बैशाख ९, २०८१ आईतबार

तुलसीपुर बसपार्कमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ



दाङकाे तुलसीपुर बसपार्कमा गएराति ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार गर्ने २ जना पक्राउ परेका छन् । प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार गर्ने तुलसीपुर उपमहानगरपालिका- १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका-७ का २० वर्षीय रेशम विकलाइ पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

डिएसपी मल्लका अनुसार उनीहरूले तलुसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र वृद्धामाथि सामूहिक बलात्कार गरेका थिए । उनीहरूलाई बसभित्र वृद्धामाथि पालैपालो बलात्कार गरिरहेकै अवस्थामा मध्यराती १२ बजे पक्राउ गरिएको हाे । प्रहरीले पीडित वृद्धालाई उद्धार गरी तुलसीपुरकै सेफ हाउसमा राखिएको छ ।

डिएसपी मल्लका अनुसार पीडित महिला प्युठानबाट आँखाको उपचार गर्न तुलसीपुर गएकी थिइन्। बसपार्क छेऊमा उभिएकी उनलाई ती युवकहरूले ‍फकाएर बसभित्र लगेका थिए।

बसभित्र पुर्‍याएर बलात्कार गर्न थालेपछि वृद्धा चिच्याएकी थिइन्। उनी चिच्याएको आवाज सुनेर बाटो हिँड्ने सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक सन्तोष आचार्यको नेतृत्वमा खटिएको तीन जनाको टोली र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक सुशान्त मिश्रको कमान्डमा खटिएको ६ जनाको टोलीले बलात्कारीलाई पक्राउ गरी बृद्धाकाे उद्दार गरेकाे हाे ।

‘एक जना महिला बसभित्र रोइ कराइ गरिरहेकी छन्, त्यहाँ तपाईं छिटो पुग्नु पर्‍यो भनेर मलाई एकजना सर्वसाधारणले सूचना दिएका थिए,’ एक प्रहरी अधिकारीले भने ‘ त्यसपछि मैले तुरून्त इप्रका तुलसीपुरमा फोन गरी थप सहयोग मागेर घटनास्थल पुग्दा हामीले बलात्कार गरिरहेकै अवस्थामा दुई युवकलाई पक्राउ गरी महिलाको उद्धार गरेका हौं।’

प्रहरीका अनुसार ती वृद्धासँग खान र बस्न पैसा थिएन। पैसा नभएपछि बसपार्क क्षेत्रमै यताउती डुल्ने र उभिने गरिरहेकी थिइन्। त्यही मौकामा ती युवकहरूले ललाइफकाइ बसभित्र पुर्‍याएर बलात्कार गरेको डिएसपी मल्लले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए।