बैशाख ११, २०८१ मंगलबार

पत्रकार महिलालाई तीन दिने फोटो पत्रकारिता तालिम



काठमाडौं । पत्रकार महिलाहरूका लागि तीन दिने फोटो पत्रकारिता तालिम सुरू भएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)द्धारा संयुक्तरूपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को सहकार्य तथा सञ्चारिका समूह नेपालको संयोजनमा सोमबारदेखि काठमाण्डौमा पत्रकार महिलाहरूका लागि तीन दिने फोटो पत्रकारिता तालीम सुरू भएको हो।

विभिन्न सञ्चारमाध्यममा कार्यरत ४५ जना पत्रकार महिलाहरुको सहभागिता रहेको तालीममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजनसहित नेपालको पर्यटनका बारेमा समेत प्रशिक्षण दिइने बताइएको छ। यस्तै, तालीममा पर्यटन फोटो पत्रकारिताका क्षेत्र र यसका आयामबारे पनि प्रशिक्षण हुने परियोजनाले जानकारी दिएको छ।

तालिम उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा पत्रकार महीलाहरुका लागि यो तालीम आयोजना गरिएको र यसले पर्यटन वीटमा कलम तथा क्यामेरा चलाउने पत्रकारहरु लाभान्वित हुने अपेक्षा गरिएको बताए।

सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवाले पछिल्लो समय पत्रकारितामा महिला सहभागिता बढिरहेको सन्दर्भमा यो तालीमले पर्यटन क्षेत्रमा क्यामेरा चलाउने पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि हुने बताए।

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले तालिमलाई व्यवहारिक बनाउन शैद्धान्तिक तथा व्यवहारिक कक्षाहरू सञ्चालन गरिएको र यसले फोटा पत्रकारिताका काम गर्दै गरेका तथा नयाँ आयउन चाहनेलाई समेत सहज हुने बताए।

तालीमको पहिलो दिन नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टी.पी. भुसालले नेपालको भूगोल, धर्म, कला, संस्कृतिका साथै पर्यटन पत्रकारिताका बारेमा प्रशिक्षण दिएका थिए। यस्तै, अर्का प्रशिक्षक राजन काफ्लले फोटो पत्रकारिको शैद्धान्तिक विषय तथा क्यामेराको संचालनलगायतका बारेमा प्रशिक्षण दिएका थिए।

तालीमको मंगलबार र बुधबारको शेसनमा फोटो पत्रकारहरू सुनिल शर्मा र सुनिल श्रेष्ठलगायतले प्रशिक्षण दिने बताइएको छ। यस्तै, वरिष्ठ फोटो पत्रकारहरू मीन बज्राचार्य र विकास कार्कीले फोटो पत्रकारिताको अनुभव र नयाँ आयामबारे आफ्ना अनुभव साट्ने छन्।

एसटीएलआरपीले पर्यटनका अन्य क्षेत्रमा तालिम संचालन गरिरहेको सन्दर्भमा पत्रकार महीलाहरुको फोटो पत्रकारिताको क्षेत्रमा क्षमता अभिवृद्धि होस भनेर यो तालिमको आयोजना गरिएको परियोजनाका जीविकोपार्जन विज्ञ धर्म दवाडीले बताए। दवाडीका अनुसार परियोजनाले छिट्टै एनएफपीजेसंगको सहकार्यमा पुरुष तथा महीला दुवै पत्रकारहरुका लागि अर्को तालीमसमेत आयोजना गर्ने छ।