चैत्र ३०, २०८० शुक्रबार

महिला टी-२० क्रिकेटमा नेपाल मलेसियासँग पराजित



मलेसियामा सोमबार भएको पहिलो महिला टी–२० आई खेलमा नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको छ।

मलेसियाले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ। नेपाली टोली पहिलो पटक मलेसियासँग पराजित भएको हो।

नेपालले दिएको ५१ रनको सामान्य लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। मलेसियाको जितमा ओपनर वान जुलिया वान मोहम्मद रोस्दीले १३ रन बनाए।

नेपालकी सीता रानामगरले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिइन्।

कप्तान रुविना क्षेत्री बेलबासेले ४ ओभरमा ७ रन खर्चेर २ तथा कविता कुँवरले २ ओभरमा ४ रन खर्चेर १ विकेट झारिन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६.५ ओभरमा ५० रनमा अल आउट भयो।

नेपालकी सम्झना खड्काले डेब्यु खेलमा सर्वाधिक १३ रन जोडिन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।