फाल्गुन १५, २०८० मंगलबार

बुहारी हुनु त यस्ताे : डिभोर्सपछि सासुआमाकाे स्याहारमा खेल प्रशिक्षक, माेडल तिलु राना



काठमाडौं । अहिले आफ्नै बुवाआमालाई छोराछोरीले हेरचाह नै नगरेर वृद्ध आश्रममा राखेका धेरै समाचार आउँछन् । सासुबुहारी नमिलेर छुट्टाछुट्टै बसेको कुरा त हाम्रो समाजमा सामान्य जस्तै छ । तर एक महिलाले श्रीमानसँग डिभोर्स पछि पनि सासु आमालाई आफैले राखेर स्याहार सुसार गरेर उदाहरणीय काम गरेकी छन् । उनी हुन खेल प्रशिक्षक तिलकुमारी गलामी अर्थात् तिलु राना ।

चारजना छोराछोरीकी आमा रानाले श्रीमानसँगको डिभोर्सपछि पनि सासुलाई आफूसँगै राखेर समाजमा उदाहरणीय काम गरेकी छन् । सासुलाई पाल्नुपर्ने दायित्व आफ्नोपनि पनि भएकोले डिभोर्स पछि पनि सँगै राखेर स्याहार गरेको उनको भनाई छ।

उनी भन्छिन्,- ‘मलाई मेरो सासू आमाको जिम्मेवारी कसैले दिएको होइन तर पनि सासूआमाका ३ जना छोरी र १ जना छोरामात्र हो । छोरीहरू बिहे गरेर आ–आफ्नो घरमा गइसक्नु भएको छ। अब आमालाई यता न उताको बनाएर राख्ने कुरा पनि भएन । फेरि मेरो बच्चाहरू आमाको पनि नातिनातिना हुन् । मानसिक रूपमा आमा समस्यामा हुनुहुन्छ । होस पाउनुहुन्न, केही गर्ने वा कतै हिँड्ने गर्नुहुन्छ । मैले ससुरा बालाई पनि सँगै बसुम् भनेकी थिएँ तर उहाँ काठमाडौँमा बस्न नसकेर बुटवल आफ्नै घर फर्कनु भयो ।’

अहिले धेरै बुहारीहरु सासुससुरा पाल्न मन नलागेपछि आफूले जागिर गर्नुपर्ने, व्यवसाय गर्नुपर्ने वा अन्य कुनै कामले नभ्याउने बाध्यता देखाउँछन् । तर राना अहिलेका बुहारीहरु भन्दा १० औं गुणा व्यस्त छिन् । स्पोर्ट ट्रेनर, बक्सर, एमएमए, योगा, जुम्बा, एरोविक्सआदि क्षेत्रमा प्रशिक्षक समेत रहेकी उनी बागबाजरमा फिटनेस सेन्टर सञ्चालन गरेकी व्यवसायी हुन् । मूख्य रूपमा कराँतेका अन्तराष्ट्रिय प्रतियोगिताहरूमा गोल मेडलिष्ट उनी कराँते संघकी सदस्य समेत हुन्। अहिले मिस एण्ड मिसेस युनिभर्सल अफ २०२३’ मा सेकेन्ड रनरअप हुँदै टाइटल विनरको अवार्ड हात पारेर त्यस क्षेत्रमा चिनीएकी उनी उनी मोडलिङको क्षेत्रमा समेत सक्रिय छिन् ।

यति धेरै काम र जिम्मेवारी हुँदा हुँदै छोराछोरी र सासुआमाको स्याहार समेत एक्लैले भ्याएकोमा उनी गर्व गर्छिन् । ३ जना छोरी १ जना छोरा मध्ये ठुली छोरी इन्जिनियरिङ पढिरहेकी उनी परिवार र करियर दुवै सहजताका साथ चलिरहेको बताउँछिन् । तर पनि जीवन संघर्षकै मैदान रहेको उनको भनाई छ ।

‘एकदम गाह्रो हुन्छ। घर सम्हाल्दा अफिस छुट्ने डर, अफिस सम्हाल्दा घर छुट्ने डर । ठुली छोरी १९वर्षको भइन्, उनले पनि सहयोग गरेको भएर अलि सहज भएको छ‍’, उनले भनिन्, ‘धेरै मिलाउनु पर्छ । धेरै कुरा जीवनमा भोग्नु पर्ने रहेछ । अनि संघर्ष त हरेकको जिन्दगीमा हुन्छ पनि । आज आएर धेरै संघर्ष गर्नुपरेको छ भनेर पनि भन्दिन किनकि जीवन भोगाइ नै त रहेछ ।’

पछिल्लो समय आफ्नै बुवाआमालाई वृद्ध आश्रममा राख्नेहरुप्रति उनको कुनै आरोप छैन तर सासुको सेवा गर्नु भगवानको सेवा गर्नुजस्तै रहेको उनको भनाई छ । ‘वृद्धाश्रम राख्नु उहाँहरूको पनि आफ्नै बाध्यता होला । तर आफू हुँदाहुँदै पनि वृद्धा आश्रममा राख्नु राम्रो होइन । वृद्धवृद्धाहरुलाई सेवा गर्न पाउनु भनेको त सौभाग्य प्राप्त गर्नु हो,’ उनी भन्छिन्, ‘धेरै कठिन हुन्छ होला, अफिस बालबच्चा सबै हेर्नु पर्दा झनै गाह्रो हुन्छ नै । तर, आफूमाथिको जिम्मेवारी त निर्वाह गर्नै पर्छ । बिहान बेलुका आफूले जे खाइन्छ त्यही दिने न हो । उहाँहरूलाई सँगै राखेर सेवा गर्नु भनेको भगवान्को सेवा गर्नु जस्तै त हो ।’

उनले यदि कोही कसैले आफ्ना बाबा आमालाई वृद्ध आश्रम छाडेका छन् भने पनि उहाँहरूलाई बावाआमासँगै राख्न आग्रह समेत गर्छिन् । ‘एउटै घरमा बस्ने भएपछि झगडा हुनु सामान्य हो । मनमुटाब हुनु सामान्य हो तर मनबाट सेवा गर्नु आग्रह गर्छु,’ उनले भनिन् ।

भारतमा जन्मेकी उनी शुरुमा बक्सिङ खेलाडी हुन् । बुबा भारतीय आर्मी र उहाँ बक्सिङ खेलाडी भएको कारण बुबाकै प्रेरणा पाएर नै म बक्सिङमा लागेकी हुन् । तर रफ गेम भएको हुनाले र भारतमा खासै केटी मान्छेले बक्सिङ खेलेको कदर नहुने हुनाले पनि त्यसलाई निरन्तरता दिन सकिनन् । पछि नेपाल आएर म १९९४ देखि कराँतेमा प्रवेश गरेको उनी बतउँछिन् ।

घरमा आमाबुबामात्र होइन समाजले पनि महिलाका लागि खेलकुदमा बन्देज जस्तै रहेको त्यो बेला बच्चा जन्माउने छोरी मान्छेलगायतका कुराले पनि छेकथुन हुने गरेको उनको सम्झना छ । ‘तर त्यो बेला हामी दुई बहिनी मात्र थियौँ र बाबाले मलाई मेरो छोरा नै यही हो भनेर हिम्मत दिनुहुन्थ्यो । जसका कारण आज म यहाँ छु ‘ रानाले भनिन्,  ‘बाबाले दिनुभएको हिम्मत र आँटले नै म यहाँ आइपुगेकी हुँ । त्यो समय महिलाहरूलाई देश विदेश गएर खेल्ने अनुमति चाहिँ थिएन ।’

छैटौँ अन्तर्राष्ट्रिय कराँतेमा म एक्लैले ३ वटा गोल्ड मेडल र १ सिल्भर मेडल जितेकी उनी आज रेफ्री र निर्णायकमा समेत काम गरिरहेकी छन् । एमएमए अर्थात् मिक्सिङ मार्सल आर्टमा रहेर चाहिँ ट्रेनरको रूपमा २ वर्ष दुबईमा काम गरेकी उनी ४१ वर्षको उमेरमा आइपुग्दा पनि खेलाडीकै रूपमा चिनिन मनलाग्ने बताउँछिन् । ‘तर त्यो सम्भव त छैन तर पनि अरूले खेलेको देख्दा खेल्न मनलाग्छ । बाँकी योगा, जुम्बा तथा फिटनेसका सबै विषयमा चाहिँ मैले लामो समयसँग सिकेर अभ्यास गरेर सीप सिकेकी हुँ । जुन कुरा मेरो जीवनमा आवश्यक थिए’, उनले भनिन् ।

उनका श्रीमान कराँतेको ‘चिफ इन्स्ट्रक्टर’ हुन् । कराँतेमा अन्य विभिन्न संघ संस्था पछि आर्थिक रूपले धेरै गाह्रो भयो। उनको कराँतेमा करियर बनाउनकै लागि उहाँले ठुलो रकम खर्च गर्नु गरेको र गाउँबाट काठमाडौँमा संघर्ष गर्दा श्रीमानले १ बिघा २ कट्ठा खेत नै बेच्नु परेको उनी बताउँछिन्। त्यो सब मेरा लागि पनि थियो । तर पनि सम्बन्ध विच्छेद भयो ।

त्यसमा २/३ वटा कारण रहेको उनको भनाई छ । र सन् २०१८ पछि श्रीमानसँग विदेश जानेकी भन्ने सल्लाह हुँदा श्रीमानले नमानेकोले बच्चाबच्ची छाडेर नै विदेश जाने निर्णय गरेकी थिइन् । बच्चा जन्मिएपछि र परिवार बढेपछि मनमुटाब बढ्दै गएको उनको भनाई छ । अर्कातर्फ मेरो सम्बन्ध चिसिनुमा जापाना गोजुरियो केनवाकाई कराँते नेपाल स्थापनामा ठुलो खर्च लागेर पनि थियो त्याे पनि मनमुटावकाे कारण बन्याे ।

‘यसमा मैले छुटाउन नहुने चाहिँ म विवाहपछि एक दमै मोटी थिएँ । झण्डै १ सय ४ केजीकी थिएँ । जसले गर्दा श्रीमानले मेरो मोटोपन रुचाउनु भएन । सायद उहाँलाई दुब्ली केटीमा मन गयो कि, यसले पनि मेरो सम्बन्ध विच्छेदमा भूमिका निर्वाह गरेको थियो,’ उनी भन्छिन् । तर  मोटोपना घटाउनु पर्छ भनेर बदलाको भावले पनि मैले आफूलाई फिट राख्न फिटनेसको क्षेत्र रोजिन् र १०४ केजीबाट घटेर ५३ केजी तौलमा छिन् । फिटनेसकै कारण आफू मिस एण्ड मिसेस युनिभर्सल अफ २०२३’ मा सेकेन्ड रनरअप हुँदै टाइटल विनरको अवार्ड हात पारिन् ।

आफू व्यवसायी हुनुमा श्रीमानको प्रेरणा रहेको उनको भनाई छ । ‘मलाई मेरो श्रीमानले कहिल्यै पनि अरूको जागिर गरेर बाँच्नु पर्छ भनेर सिकाउनु भएन। उहाँको बानी पनि राजा जस्तो बसेर सौखिन हिसाबले खानुरबस्नु पर्छ भन्ने थियो । यसको अर्थ स्वाभिमानमा बाँच्नु पर्छ भनेर सिकाएकाले विदेश बसेर आएपछि फिटनेस सेन्टर खोलेर गरिखाने आधार तयार गरेकी हुँ’, उनले भनिन्,  ‘यो एक तरिकाले व्यवसाय नै भए पनि खेलकुद क्षेत्रसँग नै आधारित भएर पनि साथीहरूसँग र बैंकमा ऋण लिएर फिटनेस चलाएकी हुँ ।’

अहिले श्रीमानले फेरी घरबार सुरु गर्न प्रस्ताव राखेकाे तर मिलन चाहिँ सम्भव नभएकाे उनकाे भनाइ छ । ‘उहाँ त मिल्छ भने फेरी हाम्रो घरबार सुरु गरौँ भन्नु हुन्छ । तर म दुब्लो पातलो राम्री भएर मात्र होइन भोगाइले पनि मेरो आवश्यकता महसुस गर्नु भएको हुनसक्छ । उहाँले गरेका पुराना गल्तीका बारेमा पश्चात् भयो होला। तर, बच्चाहरूका लागि बोले पनि पुनः हाम्रो मिलन चाहिँ सम्भव छैन,’ राना भन्छिन् ।