बैशाख ८, २०८१ शनिबार

स्वास्थ्यचाैकीमा अक्सिजन भएन, हेलिकप्टर कुर्दाकुर्दै १३ दिने सुत्केरीको मृत्यु



हुम्ला । हुम्लाकी १३ दिने सुत्केरीको बाजुराको कोल्टीमा मृत्यु भएको छ । ताँजाकोट–५ डोप्ककी २३ वर्षीया अन्शु बुढाको बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको हो ।

पुस १२ गते स्थानीय मदना स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिएकी अन्सुको हेलिकप्टर कुर्दाकुर्दै मृत्यु भएको उनका दाजु कर्णबहादुर बुढाले जानकारी दिए।

१२ दिनसम्म स्वास्थ्य अबस्था ठीकै रहेकी अन्सुले सोमबार बिहान अचानक गाह्रो भएर छिटोछिटो सास फेर्न थालेपछि स्वास्थ्यचौकी लगिएको थियो ।
‘हिजो बिहान नुवाइधुवाइ गर्छु भनेर पधेँरामा गएकी रहिछन्। नुहाएर फर्किएपछि सासूआमालाई टाउको दुख्यो, रिँगटा लाग्यो भनेकी रहिछन्,’ कर्णले भने, ‘रक्तस्राव भएर पनि त्यस्तो भएको हुनसक्छ। आमाले तातो बनाएर पनि खान दिनुभएछ।’

पेटमा तातो परेपछि अन्शुलाई झन् गाह्रो भएको कर्णले बताए। त्यसपछि उनको स्वास फुल्न थालेको र हतारहतार गाडी खोज्नतिर लागेको कर्णले बताए। त्यसो त उनलाई गाउँकै स्वास्थ्य केन्द्रमा पनि देखाइएको थियो। त्यहाँका स्वास्थ्यकर्मीले अन्यत्र लैजान सुझाए ।

अन्शुको घर सदरमुकामबाट ४६ कोस टाढा पर्छ। दुर्गम ठाउँमा भनेको बेला गाडी पनि नपाएपछि तीनघण्टा लगाएर बाजुराको कोल्टी पुर्‍याएको कर्णले बताए।

‘बल्लबल्ल गाडी भेट्टाएर कोल्टी लिएर गयौं। त्यहाँबाट हेलिकप्टर, जहाज जे भेटिन्छ त्यसैमा उपचार गर्न लैजाने सोचेका थियौं,’ उनले भने, ‘भर्खर खोलेको ट्र्याकमा धेरै कठिनले उनलाई कोल्टी पुर्‍यायौं। गाउँमा एम्बुलेन्स थिएन। गाडीमा अक्सिजनको व्यवस्था हुने कुरा भएन ।’

कोल्टीको स्वास्थ्य केन्द्रमा पनि अक्सिजन नभएपछि हेलिकप्टर, जहाज नआएपछि मृत्यु भएको उनले बताए ।
हेलिकप्टर, जहाज आउने छाँट नदेखिएपछि एम्बुलेन्सबाट थप उपचारका लागि जिल्ला अस्पताल मार्तडी लैजाने तयारी गरेको र तर सुत्केरीलाई निकै गाह्रो भइसकेको उनले बताए।

‘त्यहाँ गाउँपालिकाको एम्बुलेन्स पनि तयारी हालतमा नै रहेछ तर त्यसमा पनि अक्सिजन रहेनछ। मार्तडीस्थित जिल्ला अस्पताल लैजाने अवस्था भएन,’ उनले भने, ‘छटपटाउँदा छटपाउँदै बहिनीको ज्यान गयो।’

अन्शुको सोमबार राति दस बजे मृत्यु भएको र अहिले घर ल्याएर दाहसंस्कार गरिएको उनले बताए।

‘आमाको ज्यान त गयो, १३ दिने शिशुलाई कसरी बचाउने पीर छ । दुर्गम क्षेत्र भएकाले यस्तो विपत्ति आइलाग्यो, हामी त निकै पीडामा छौं। ज्वाइँ झन् सम्हालिनै सक्नुभएको छैन,’ कर्णले भने।

वडाध्यक्ष मंगल नेपालीले पनि भौगोलिक विषमताले १३ दिने सुत्केरीले ज्यान गुमाउनुपरेको बताए।

‘सबैतिर बाटो पुगेको छैन। बाटो पुगे पनि यातायातका साधन चल्न मुस्किल छ। सुत्केरी र गम्भीर अवस्थामा पुगिसकेकी उनलाई समयमै स्वास्थ्य संस्थामा पुर्‍याउन सकिएन। दुःखद् घटना भयो,’ उनले भने। तीन वर्षे वनस्पति विज्ञान पढेकी उनको गत वर्ष मात्रै विवाह भएको थियो।