बैशाख १८, २०८१ मंगलबार

नेपालकै ठूलो बैंक बन्यो ग्लोबल आइएमई, विश्वका उत्कृष्ट बैंकको सूचीमा पार्ने अध्यक्ष ढकालको घोषण



काठमाडौं । ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ। विभिन्न २१ बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गरेर चुक्ता पुँजीमा नेपालकै पहिलो बैंक बनेको ग्लोबल आइएमई निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बनेको हो।

हाल चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रहेको बैंकको कात्तिकसम्म निक्षेप संकलन ४ खर्ब ५३ अर्ब छ र कर्जा लगानी ३ खर्ब ७५ अर्ब रूपैयाँ छ।

सन् २००७ मा ग्लोबल बैंक लिमिटेडको रुपमा स्थापित बैंकले सन् २०१२ मा ‘ग’ वर्गको आइएमई फाइनान्सलाई प्राप्ति गरेपछि ‘ग्लोबल आइएमई बैंक’ बनेको थियो।

वाणिज्य बैंकहरूमा यसले सन् २०१४ मा कमर्स एण्ड ट्रष्ट बैंक, २०१९ मा जनता बैंक र २०२३ जनवरीमा बैंक अफ काठमाण्डूसँग मर्जर गरेको छ।

सन् २०१३ सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंकसँग एक्वायर गरेको यस बैंकले २०१५–१६ मा आएर थप दुई विकास बैंकहरू प्यासेफिक डेभलपमेन्ट बैंक र रिलायबल डेभपलमेन्टलाई प्राप्ति गरेको थियो।

ग्लोबल आइएमई बैंकले सन् २०१२ मा आइएमई फाइनान्स कम्पनी र लर्ड बुद्ध फाइनान्स कम्पनी साथै सन् २०१९ मा हाथवे फाइनान्स कम्पनीलाई एक्वायर गरेको थियो।

नेपालको पहिलो बैंक बनेको ग्लोबल आइएमइ बैंकलाई विश्वका ठूला र उत्कृष्ट बैंकको सूचीमा पार्ने सपना बैंक अध्यक्ष चन्द्र ढकालको छ।

ढकाल भन्छन्, ुमैले ग्लोबल आइएमई बैंकलाई विश्वका हजार बैंकहरूमध्ये एक बैंक बनाउने भन्ने इच्छा राखेको छ।

यो खास ठूलो कुरा होइन। पुँजीको आकारको हिसाबले वास्तवमा एक दुई वर्ष हामीले नगद लाभांश नलिने हो भने हामी पुर्‍याइहाल्छौं।ु

निरन्तर लाभांश
चुक्ता पुँजीको आधारमा सबैभन्दा अब्बल बनेको यस बैंकले लगानीकर्तालाई निरन्तर लभांश दिँदै आएको छ। १२ वर्षयता बैंकले औसत १७ प्रतिशत लाभांश दिएको छ।

गत आर्थिक वर्षको मुनाफाबाट बैंकले सेयरधनीहरूलाई ९ प्रतिशत लाभांश वितरण गरेको छ। बैंकले यस वर्ष १ प्रतिशत बोनस र कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकले १२ वर्षको अवधिमा सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५–७६ मा बाँडेको थियो।

सो वर्ष बैंकले आफ्ना लगानीकर्तालाई २५।५० प्रतिशत लाभांश बाँडेको थियो।

आर्थिक वर्ष २०७५–७६ मा बैंकले १२।७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो।

बैंकले आर्थिक वर्ष २०६८/७९ मा बोनस र नगद गरी १३ प्रतिशत लाभांश वितरण गरेको थियो। बैंकले यस वर्ष ३ प्रतिशत बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिएको थियो।

त्यसैगरी आर्थिक वर्ष २०६९/७० मा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिएको थियो। आर्थिक वर्ष २०७०–७१ मा पनि आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो। यस आर्थिक वर्ष बैंकले २१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गरेको हो।

बैंकले आर्थिक वर्ष २०७१/७२ मा लगानीकर्तालाई बोनस सेयर मात्र वितरण गरेको थियो। यस आर्थिक वर्षमा बैंकले आफ्ना लगानीकर्तालाई २३ प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०७२/७३ मा बैंकले १६ प्रतिशत बोनस सेयर मात्रै दिएको थियो।

बैंकले आर्थिक वर्ष २०७३/७४ मा लगानीकर्तालाई नगद र बोनस गरी २० प्रतिशत लाभांश वितरण गरेको थियो। यस वर्ष बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

बैंकले आर्थिक वर्ष २०७४/७५ मा पनि लगानीकर्तालाई १६ प्रतिशतको दरले लाभांश वितरण गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २ प्रतिशत नगद लाभांश वितरण गरेको हो।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। यस वर्ष बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर, कर प्रयोजनसहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो।

त्यसैगरी बैंकले आर्थिक २०७८/७९ मा ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिएको थियो।

लगानीकर्तालाई सधै लाभांश दिएको यो बैंक सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको पनि अग्रस्थानमा छ। आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रूपैयाँ कर तिरेर नेपाल सरकारबाट सबैभन्दा बढी कर दाखिला गर्नेमा सम्मानित भइसकेको छ।

सबैका लागि बैंक भन्ने नारालाई आत्मसात गरेको यो बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृष्ट, सबल र विश्वसनीय बैंकको रुपमा स्थापित गरिसकेको छ।

हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ३ सय ५१ शाखा, ३ सय ७६ एटिएम, ३ सय २२ शाखारहित बैंकिङ इकाइ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको न्यूदिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीनवटा वैदेशिक सम्पर्क कार्यालयमार्फत् समेत बैंकिङ सेवा दिइरहेको छ।