बैशाख ११, २०८१ मंगलबार

आफ्नै कर्मचारीलाई यौन दुर्व्यवहार गर्ने एसएसपी पाल निलम्बित, अरू महिला प्रहरी पनि पीडित



काठमाडाैं – प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी योगबहादुर पाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले शुक्रबार निलम्बन गरेको हो।

नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा गत १९ जेठमा उनले सोही कार्यालयमा कार्यरत एक महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेका थिए।बिदामा जान लागेकी कर्मचारीलाई निवासमा बोलाएर ‘तिमी मलाई मन पर्‍यो आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै दुर्व्यवहार गरेका थिए। महिलाको उजुरीका आधारमा छानबिन गर्दा एसएसपीको गल्ती देखिएपछि उनलाई निलम्बन गरिएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको घटनामा उजुरी परेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्यामसिंह चौधरी नेतृत्वको छानबिन समितिले घटनामा एसएसपीले दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै कारबाहीको सिफारिस गरेको थियो।

अरु महिला प्रहरीमाथी पनि यौन दुर्व्यवहार

प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको घटनामा छानबिनमा रहेका नेपाल प्रहरीका एसएसपी योगबहादुर पालले अन्य महिला प्रहरीलाई पनि दुर्व्यवहार गर्दै आएको खुलेको छ । नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर कञ्चनपुरमा कार्यालय प्रमुखका रूपमा कार्यरत रहँदा उनले त्यहाँका अन्य महिला कर्मचारीलाई पनि विगतदेखि नै दुर्व्यवहार गर्दै आएको छानबिनमा खुलेको हो ।

एसपी चौधरीको अध्यक्षतामा गठीत समितिले गरेको छानबिनका क्रममा अन्य महिला प्रहरीले पनि विगतमा आफूहरूलाई समेत एसएसपी पालले दुर्व्यवहार गर्दै आएको सुनाएका हुन् । छानबिन समितिले १९ जेठको घटनाबारे कार्यालयका प्रहरी कर्मचारीसँग सोधपुछ गरेको थियो । जसक्रममा अन्य महिला प्रहरीले पनि विगतमा आफूमाथि एसएसपी पालले गरेको दुर्व्यवहारका घटना सुनाएका छन् ।

‘कोही पनि महिला प्रहरी उहाँलाई एक्लै भेट्न जानै डराउने रहेछन्,’ प्रदेश प्रहरी कार्यालयका एक अधिकारी भन्छन्, ‘विगतमा पनि धेरै महिला प्रहरीलाई निवासमा बोलाउने र उनीहरूको प्रशंसा गरेर त्यहीँ बस भन्दै फकाउने गरेको बुझियो ।’ स्थानीयस्तरमा पनि उनको बारेमा नराम्रो छवि रहेको समेत छानबिन समिति स्रोत बताउँछ । पाल गत पुसदेखि सो कार्यालयमा प्रमुखका रूपमा कार्यरत छन् ।

गत १९ जेठमा बिदामा घर जान लागेकी सहायक हवल्दारलाई आफ्नो निवासमा बोलाएर ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे’ मनाउनुपर्छ भन्दै उनले दुर्व्यवहार गरेका थिए । ती महिला प्रहरीले प्रतिकार गरी उनको कोठाबाट निस्किएर सहकर्मीलाई त्यसबारे जानकारी गराई प्रदेश कार्यालय धनगढीमा उजुरी गरेकी हुन् । सोही दिन प्रहरी प्रधान कार्यालयले उनलाई जिम्मेवारीबाट हटाएको थियो ।

एसएसपी पाल विगतमा पनि यस्ता घटनामा संलग्न भई उन्मुक्ति पाउँदै आएका अधिकारी हुन् । ०७१ मा सोलुखुम्बुको प्रहरी प्रमुख भएका वेला पनि आचरणसम्बन्धी गम्भीर घटनामा उनलाई हटाइएको थियो । त्यतिवेला पनि महिला प्रहरीका साथै एक गैरप्रहरीमाथिको घटनाको उजुरीका आधारमा उनलाई सरुवा गरे पनि कारबाही भने हुन सकेन । त्यसअघि बौद्ध वृत्तमा हुँदा पनि उनी कारबाहीमा परेका थिए । प्रहरीका उनी सबैभन्दा विवादास्पद अधिकृतका रूपमा चिनिन्छन् । पाल ०५२ को इन्स्पेक्टर भर्नामा असफल भएपछि राष्ट्रिय अनुसन्धान विभागबाट राजनीतिक सोर्सफोर्सका आधारमा भर्ना भई पछि नेपाल प्रहरीलाई स्थानान्तरण भएका अधिकृत हुन् ।