बैशाख २४, २०८१ सोमबार

महानगरकै मेयर नक्कली बुबा बनेर अर्कैकी छोरीलाई नागरिकता दिलाएकाे भन्दै उजुरी



जनकपुरधाम ‌। नक्कली बुबा बनेर अर्कैकी छोरीलाई नागरिकता दिलाएको आरोपमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध उजुरी परेको छ ।

मेयर सिंहविरुद्ध उनकै छिमेकी वडा नम्बर ३ का महमद सहाबुदिनले मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका हुन् । उनले मेयर सिंहकी पत्नी अन्नपूर्णा मानन्धरलाई पनि विपक्षी बनाएका छन् ।

मेयर सिंह र उनका पत्नी मानन्धरको एकमात्र छोरा ३० वर्षीय अनिशमान सिंह रहेपनि रुविना श्रेष्ठ नामकी छोरी हो भन्दै नागरिकता बनाइदिएका हुन् । यो कुरा बाहिरिएपछि मेयर सिंह र उनका पत्नी मानन्धरलाई समेत विपक्षी बनाएर छिमेकी सहाबुदिनले उजुरी दिएका छन् ।

मेयर सिंहले झुठो विवरण पेश गरी रुविना श्रेष्ठलाई छोरी बनाएर २०७१ असोज २० मा वडा नम्बर ३ बाट जन्मदर्ता र २०७५ साउन १३ मा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएको उजुरीमा दावि गरिएको छ ।

रुविनाको जन्ममिती २०५९ असार ३० राखिएको छ । जन्म भएको १२ वर्षपछि जन्मदर्ता बनाएकाले पनि नक्कली रहेको उजुरीकर्ता सहाबुदिनको दावि छ । उनले भनेका छन्, ‘झुठो विवरणका आधारमा बनाएको जन्मदर्ताको रेकर्ड वडा नम्वर ३ को कार्यालयमा माग्दा वडाध्यक्ष र सचिवले रेकर्ड हराईसकेको भन्ने गर्छन् ।’

रुविनाको ३४– ०१–७५–०४८४७ नम्बरको नागरिकता जारी गर्दा मेयर सिंह बुबाको रुपमा सनाखत गरेको पनि दावी गरिएको छ ।

‘रुविनाको जन्म काठमाडौंमा नाम थाहा नभएको भट्टराई थरका आमा–बुवाबाट भएको छ’, उजुरीकर्ता सहाबुदिनको दाबी छ, ‘मेयर सिंह थरका छन् । उनका पत्नी मानन्धर थरका र छोरा सिंह थरका । तर छोरी कसरी श्रेष्ठ थरको भयो रु यसले पनि नक्कली बुवा बनेको देखिन्छ ।’

नागरिकता सनाखत गर्ने व्यक्तिको नाउँमा राजेशमान सिंह र निजको नागरिकता नम्वर ३४– १६०३१८८१७ उल्लेख छ । अर्को महत्वपुर्ण कुरा के छ भने रुविनाको नागरिकतामा आमाको नाउँ उल्लेख छैन । त्यसबाट पनि झुटो विवरण पेश गरी नागरिकता बनाउन लगाएको सजिलै अनुमान गर्न सकिन्छ– उजुरीमा उल्लेख छ ।

नागरिकता लिएको चार वर्षपछि २०७९ साउन २४ मा रुविनाले जिल्ला प्रशासन कार्यालयबाट पासपोर्ट बनाएकी थिइन् । उनको पासपोर्ट नम्बर ११०३९६१७ छ । स्रोतका अनुसार उनी विदेशमा छिन् ।

उजुरीमा सहाबुदिनले आवश्यक छानविन गरी नक्कली बुबा बनेका मेयर सिंहलाई कानून बमोजिम हदैसम्मको कारबाही र जारी भएको नक्कली नागरिकता र राहदानी खारेज गर्नुपर्ने माग गरेका छन् ।

मेयर सिंहले रुविना छोरी हो होइन अहिले केहि भन्न नसकिने बताए । उनले आफू वकिलसँग सल्लाह गरेको र कानूनी उपचार खोज्ने बताए । उनले भने, ‘फोनमै सबैकुरा नगरौं । दूधको दूध र पानीको पानी छिट्टै थाहा पाइहाल्नुहुन्छ ।