असार १, २०८१ शुक्रबार

नेपालमा क्रिकेट लोकप्रिय तर महिला टोलीलाई उपेक्षा



“कीर्तिपुरमा भरिभराउ दर्शक अगाडि खेल्नु पर्‍यो भने त नर्भस नै हुन्छु होला म त।”

राष्ट्रिय क्रिकेट खेलाडी सरिता मगरको यो शब्दमा जति व्यङ्ग्य मिसिएको थियो त्यो भन्दा बढी पीडा लुकेको देखिन्थ्यो।

आखिरमा नेपाली दर्शकको अपार समर्थन नै नेपाली क्रिकेटको शक्ति हो।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिचानको प्रमुख कारण दर्शक नै हो।

दर्शकको डाहा लाग्दो समर्थन देखेर नेपालमा खेल्न आउने विदेशी टोलीहरू पनि मोहित हुने गर्छन् र नेपालको प्रशंसा गरेर जान्छन्।

अर्थात् समग्रमा भन्ने हो भने ‘दर्शक’ नेपाली क्रिकेटको एउटा स्थायी पहिचान बनिसकेको छ।

तर सुन्दा अचम्म लाग्छ, झन्डै २ दशक लामो इतिहास बनाइसक्दा पनि महिला क्रिकेट खेलाडीले नेपाली दर्शक सामु त्यसरी खेल्ने अवसर अहिलेसम्म गर्न पाएका छैनन्।

बस उनीहरू पुरुष क्रिकेटको समर्थक देखेर खुसी हुन्छन्। जुन खुसीमा उनीहरूको अथाह ईर्ष्या पनि लुकेको छ।

त्यसलाई अभिव्यक्त गर्दै सरिताले भनिन्, “साँच्चै नर्भस नै भइन्छ होला।”

विस्मय
नेपाली क्रिकेटले यतिका लामो इतिहास कोरिसक्दा महिला क्रिकेटले घरेलु दर्शक माझ एउटै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएकै हो ?
हाे । कीर्तिपुर मैदानमा अहिलेसम्म महिलाको ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएकै छैन।

त्यो मैदानमा युगान्डासँग एउटा शृङ्खला चाहिँ भएको छ। गत जेठ महिनामा भएको सो खेल मैत्रीपूर्ण शृङ्खला भएकोले दर्शकलाई भने आकर्षित गर्न सकेन।

नेपाली महिला किक्रेट टिम
त्यही शृङ्खला नै कीर्तिपुरमा भएको ‘डेब्यू’ शृङ्खला थियो। युगान्डाले पाँच खेलको शृङ्खला ३-२ ले जितेको थियो।

कीर्तिपुरमा बाँकी जति खेल भएको छ, ती सबै घरेलु प्रतियोगिता मात्रै हो। घरेलु प्रतियोगिताको रूपमा नेपाली महिला टोलीले गरेको मेहनत देखेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले सन् २००६ मा नै नेपाली महिला टोलीलाई ‘आइसीसी ग्लोबल इनिसिएटिभ अवार्ड’ प्रदान गरेको थियो।

त्यसलाई ठूलो हौसलाको रूपमा हेरिएको थियो।

त्यसको अर्को साल सन् २००७ देखि महिला क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चाल्यो।

मलेसियामा भएको एसीसी ओमेन च्याम्पियनसिपमा नेपाल उपविजेता भएर फर्कियो।

त्यसपछि सन् २००८ देखि २०१० सम्म लगातार तीन वर्ष यू-१९ एसीसी कप महिला च्याम्पियनसिप जितेर युवा टोलीले धूम मच्चाएको थियो।

त्यतिबेला पुरुष क्रिकेट भन्दा महिला अगाडि जस्तो देखिएको थियो।

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले भनेका थिए, “लागेको थियो पुरुषभन्दा महिला क्रिकेटले चाँडै अन्तर्राष्ट्रिय क्रिकेटमा फड्को मार्नेछ।”

तर त्यस्तो केही भएन। महिला खेलाडीहरूले देखेको सपना सपनामै सीमित हुँदै गयो। महिला क्रिकेट क्रमशः हराउन थाल्यो।

गुमनाम बन्दै
नेपालमा महिला क्रिकेटको उत्थानमा अभियन्ताको भूमिकामा देखिएका एलबी क्षेत्री भन्छन् “क्यान पुरुष क्रिकेटमा नै केन्द्रीत भयो। महिला क्रिकेटको कुनै योजना नै बनेन। अनि खेलाडीहरू बिस्तारै गुमनाम जस्तै हुन थाल्यो।”

वर्षमा एकाध घरेलु प्रतियोगिता वा आइसिसी र एसीसीको छनोट भएको बेलामात्र महिला क्रिकेटलाई सम्झिन्थ्यो। बाँकी बेला खेलाडीहरू गायब जस्तै हुन थाले।

अन्तर्राष्ट्रिय प्रतियोगिता भनेको एशिया कपको लागि एशियाली छनोट प्रतिस्पर्धा हुने बेला र आइसीसीको ग्लोबल क्वालिफायरको बेलामा मात्र महिला टोली बोलाइन्थ्यो।

घरेलु प्रतिस्पर्धामा भने पीएम कप र मेयर्स कपको बेला मात्रै। यसले थुप्रै खेलाडीहरूले पलायनको बाटो रोजेको देखियो।

नेपाली महिला क्रिकेट
नेपाल भन्दा कमजोर मानिएका बाङ्ग्लादेश, थाईल्याण्ड, श्रीलंका जस्ता राष्ट्रहरूले नेपाललाई उछिन्न थाल्यो।

यस्तोमा ती खेलाडीहरूमात्र राष्ट्रिय टोलीमा अडिए, जोसँग धैर्यता धेरै थियो।

कप्तान रुविना क्षेत्री त्यस्तै एक पात्र हुन्। उनी भन्छिन्, “महिला क्रिकेट त छैन भने पनि हुन्छ। हाम्रो गणना नै हुँदैन। ”

यसबीच महिला टोलीले केही फरक खालका अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको होइन।

सन् २०१० र २०१४ को एशियाली खेलकुदमा नेपालले खेल्यो।

घरेलु क्रिकेटमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने प्रधानमन्त्री कप र उपमेयर्स कप मात्र नेपाली महिला टोलीले खेल्ने प्रतियोगिताहरू हुन्।

१९ वर्षमुनी र १६ वर्षमुनीको उमेर समुहका प्रतियोगिताहरू नभएको पनि लामो समय भइसक्यो।

एक पटक फ्रेञ्चाइज क्रिकेटले महिला खेलाडीहरूमा थुप्रै आशा पलाएको थियो। तर त्यसको अर्को संस्करण हुन सकेन।

केही महिला खेलाडीहरूले भारतमा गएर प्रतियोगिता खेले।

तर रुविना क्षेत्री र सीता रानामगर जस्ता फायर ब्रेक क्रिकेट प्रतियोगिता खेलेका महिला क्रिकेटरका कारण नेपालको महिला क्रिकेट चर्चामा भने रहिरह्यो।

तर पनि महिलाले मेहेनत गरे अनुरूप न्याय भने पाएको उनीहरू ठान्दैनन्।

राष्ट्रिय टोलीकी उपकप्तान इन्दु बर्मा भन्छिन्, ” हामीहरू इच्छाशक्तिले नै हो टिकेको। एपीएफ क्लबमा महिला टोली भएकोले पनि धेरै जना क्रिकेटमा अडिन सके। नत्र खेलाडी पाउन गाह्रै अवस्था छ।”

क्यानको व्यवहार र योजना
क्यानबाट अर्को चोट पाएको पनि खेलाडीहरू अनुभव गर्छन्। क्यानले महिला टोलीको पनि वर्गीकरण गर्‍यो र नियमित तलब दिने व्यवस्था गर्‍यो।

तर क्यानले त्यसमा जम्मा १२ जना खेलाडी मात्र राखेको छ। अर्थात् एउटा राष्ट्रिय टोलीका सबै खेलाडीहरू पनि वर्गीकरणमा अटाएका छैनन्।

इन्दु वर्मा भन्छिन्, “सिङ्गो राष्ट्रिय टोली नै नअटेको वर्गीकरण देखेर कतिपय खेलाडीहरू चित्त दुखाउँछन्। के गर्ने? ”

क्यानका अनुसार क्यान अब कीर्तिपुरमा महिलाको अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने तयारीमा छन्।

त्यसको लागि आइसीसी र एसीसीसँग मौखिक प्रस्ताव राखिसकिएको कार्यवाहक सचिव पाठक बताउँछन्।

उनले भने, “आइसिसी र एसीसीले दिने कुनै पनि महिला प्रतिस्पर्धा नेपालमा गर्न क्यान तयार छ। आशा छ हामीले चाँडै त्यो अवसर पाउनेछौँ।”