बैशाख १२, २०८१ बुधबार

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि पुलिस क्लवलाई



मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

इटहरी रङ्गशालामा बिहीबार साँझ सम्पन्न फाइनल खेलमा अर्को विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद रु तीन लाख हात पार्न सफल भएको छ । उपविजेतामा सीमित बनेको एपिएफले रु एक लाख ५० हजार पाएर चित्त बुझाएको छ । खेलको पहिलो सेट २५–१९ ले जितेको पुलिसले दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी पुनम चन्द घोषित हुँदै रु ५५ हजार पुरस्कार पाइन् । बेस्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, बेस्ट ब्लकर बागमती प्रदेशकी सुमित्रा रेग्मी, बेस्ट सर्भर पुलिसकी उषा भण्डारी, बेस्ट सेटर पुलिसकी कामना पुन र बेस्ट लिबेरो पुलिसकी शान्ति तामाङ घोषित हुन सफल भए । प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक पुलिस क्लबका रूपेश विष्ट भए । उनीहरूले जनही रू १५ हजार प्राप्त गरे ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, कार्यक्रमकी अध्यक्ष तथा बोर्डकी उपाध्यक्ष जिना कार्की, बोर्डका सदस्यसचिव हंशराज वाग्ले, नेपाल भलिबल सङ्घका उपाध्यक्ष मदन खड्कालगायतले पुरस्कार वितरण गरेको थियो ।

प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल सङ्घ सुनसरीको संयोजनमा भएको प्रतियोगितामा तीन विभागीयसहित छ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका लागि खेलकुद विकास बोर्डले रु २५ लाख छुट्याएको थियो ।