बैशाख १२, २०८१ बुधबार

सेलिब्रेटीहरुको नखराबाट हैरान भएकाे भन्दै मोडलिङमा एआई सुन्दरीको प्रवेश, मासिक १० हजार युरो आम्दानी



आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि पछिल्लो समयमा यति उपयोगी बनिरहेको छ कि यसले उद्योग व्यवसाय, मनोरञ्जन तथा आम दैनिकीमा समेत प्रभावशाली उपस्थिति जनाइरहेको छ ।

हुँदा हुँदा अब मोडलिङ क्षेत्रमा समेत एआई सुन्दरीहरुको प्रवेश भएको छ र त्यस्ता एआई मोडेलले लाखौं आम्दानी गर्न थालेका छन् ।

सुन्दैमा अनौठो लाग्ने यो समाचार स्पेनको हो । बार्सिलोनास्थित द क्लूलेस नामक कम्पनीले यो एआई मोडेल तयार गरेको हो ।

चर्चित स्पेनी मोडलिङ कम्पनीको रुपमा रहेको द क्लूलेसले बनाएको एआई मोडेलको नाम एटाना लोपेज हो । २५ वर्षकी एटलाना गुलाबी कपाल भएकी एक सुन्दर एआई युवती हुन् । सार्वजनिक भएसँगै एटानाले मोडलिङ उद्योगमा हलचल उत्पन्न गरेको छ।

रुबेन क्रुजले डिजाइन गरेको एआई मोडेल एटानाले मासिक १० हजार युरो अर्थात् करिब १५ लाख रुपैयाँ आम्दानी गरिरहेको युरोन्युजले जनाएको छ ।

एटानाको इन्स्टाग्राम अकाउन्टमा करिब डेढ लाख फलोअर्स छन् । सेलिब्रेटीहरुको नखराबाट हैरान भएका कारण यो एआई मोडेलको सहारा लिनु परेको कम्पनीको भनाइ छ ।

निर्माता क्रुजका अनुसार अहंकारले भरिएका तथा पैसाको लागि मरिहत्ते गर्ने मानिसहरुबाट आफूलाई टाढा राख्नु कम्पनीको लक्ष्य हो ।

हृालसम्म एटानाको इन्स्टाग्राम फिडमा ५६ वटा तस्वीर छन् । ती तस्वीरमा ककटेल पार्टी, जिम आदिका रहेका छन् ।

कम्पनीले उक्त एआई मोडेललाई विज्ञापनमा प्रयोग गर्ने गरेको छ र एउटा विज्ञापनमा अभिनय गरेबापत उसले औसतमा १ हजार युरो पारिश्रमिक लिने गर्दछ ।

रिपोर्टअनुसार यस्तो खालका एआई मोडेलको माग बजारमा तीव्र रुपमा बढिरहेको छ । एटानाजस्तै एमिली पेलेग्रेनी नामक एआई मोडेलका पनि इन्स्टाग्राममा लाखौं फलोअर्स छन् ।