बैशाख ८, २०८१ शनिबार

ज्योतिष विज्ञानकाे वैज्ञानिक अध्ययन र प्रचार जरुरीः संचारमन्त्री शर्मा



दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ज्योतिष विद्याको वैज्ञानिक अध्ययन आवश्यक भएको बताएकी छन् ।

नेपाल ज्योतिष परिषद्को १८औँ राष्ट्रिय सम्मेलनको घोराहीमा भएको कार्यक्रममा मन्त्री शर्माले ज्योतिषबारे भएका भ्रम हटाएर यो वैज्ञानिक र पूर्वीय दर्शनको महत्त्वपूर्ण पाटो हो भनेर बुझ्नुपर्ने बताइन् । ‘पूर्वीय दर्शनप्रतिको विश्वास संसारभर छ तर यो विज्ञान हाम्रो हो भनेर अपनत्व र अधिकार कायम गर्न सकेका छैनौँ’, उनले भनिन् ।

पूर्वीय दर्शनको ज्ञानका आधारमा वैज्ञानिक आविष्कार भएका बताउँदै सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले संस्कृत विश्वविद्यालयलाई केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन् । उनले धार्मिक सहिष्णुता कायम गर्न सबै नेपाली सधैँ सजग एवं एकताबद्ध हुनुपर्ने बताइन् ।

यसैगरी, उनले पूर्वीय दर्शनप्रतिको प्रभाव, हस्तक्षेपहरुबारे नकारात्मक अवधारणा चिर्न सक्ने संयन्त्र बनाउन अपिल पनि अपिल गरिन् । नेपाल पूर्वीय दर्शनको आधार थलो हुँदा हुँदै पनि यसको सही उपयोग अझै हुन नसकेको जिकिर गरिन् । उनले भनिन् ‘नेपाल पूर्वीय दर्शन अध्ययन र अनुसन्धानको केन्द्र हो तर हामीले यहाँको बारेमा विश्वलाई बुझाउन अझै सकिरहेका छैनौँ, यसले गर्दा पूर्वीय दर्शन पढ्न अमेरिका जानुपर्ने अवस्था त हुन्न ? भन्ने अवस्था सिर्जना भएको छ । जबकी पश्चिमा देशका नागरिक ज्योतिष विज्ञान र पूर्वीय दर्शन पढ्न लालायित छन् । उनीहरु ठूलो संख्यामा ज्योतिष विज्ञानमा विश्वास गर्छन् । ज्योतिष विज्ञान पढिरहेका छन् । यस प्रति उनीहरुको अस्वाभाविक आकर्षण बढेर गएको छ ।’

आजको विज्ञानको विकासको आधार पूर्वीय दर्शन र ज्योतिष विज्ञान रहेको बताउँदै उनले युवाहरुमा ज्योतिष विज्ञानलाई विज्ञान प्रविधिसँग जोड्न सके धार्मिक र सांस्कृतिक विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनमा ज्योतिष वास्तु तथा कर्मकाण्ड पेशालाई मर्यादित र व्यवस्थित गराउनुका साथै जनमानसमा यी विधाहरुको प्रचारप्रसार गर्न र ज्योतिष विज्ञानको अध्ययन अध्यापन, प्रशिक्षण, परामर्श तथा अनुसन्धान गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा छरिएर रहेका गणित ज्योतिष र फलित ज्योतिष विधामा रहेका मतमतान्तरहरुलाई मनन गरी वास्तविक तथ्यको निक्र्यौल गर्ने प्रयास हुने बताईएको छ । उद्घाटन समारोहमा परिषदका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार पञ्चाङ्गकार डा. लोकराज पौडेल लगायतको सहभागिता रहेको छ ।

सम्मेलनमा उपप्राध्यापक कपिलदेव सुवेदीले वैदिक वास्तुविषयक, ई लक्ष्मीप्रसाद सोतीले वास्तुमा पञ्चतत्वको अवस्था र महत्व विषयक, प्रा. प्रेमकुमार आचार्यले संस्कारको महत्व र सोह्र संस्कारहरु विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् । प्राध्यापक डा अर्जुनप्रसाद भट्टराईले ज्योतिषमा विद्या र सन्तान विचार विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् । केन्द्रीय समिति अध्यक्ष ज्योतिषी माधवराज पाण्डेको अध्यक्षतामा शुरु भएको सम्मेलनमा संस्थापक अध्यक्ष लोकराज पौडेलले नेपाल ज्योतिष परिषदको विगतदेखि वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । महासचिव कमलप्रसाद काफ्लेले ज्योतिष विज्ञानलाई थप प्रभावकारी र विश्वसनीय बनाउन खगोगशास्त्र अध्ययन गर्न टेलिस्कोप आवश्यक रहेको हुँदा नेपाल सरकारसँग सहयोगको अपिल गरे । दुइदिनसम्म चल्ने सम्मेलनमा देशभरका ज्योतिष वास्तु तथा कर्मकाण्ड क्षेत्रमा लागेकाहरुको सहभागिता रहेको छ ।