बैशाख २१, २०८१ शुक्रबार

झण्डै ४ हजार महिलालाई ठगी गर्ने ढोँगी बाबा ‘पीके’ पक्राउ, कैयौंलाई यौनशोषण



काठमाडाैं- झण्डै ५ करोड रुपैयाँ नगद र सय तोलाभन्दा बढी सुन ठगी गरेको आरोपमा एक ढोँगी बाबा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दोलखा घर भएका पुरुषोत्तम काफ्ले उर्फ धर्मगुरु शिवसुत गौरी भक्त (पीके बाबा भनेर समेत चिनिने)लाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो ।

उनले एउटै महिलासँग २ करोड रुपैयाँ र २१ तोला सुनसम्म ठगेको पाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए ।

एसपी अधिकारीका अनुसार उनले काठमाडौंमा ‘हाम्रो अभियान नेपाल’ र ‘ओम आश्रम नेपाल’ नामक संस्था खोली दर्जनौं महिलाहरूबाट पाँच करोडभन्दा बढी ठगी गरेको पाइएको छ ।

उनको आश्रम तथा संस्थामा ४ हजार महिला सदस्य रहेकाले ठगिनेहरूको संख्या र रकम अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

काठमाडौं महानरपालिका– ३२ कोटेश्वरकी लक्ष्मी (नाम परिवर्तन)ले २०६९ सालमा गौशालास्थित कथित बाबा पीकेको ओम आश्रमको सदस्यता लिएको थिइन् ।

पहिला ज्ञान बढाउन भन्दै पीकेले विभिन्न पुस्तकहरू पढ्न लगाए । त्यसक्रममा आफूलाई ‘मोहनी’ लगाएर ठगी गरेको ती महिलाको आरोप छ ।

‘टुनामुना जानेको रहेछ, मलाई मोहनी लगायो अनि ठगी गर्‍यो,’ लक्ष्मीले लोकान्तरसँग भनिन् ।

शुरूमा बाबाले भनेका सबै कुरा ठीक हो जस्तो लाग्ने गरेको बताउँदै उनले थपिन्, ‘सबै सामान बाबाकोमा लैजान मन लाग्थ्यो । विस्तारै पैसा माग्न थाले । बाबाले मागेपछि मैले शुरूमा १० लाख रुपैयाँ दिएकी थिएँ ।’

उनका श्रीमान् विदेशमा पानी जहाजमा काम गर्छन् । मासिक २ हजार डलर कमाउने श्रीमान्ले पैसा पठाएको दिन थाहा पाएर बाबाले पैसा माग्ने गरेको उनको भनाइ छ ।

‘बुढाले विदेशबाट पठाएको पैसा बाबाले थाहा पाउँथे, तर कसरी थाहा पाउँथे अहिलेसम्म पनि बुझेकी छैन । मोहनी लागेकाले मैले सबै पैसा दिएँ,’ लक्ष्मीले लोकान्तरसँग भनिन् ।

पटक–पटक गरी २ करोड रुपैयाँ दिएको उनको दाबी छ । यतिसम्म कि कोटेश्वरको घर बैंकमा राखेर समेत पैसा दिएको उनले बताइन् ।

राति-राति पनि फोन गरेर पैसाका लागि दबाब दिने गरेको आरोप उनले लगाइन् । त्यसक्रममा पटक–पटक गरेर २१ तोला सुन समेत लगेको उनले बताइन् ।

बेलाबेलामा गाडीको शोरूममा लगेर महंगा गाडी देखाउने गरेको भन्दै उनले थपिन्, ‘मलाई गाडीको शोरूममा लगेर तेरो हैसियत ठूलो गाडी चढ्ने छ, यस्तो गाडी किन्नुपर्छ भनेर पजेरो देखाउँथ्यो ।’

यसैक्रममा गौशालाबाट बाबा एकाएक गायब भए । उनी भारत पुगेका रहेछन् । सहयोगीमार्फत कुराकानी भयो ।

त्यसपछि आफूले पैसा फिर्ता माग्न थालेको लक्ष्मी बताउँछिन् । विराटनगरको जग्गा पास गरिदिन्छु भनेर समेत टारेको उनको भनाइ छ ।

‘तेरो पैसा खाँदिनँ, म फिर्ता गर्दिन्छु, विराटनगर आइज, जग्गा दिन्छु भनेर बोलायो । जग्गा देखायो, तर बेलुका जहाजको टिकट काटेर फिर्ता पठायो,’ उनले लोकान्तरसँग भनिन् ।

सबै कुरा थाहा पाएपछि श्रीमान्ले सम्बन्धविच्छेद मागेको र छोराछोरीले पनि गाली गरिरहेको उनको भनाइ छ । ‘बुढाले डिभोर्स मागेको छ । छोराछोरीले गाली गरिरहेका छन्, म के गरौं ?’ उनले रुँदै भनिन् ।

ती बाबाविरुद्ध ठगी मात्र हैन, यौनशोषणको पनि उजुरी छ । तर, लक्ष्मी भने आफूलाई यौनशोषण नगरेको बताउँछिन् ।

प्रहरीका अनुसार उक्त आश्रममा ४ हजार महिला सदस्यहरू थिए । बाबाले ती महिलाहरूलाई एकअर्कासँग भेटघाट र बोलचाल गर्न दिँदैनथे ।

‘हामी आश्रममा जाँदा मोबाइल लैजान पाइँदैनथ्यो, त्यहाँ आउने अरू महिला दिदीबहिनीहरूसँग पनि बोल्न दिँदैनथ्यो,’ अर्की एक पीडितले लोकान्तरसँग भनिन् ।

आफूलाई भगवान् शिवको अवतार बताउने बाबाले आफ्नो यौनाङ्ग सुम्सुम्याइदिन लगाउने गरेको पीडितहरूको आरोप छ ।

‘हामीलाई म शिव हुँ, मलाई पूजा गर भनेर त्यो चिज (यौनाङ्ग) समाउन लगाएको थियो,’ ३ जना पीडित महिलाले सँगसँगै भने ।

अहिलेसम्म प्रहरीको सम्पर्कमा आएका महिलाहरूसँग न्यूनतम् २० हजारदेखि अधिकतम २ करोड रुपैयाँसम्म ठगी गरेको पाइएको छ ।

प्रहरीले उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।

ती बाबालाई श्रीमतीसहित अन्य ३ महिलाले सघाएको पाइएको प्रहरीले जनाएको छ । अधिकांश पीडितले बैंकमार्फत पैसा दिएको बताएका छन् ।

‘सर, मैले त बैंकमार्फत ३६ लाख रुपैयाँ दिएकी छु । डिपोजिट स्लिप नै मसँग छ,’ अर्की एक पीडितले भनिन् । गहना बिक्री गरेर तथा फाइनान्सबाट ऋण लिएर पैसा दिएको उनको भनाइ छ ।

आफू अविवाहित रहेको तथा २० वर्षदेखि खाना समेत नखाएको बताउने ती बाबाको श्रीमती समेत रहेको र छोरा अमेरिका बस्दै आएको खुलेको पीडितहरू बताउँछन् ।

प्रहरीका अनुसार उनले ‘परिवारको भविष्य आमाको हातमा, हाम्रो अभियान तपाईंको साथमा’ भन्ने नारा बनाई स्वदेशी तथा विदेशी कम्पनीमा लगानी गरिदिने भनेर पैसा उठाएको पाइएको छ ।

पीडितहरूको उजुरीका आधारमा उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । थप महिला पनि सम्पर्कमा आउने क्रममा छन् ।