बैशाख १०, २०८१ सोमबार

नेपाली नर्स बेलायत लैजान आवेदन खुल्याे, तलब मासिक ४ लाख सम्म



काठमाडाैं । सरकारी प्रकृयाबाट रोजगारीका लागि बेलायत जान चाहने नेपाली नर्सका लागि आवेदन खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि बेलायत लैजान बिहीबार (२० जुलाई) देखि आवेदन खुलाएको हो ।

नेपाल सरकार र बेलायतबीच भएको सम्झौता अनुसार ‘गभर्मेन्ट टु गभर्मेन्ट (जीटुजी)’ प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति लैजाने प्रक्रियालाई शुरु भएको मन्त्रालयले जनाएको छ । सरकारी संयन्त्रमार्फत बेलायतमा नर्स लैजानका लागि २२ अगस्ट २०२२ मा नेपाल र बेलायतबीच श्रम सम्झौता भएको थियो । यो श्रम सम्झौतालाई कार्यान्वयन गर्ने प्रोटोकलमा सहमति भई मन्त्रिपरिषदबाट कार्ययोजना स्वीकृत भएसँगै प्रकृया शुरु भएको हो । उक्त सम्झौता अनुसार पाइलट प्रोजेक्टको रुपमा पहिलो चरणमा एक सय जना नर्स बेलायत जाने छन् ।

बेलायत जान इच्छुक नेपाली नर्सले शुक्रबारदेखि १९ अक्टोबर २०२३ सम्म मन्त्रालयले तयार गरेकाे छुट्टै अनलाइन पाेर्टल मार्फत आवेदन दिन सक्नेछन् ।

सम्झौताअनुसार, नेपाल नर्सिङ काउन्सिलमा दर्ता भई दुई वर्षको अनुभव भएका २० देखि ४५ वर्ष उमेरका नर्सहरू भर्ना प्रक्रियामा सहभागी हुन पाउनेछन् । भर्ना प्रक्रियामा स्टाफ नर्स, बीएन, बीएससी नर्सिङ, एमएन सहभागी हुन पाउने व्यवस्था गरिएको छ । प्रतिस्पर्धा गर्नका लागि अंग्रेजी भाषा परीक्षा आईईएलटीएसमा औसत ७ र ओईटीमा ‘बी’ अंक ल्याएको हुनुपर्नेछ । बेलायत पुगेको ८ महिनाभित्र स्वास्थ्यसँग सम्बन्धित व्यावहारिक वस्तुपरक परीक्षा (ओएससीई) उत्तीर्ण हुनुपर्नेछ । उक्त परिक्षामा सामेत हुन उनीहरुलाई तीनपटकसम्म मौका दिइनेछ ।

छनोट भएर गएका सहायक स्वास्थ्य हेरचाहकर्मीले मासिक ४ लाख नेपाली रुपैयाँसम्म पारिश्रमिक पाउने भएका छन् । बेलायतको कानुनअनुसार लाइसेन्स लिएपछि नेपाली नर्सले वार्षिक ४८ लाख रुपैयाँ (२७ हजारदेखि ३२ हजार पाउन्ड) सम्म तलब पाउने सुविधा छ ।

उक्त तलव सुविधाका लागि बेलायतको ‘नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल (एनएचएस)’ मा दर्ता हुनपर्ने अनिवार्य व्यवस्था छ । नेपालबाट भर्ना भएर जानेबित्तिकै भने यो सुविधा पाउनेछैनन् । सहायक स्वास्थ्यकर्मीको रुपमा छनोट भई बेलायतको नर्सिङ काउन्सिलबाट पास भएपछि मात्रै दर्तावाला (लाइसेन्स) नर्सको दर्जा पाइने श्रम मन्त्रालयले जनाएको छ । लाइसेन्स प्राप्त नर्सले तलबबाहेक एनएचएसको पेन्सन सुविधा पनि पाउनेछन् । त्यस्तै नर्स र आश्रित परिवारका सदस्यलाई सार्वजनिक स्वास्थ्य सेवामा पहुँच हुनुका साथै साथै नर्सका ४ देखि १८ वर्षसम्मका सन्तानका लागि निःशुल्क शिक्षासमेत उपलब्ध हुनेछ ।

दर्तावाला नर्सले सीप र क्षमताको आधारमा ३ वर्ष वा त्यो भन्दा बढी अवधि काम गर्न पाउनेछन् । सम्झौताअनुसार आईएलटीएस र ओईटी, भिसा र टिकटमा लाग्ने खर्चको रकम बेलायत सरकारले शोधभर्ना गर्नेछ । त्यस्तै बेलायतको एनएमसीमा दर्ता हुनका लागि लाग्ने खर्चको पनि शोधभर्ना हुनेछ । छनोट हुने नेपाली नर्सले वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क मात्र बेहोर्नुपर्नेछ ।

ब्रिटिस काउन्सिल नेपालले आईएलटीएसको पेपर परीक्षा विराटनगर, विर्तामोड, बुटवल, चितवन, काठमाडौं र पोखराबाट लिने व्यवस्था गरेको छ । आईएलटीएसको कम्प्युटर परीक्षा भने काठमाडौंबाट मात्रै दिन मिल्ने व्यवस्था छ । त्यस्तै ओईटीको पेपर परीक्षा भने युनिभर्सल ल्याङग्वेज एन्ड कम्युटर इन्स्टिच्युट, काठमाडौं र चितवन मेडिकल कलेज, भरतपुरमा हुनेछ । ओईटी कम्प्युटर परीक्षा भने फुलब्राइट कमिसन, काठमाडौंमा हुने व्यवस्था मिलाइएको छ । यसका लागि ३५ हजार रुपैयाँ लाग्नेछ । यो रकम छनोट भएर जानेको मात्रै शोधभर्ना हुन्छ ।