बैशाख ८, २०८१ शनिबार

उपप्रमुखको कोशेली भेट : सुत्केरी दंग



भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर एक बस्ने ऐसा खातुन सुत्केरी भइन । उनी सुत्केरी भए पछि उनको आफन्त मात्र नभई सिद्धार्थनगर नगरपालिकाको टोली पनि कोसेली लिएर उनको घरमा पुग्यो । ‘अपेक्षा नै नगरिएको कुरा स्थानीय सरकारबाट पाउँदा उनको खुसीको कुनै सिमा भएन । पहिला २ सन्तान हुदा सुत्केरी कोसेली भेट नपाएकी खातुन अहिले छोरी हुदा सुत्केरी कोसेली पाउदा एकदमै खुसी छिन । सुत्केरीलाई आवश्यक पर्ने सामानहरु कोसेली पाउदा एकदमै सहज भएको र समाजमा सकारात्मक सन्देश प्रवाह भएको मैले महसुस गरेकी छु ’ उनले भनिन ।

सिद्धार्थनगर नगरपालिकाले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम अन्तर्गत उपप्रमुख कोसेली भेट कार्यक्रम संगै नगरपालिका भित्र स्थायी रुपमा बसोबास भएका एक सय दिन भित्रका सुत्केरी आमाहरुलाई सम्मान गर्दै आएको छ । जसमा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी सहितको टोलीले सुत्केरीहरुलाइ करिब ३ हजार पाच सय रुपैयाँ बराबरको झुल, सेनेटरी प्याड, म्याक्सी , ध्यु, मह,ज्वानो, आमा र बच्चाको लागी नुहाउने साबुन, लुगा धुने पाउडर, बच्चाको तेल, डिटोल साबुन र कोसेली झोला प्रदान गर्दै आएको छ ।

नगरभित्रका सुत्केरीको घरमै पुगेर शुभकामना सन्देश र कोसेली उपहार दिँदै आएको उप–प्रमुख अधिकारीले बताइन । सुत्केरीलाई पर्याप्त आराम, परिवारको साथ, सहयोग र मायाको आवश्यकता हुन्छ । सुत्केरी भएको बेला पारिवारिक मायासँगै स्थानीय सरकारको तर्फबाट पोसिलो खानेकुरा पाउँदा उनीहरु खुशी छन । सिद्धार्थनगर– १० की अनिता चाइले सुत्केरी आमालाई पोसिलो खाना कोसेली दिने नगरपालिकाको नीतिले हर्षित भएको बताइन । ‘कतिपय परिवार त साँझबिहान खान नपुग्ने हुनुहुन्छ, सुत्केरी भएको बेला त्यस्तो परिवारमा निकै समस्या हुन्छ’, उनले भनिन, ‘नगरपालिकाको उपहारले धेरै राहत मिलेको छ ।’

यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ की मन्जु खडका सुत्केरी कोसेली पोषणका सामान सहितको झोला बोकेर उपप्रमुख घरमै आउँदा दंग छिन । पहिलो पटक सुत्केरी भएकी खडकालाई आवश्यक परेको सामान घरमै पुरयाइदिदा एकदमै राहत भएको बताइन । ‘गाउँमा अझै पनि सुत्केरी हुँदा के खाने, के नखाने भनेर खाना छुट्याइने गरिन्छ ।’ टोलीले आमाले आफ्नो र सन्तानको ख्याल गर्ने, पोषणयुक्त खाना सन्तुलन मिलाएर खाने, सासुससुरा र घरपरिवारलाई सुत्केरीको ख्याल गर्न सम्झाउने गरेकोले परिवारमा समेत सहज बातावरण भएकोमा खुसी उनी ब्यक्त गर्छिन । यता उप–प्रमुख अधिकारी दैनिक कोसेली बोकेर सुत्केरीको घरघर पुग्दै आएकी छन । उनीसँगै सम्बन्धित वडाका अध्यक्ष, सदस्यहरु, वडाका स्वयंसेविकाहरु जान्छन । ‘यसले सुत्केरीको मनोबल बढेको पाएका छौं’, अधिकारीले भनिन, ।

उनले स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ र आमा तथा बच्चाको स्वास्थ्यलाई सुत्केरी अवस्थामा विशेष ख्याल गरी पोसिलो खानेकुरा दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम सुरु गरेको बताइन ।नगरपालिकाबाट कोसेली पाउनका लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने, विवाह दर्ताको प्रमाण, न्यूनतम ४ पटक गर्भवती जाँच गरिएको, अस्पतालको कार्ड, आमा र बच्चाको खोपकार्ड, अस्पतालबाट जारी शिशुको जन्म प्रमाणपत्र, जन्मदर्ताको प्रमाणपत्र प्रतिलिपी, बुबा आमाको नेपाली नागरिकताको प्रतिलिपि लगायतका आवश्यक कागजातहरु पुरा भएमा मात्र सुत्केरी कोसेली भेट पाउन सकिन्छ ।

तीन वर्ष अघि सुरु भएको कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिदै सिद्धार्थनगरले सुत्केरी आमाहरुलाई घरघरमै पुगरे पोसिलो खानेकुरा दिँदै आएको छ । ‘सुत्केरी आमाहरुसँग शुभकामना सन्देशसहित नगर उप–प्रमुखको कोसेली भेट’ कार्यक्रम नाम दिएर सुत्केरीलाई पोसिलो खाने कुरा घरमै पुगेर दिने गरेको हो । यसबाट खातुन, चाइ र खडका जस्तै १ सय ९२ बढी सुत्केरी आमाले पोसिलो खानेकुरा सहित अन्य सामान पाएका छन ।

सुत्केरी भएर घरमै आराम गरिरहँदा नगरपालिकाबाट कोसेली पाउँदा उनीहरु खुशी छन । सिद्धार्थनगर नगरपालिकामा १३ वडा छन । नगरपालिकाले १७ लाख रुपैयाँ बजेट छुट्याएर उप–प्रमुख कोसेली भेट कार्यक्रम सुरु गरेको हो । ‘गर्भवती हुँदा सबै चेकजाँच गर्न, स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ र आमा तथा बच्चाको स्वास्थ्यलाई सुत्केरी अवस्थामा विशेष ख्याल गरी पोसिलो खानेकुरा दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न ‘सँगसँगै समयमै जन्मदर्ता गर्ने बानीको विकास गर्न, मातृशिशु मृत्युुदर घटाउने उद्देश्यको साथ कार्यक्रम सुरु गरीएको बताइन ।

गर्भ रहेदेखि बच्चा जन्मिए पछिको लामो समयसम्म आमाले खाएको खानाबाट नै पौष्टिक तत्व पाएर बच्चा हुर्कन्छन । गर्भधारणदेखि नै आमाले दिनहुँ खाने खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ । ‘कोसेली भेट गर्न जाँदा हामीले पौष्टिक आहारबिहार सम्बन्धी सचेतना पनि दिने गरेका छौं’, अधिकारीले भनिन ।