बैशाख १६, २०८१ आईतबार

बालविवाह गर्ने दुलाहा र पण्डित मण्डपबाटै पक्राउ



दाङ । दाङ प्रहरीले तुलसीपुरमा बालविवाह गर्ने दुलाहा र पण्डितलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर ८ कटकुइया निवासी २९ वर्षीय दुलाहा डाक्टर केसी र सोही ठाउँका ५७ वर्षीय पण्डित तारा प्रसाद देवकोेटा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले दिएको जानकारी अनुसार डा। केसी र तुलसीपुर ५ रानीजरुवा निवासी १४ वर्षीया बालिकाबीच बालविवाह भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले विवाह गरिहेकै अवस्थामा घरबाटै दिउँसो ३ बजेको समयमा पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जनालाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरी तुलसीपुरको हिरासतमा राखेर आवश्यक अुनसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।