बैशाख १२, २०८१ बुधबार

चितवन उद्योग वाणिज्य संघमा ६४ वर्षमा पहिलो पटक महिला पदाधिकारीको उम्मेदवारी



चितवन । स्थापनाको ६४ वर्षमा चितवन उद्योग वाणिज्य संघमा पहिलोपटक महिला पदाधिकारीको लागि उम्मेदवारी परेको छ । २०१६ सालमा स्थापना भएपनि अहिलेसम्म पदाधिकारी तहमा महिला नपुगको संघमा पहिलोपटक उपाध्यक्ष पदमा महिलाको उम्मेदवारी परेको हो ।

संघमा २ हजार ९ सय ७४ जना सदस्य छन् । जसमा मतदान गर्न पाउने महिलाको संख्या मात्रै करिब ६ सयको हाराहारीमा छ । संघमा ४ उपाध्यक्ष र १ अध्यक्ष गरि ५ जना पदाधिकारी हुने व्यवस्था भएपनि महिला वा समावेशी समूह नभएको कारण कहिल्यै महिला पदाधिकारी तहमा पुग्न नसकेको भन्दै पहिलोपटक वाणिज्य तर्फको उपाध्यक्ष पदमा रजनी मास्केले उम्मेदवारी दिएकी हुन् ।

यसअघि ६ पटकसम्म संस्थापन पक्ष बनेर कार्यसमितिको सदस्य पद सम्हालेकी मास्केले बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरि आफूले उपाध्यक्ष पदको दाबी गर्दा स्वतन्त्र उम्मेदवारी दिनुपर्ने अवस्था आएको बताइन् ।

‘तपाईँ हामीलाई चाहिने मान्छे हो, तर सदस्य पदमा बस्नुस् भन्छन्, मास्केले भनिन्, ‘म ६ कार्यकालभन्दा बढी सदस्यमा बस्नुभन्दा कुनै समूहमा नपरेपनि आफ्नो क्षमताका कारण नै उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताइन् ।’

कुल २५ जनाको लागि हुने निर्वाचनमा अध्यक्ष पदका लागि दुई, वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदमा दुईरदुई जनाको उम्मेदवारी परेको छ । कार्यसमितिमा महिलाको एक पदका लागि दुई जना महिला सहित कुल उम्मेदवार महिला भने ५ जनाले उम्मेदवारी दिएका छन् । तर, पाँचै जना भने निर्वाचित हुने अवस्था रहँदैन । संघको विधान अनुसार उम्मेदवार दिएकामध्ये पनि महिला चार जना मात्रै निर्वाचित हुन्छन् ।

मास्के चितवनमा पुस्तक व्यवसाय सुरु गर्ने परिवारकी सदस्य हुन् । तत्कालिन व्यापार संघ नारायणगढ सुरु हुँदा मास्केको ससुराले दिलमाया पुस्तक भण्डार नारयाणगढमा सुरु भएको हो ।

पारिवार छुट्टभिन्न भएसँगै २०४५ सालदेखि मास्के पुस्तक भण्डार नाम दिएर रजनी र उनका परिवारले नयाँ पुस्तक पसल सुरु गरे । त्यसपछि उनले व्यवसायको विस्तारको क्रममा सरोजनी बुक हाउस पनि सञ्चालन गरिसकेकी छिन् ।

मास्के उद्योग वाणिज्य संघ चितवनमा भने २०६८ सालयता आवद्ध भएकी हुन् । त्यसयता निरन्तर कार्यसमिति सदस्य बनेकी उनकै पहलमा गाउँ गाउँमा महिलाले उत्पादन गरेका मास, पिँडालु, लसुन लगायतका उत्पादनलाई उपभोक्तासम्म पुर्याउनको लागि उद्योग वाणिज्य संघ परिसरमा नै कोसेली घर सञ्चालन गरिएको छ । उनले आफ्नै अगुवाइमा महिला उद्यमी मेला लगायतका व्यवसाय प्रवद्र्धनको काम पनि गर्दै आएकी छिन् ।