बैशाख १९, २०८१ बुधबार

बेलायतमा मासिक ४ लाख तलब खाने जागिरका लागि ७१ जना नेपाली नर्स छनाैट



काठमाडौं – बेलायतमा रोजगारीका लागि ७१ जना नेपाली नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । वैदेशिक रोजगार विभागले अन्लाइन फाराम भरेकामध्ये अन्तार्वार्ताका लागि ७१ जना नर्सलाई छनोट गरी नाम सार्वजनिक गरेको हो ।

अन्तरर्वार्तापछि बेलायत जानेहरूको अन्तिम नाम सार्वजनिक गरिनेछ । प्रारम्भिक सूचीमा नाम प्रकाशित भएका नर्सलाई अन्तार्वार्ताका लागि डिसेम्बर ४ देखि ७ तारिखसम्म बोलाइएको छ ।

सरकारी संयन्त्रमार्फत बेलायतमा नर्स लैजानका लागि २२ अगस्ट २०२२ मा नेपाल र बेलायतबीच श्रम सम्झौता भएको थियो । नेपाल र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउने प्रक्रिया अगाडि बढाएको थियो । जसअनुसार २० जुलाईमा १०० जना नर्सको लागि अनलाइन आवेदन आह्वान गरिएकोमा ७१ जनामात्र अन्तर्वार्ताका लागि छनोट भएका हुन् ।

छनाैट भएकाहरू राेजगारदाताले लिने अन्तरवार्तामा सहभागी हुनेछन् । त्यसपछि पाइलट प्रोजेक्टको रुपमा उनीहरू बेलायत जाने छन् ।छनोट भएर गएका सहायक स्वास्थ्य हेरचाहकर्मीले मासिक ४ लाख नेपाली रुपैयाँसम्म पारिश्रमिक पाउने भएका छन् । बेलायतको कानुनअनुसार लाइसेन्स लिएपछि नेपाली नर्सले वार्षिक ४८ लाख रुपैयाँ (२७ हजारदेखि ३२ हजार पाउन्ड) सम्म तलब पाउने सुविधा छ ।

उक्त तलव सुविधाका लागि बेलायतको ‘नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल (एनएचएस)’ मा दर्ता हुनपर्ने अनिवार्य व्यवस्था छ । नेपालबाट भर्ना भएर जानेबित्तिकै भने यो सुविधा पाउनेछैनन् । सहायक स्वास्थ्यकर्मीको रुपमा छनोट भई बेलायतको नर्सिङ काउन्सिलबाट पास भएपछि मात्रै दर्तावाला (लाइसेन्स) नर्सको दर्जा पाइने श्रम मन्त्रालयले जनाएको छ । लाइसेन्स प्राप्त नर्सले तलबबाहेक एनएचएसको पेन्सन सुविधा पनि पाउनेछन् । त्यस्तै नर्स र आश्रित परिवारका सदस्यलाई सार्वजनिक स्वास्थ्य सेवामा पहुँच हुनुका साथै साथै नर्सका ४ देखि १८ वर्षसम्मका सन्तानका लागि निःशुल्क शिक्षासमेत उपलब्ध हुनेछ ।

दर्तावाला नर्सले सीप र क्षमताको आधारमा ३ वर्ष वा त्यो भन्दा बढी अवधि काम गर्न पाउनेछन् । सम्झौताअनुसार आईएलटीएस र ओईटी, भिसा र टिकटमा लाग्ने खर्चको रकम बेलायत सरकारले शोधभर्ना गर्नेछ । त्यस्तै बेलायतको एनएमसीमा दर्ता हुनका लागि लाग्ने खर्चको पनि शोधभर्ना हुनेछ । छनोट हुने नेपाली नर्सले वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क मात्र बेहोर्नुपर्नेछ ।

ब्रिटिस काउन्सिल नेपालले आईएलटीएसको पेपर परीक्षा विराटनगर, विर्तामोड, बुटवल, चितवन, काठमाडौं र पोखराबाट लिने व्यवस्था गरेको छ । आईएलटीएसको कम्प्युटर परीक्षा भने काठमाडौंबाट मात्रै दिन मिल्ने व्यवस्था छ । त्यस्तै ओईटीको पेपर परीक्षा भने युनिभर्सल ल्याङग्वेज एन्ड कम्युटर इन्स्टिच्युट, काठमाडौं र चितवन मेडिकल कलेज, भरतपुरमा हुनेछ । ओईटी कम्प्युटर परीक्षा भने फुलब्राइट कमिसन, काठमाडौंमा हुने व्यवस्था मिलाइएको छ । यसका लागि ३५ हजार रुपैयाँ लाग्नेछ । यो रकम छनोट भएर जानेको मात्रै शोधभर्ना हुन्छ ।