झाले आफूमाथि मुद्दा फिर्ता लिई मिलापत्र गर्न दबाब आइरहेको बताएकी छिन् ।

गत वैशाख १ गते २८ वर्षीया श्वेतालाई उनका श्रीमान् राजीव झा, देवर कमलेश झा र सासु द्रौपदी झा मिलेर दाइजोको निहुँमा जलाएर मार्ने प्रयास गरेका थिए । श्वेताको पेटदेखि तल्लो भागसम्म ३५ प्रतिशत जलेको छ । वैशाख ८ गते स्वेताको माइतीपक्षले श्रीमान्सहित देवर, सासू र ससुराविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा ज्यान मार्ने उद्योगमा उजुरी दिएको छ । प्रहरीले पीडितका श्रीमान राजीवलाई वैशाख ९ गते पक्राउ गर्‍यो ।

वैशाख ३१ गते श्वेताले सञ्चारकर्मी तथा अधिकारकर्मीसँग कुराकानी गर्दै आफूमाथि घटना मिलापत्रका लागि प्रहरी प्रशासन र कानुन व्यवसायीले समेत दबाब दिइरहेको खुलासा गरेकी छन् ।

उनले भनिन्, ‘इलाका प्रहरी कार्यालय फूलगामाका प्रहरी निरीक्षकलगायत कानून व्यवसायी रेखा झाले पनि मलाई मिलापत्र गर्न भनिरहेका छन् । तर, मलाई अब मिलापत्र चाहँदिन । भोलि फेरि यस्तो घटना नदोहोरिने कुनै ग्यारेन्टी छैन । यस्तो अवस्थामा मेरो दुई सन्तानलाई कसले हेर्छन् ? म अब आफ्नो श्रीमानसँग छुट्टिएर आफ्नो सन्तानको हक अधिकार मात्रै खोजिरहेकी छु ।”

श्वेताले प्रहरीले श्रीमान् राजीव झालाई पक्राउ गरिसके पनि अहिलेसम्म देवर र सासुलाई पक्राउ गर्न नसक्नु दुःखद रहेको बताइन् । श्वेताले राजीव र उनको परिवारका सदस्यले यसअघि पनि दाइजोमा सुन नदिएको भन्दै पटक-पटक आफूलाई कुटपिट गर्दै आएको बताएकी छन् ।

श्वेताका पिता जयनारायण झाले बिहे भएको एक वर्षमै छोरीलाई विभिन्न बहानामा उनीहरूले कुटपिट गर्दै आएको बताए । उनले राजीवका परिवारले दहेज (दाइजो) को रूपमा ३ तोला सुन दिन आफूलाई विगतदेखि नै पटक-पटक दबाब दिँदै आएको र सो आफूले स्वीकार नगर्दा श्वेतालाई मानसिक र शारीरिक रूपले कष्ट दिएको बताए।

‘विवाह भएको १० वर्ष बितिसक्दा पनि ३ तोला सुन नदिएको भन्दै उनीहरूले श्वेतालाई विगतदेखि नै कुटपिट गर्दै आएका थिए । पछिल्लोपटक आगो लगाएर हत्या गर्ने प्रयास गरे । २ लाख ५० हजार भारतीय रुपैयाँ दाइजो पनि दिएँ,’ उनले भने, ‘तर, राजीवको परिवारले ३ तोला सुनको माग राख्यो । मैले सुन दिन नसक्ने भन्दै टार्दै गएँ । त्यसपछि नै श्वेतामाथि घरमा यातना सुरु भएको हो ।’

यसरी गरिएको थियो श्वेताको हत्या प्रयास

जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा घर भएकी श्वेताको माइत भारतको कोठिया गाउँमा छ । उनको १८ वर्षकै उमेरमा राजीवसँग २०६९ वैशाख ४ गते विवाह भएको थियो । ‘घटना वैशाख १ गतेको हो । राजीवले ९ वर्षीय छोरालाई कुटपिट गरिरहेको थियो । मैले छोरालाई बचाउन खोज्दा आफ्नो भाइ, बुबा र आमाको सहयोगमा मेरो शरीरमा आगो लगाई हत्या प्रयास गरे’, श्वेताले रुँदै भनिन् ।

श्वेताले कुटपिटकै क्रममा सासू द्रोपति झा र देवर कमल झालाई बोलाएर पति राजीवले मरणासन्न हुनेगरी कुटपिट गरेर शरीरमा आगो लगाइदिएको बताइन्। उनले भनिन्, “मेरो जिउमा लागेको आगो घरमा सल्किन सक्ने देखेपछि आँगनमा ल्याएर छोडिदिए । केही बेरसम्म जिउमा आगो दन्की रह्यो र म छटपटाइरहे पनि पनि कोही बचाउन आएनन् । पछि घर छेउछाउका छिमेकीले आएर मलाई बचाए।”

राजीवको परिवारले शरीरमा आगो लगाएर घाइते भए पनि यतिका दिनसम्म उपचारका लागि अस्पतालसमेत नल्याएको उनले दुःखेसो गर्दै भनिन्, “घटनापछि अस्पताल भर्ना गराउँदा प्रहरीले पक्राउ गर्ने डरले परिवारले मलाई अस्पताल पनि लगेन, भात पकाउने बेलामा माड जिउमा पोखियो भन्ने सर्तमा वैशाख ६ गते जानकी हेल्थ केयर अस्पताल ल्याए।”

छोराले माइती पक्षलाई भनेपछि बल्ल आफ्नो उपचार सुरु भएको उनले बताइन । ‘छोराले मलाई कुटपिट गरिरहेको अबस्थामा भिडियो कलमार्फत भाइलाई देखाएको रहेछ । त्यसबेला मेरो जिउमा आगो लगाएको पनि देखाइदिएको थियो । त्यसपछि मेरो बुवा र दाजु आएर जानकी हेल्थ केयरबाट मलाई उद्धार गरेर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार गराए ‘ उनले भनिन् ।

उनले दाइजोकै कारण बिहेको डेढ वर्षसम्म आफूलाई माइती जान पनि नदिएको बताइन । ‘दाइजोको कारण १० वर्षदेखि यातना खेप्दै आएको छु । पति विदेश जाँदा पनि मैले नै कानको सुनको झुम्का बेचेर दिएकी थिएँ तर, विदेशमा कमाएर पनि मलाई एक सुको पठाउनुभएन ।”

पति विदेशबाट फर्किँएपछि जहिले रक्सी खाएर आउने र घरमा कुटपिट गर्ने गरेको र अहिले आएर ज्युदै जलाएर मार्ने प्रयास गरेको उनले बताइन । राजीव र श्वेताका ९ वर्षका छोरा र ७ वर्षकी छोरी छन्।