बैशाख १९, २०८१ बुधबार

युद्धमा श्रीमान गुमाएकी मनरुपा : साँसद बन्ने १६ वर्षदेखिकाे सपना पूरा हुँदै



काठमाडौं । युद्धमा मुश्किलले आफू बाँचेर श्रीमान गुमाएकी मनरुपा शर्मा (विमला) शान्ति प्रकृयापछि सबै चुनावमा उम्मेदवार थिइन् ।
पहिलो संविधानसभा निर्वाचन २०६४ मा प्रत्यक्ष र त्यसपछिका चुनावमा समाुनपातिकमा सिफारिस भएकी उनी साँसद बन्न भने सकिनन् ।

१६ वर्षअघि पर्वतबाट प्रत्यक्षको उम्मेदवार बनेर जम्मा १२०० मतले पराजित भएकी उनी त्यसपछिका ४ वटा चुनावमा समानुपातिकको बन्द सूचीमा सिफारिस भएपनि परिनन् । पाँचौ पटकमा मनरुपा उपल्लो सदन राष्ट्रिय सभा छिर्ने दाउमा छिन् ।

११ माघमा हुने राष्ट्रिय सभा चुनावमा ६ जना उम्मेदवार उठाउन लागेको माओवादीले गण्डकीमा मनरुपालाई अघि सारेको छ । अब उनले सोमबार गण्डकी प्रदेशबाट महिला क्लस्टरमा राष्ट्रियसभा सदस्य चुनावका लागि उम्मेदवारी दर्ता गर्नेछिन् ।

सत्ता गठबन्धनमा रहेका दलहरु मिलेर चुनावमा जाने भएकाले अंकगणित उनकै पक्षमा छ । ‘राजनीति गर्नेले पर्खिन सक्नुपर्छ भन्छन्, हो रहेछ । चुनाव हारें भनेर बसेको भए वा निराश भएको भए मैले पालो पाउँदिनथें’ मनरुपाले भनिन्, ‘म त अनवरत पार्टीकै काममा लागिरहेँ । अहिले त राष्ट्रिय सभामा छिर्ने पक्काजस्तै छ ।’

अहिले सत्ता गठबन्धन दलबाट गण्डकीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको उपस्थिति छ । यसरी मिलेर राष्ट्रिय सभाको चुनावमा मतदान हुँदा नेपाली कांग्रेसको २ हजार ७०४, नेकपा माओवादीको ९९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ गरी ३ हजार ८२७ मतभार गठबन्धनको पक्षमा आउने छ ।

एमाले र राप्रपा मिलेर चुनावमा जाँदा पनि गठबन्धनसामु निकै कम मतभार उसको हुने देखिएको छ । एमालेको २ हजार ४३९ र राप्रपाको १०६ जोड्दा उनीहरुको पक्षमा २ हजार ५४५ मतभार हुने छ । यसरी हेर्दा मनरुपाको गण्डकीबाट राष्ट्रिय सभा छिर्ने धोको पूरा हुने बाटोमा छ ।

कुश्मा नगरपालिका–१० सिमखेतकी मनरुपा १९ वर्षको उमेरदेखि माओवादी सशत्र संघर्षमा होमिएकी हुन् ।

युद्धकालमै पर्वत फलेवास मुडिकुवाका विजय सुवेदी (विकास) सँग विवाह भयो । विवाहको ३ वर्षमै १७ मंसिर २०६१ का दिन स्याङ्जाको वालिङ सिर्सीकोट भन्ने ठाउँमा बास बसेर खाना खाने क्रममा सेनाले घेरा हाल्यो, ५ जना मारिए । त्यसमा मनरुपाका श्रीमान विजय सुवेदी पनि परे ।

श्रीमान गुमाउँदा पीडा भुलेर परिवर्तनको सपना बोकेर युद्धमै हिँडेकी मनरुपाको २०६२ सालको सुरुआततिरै स्याङ्जाको मग्याम चिसापानीमा नेपाली सेनासँग जम्काभेट भयो ।

सेनाले उनीसँगै रहेकी ‘कमला’ लाई माओवादीको शंकामा समाइहाल्यो । मनरुपा भने गाउँलेजस्तो गरी लुसुक्क हिँडिन् । ‘सेनाले उनलाई मारिहालेछ । म बालबाल फुत्किन सफल भएँ’, मनरुपाले सुनाइन्, ‘त्योभन्दा अघि बेनी भिडन्तमा पनि लडाकुलाई ऊर्जा भर्न खटिएकी थिएँ ।’

मनरुपाले पार्टी संगठन निर्माणकै सिलसिलामा पर्वत, स्याङ्जा, गुल्मी, कास्कीलगायतका ठाउँमा काम गरिन् । अहिले उनी माओवादी गण्डकी प्रदेश सचिवालय सदस्य छिन् । सत्ता गठबन्धनबाट चुनावमा जाँदा जित पक्काजस्तै भएकाले राष्ट्रिय सभामा छिरेपछि महिला, दलितका पक्षमा समानताका पक्षमा काम गर्ने बताइन् ।