बैशाख २५, २०८१ मंगलबार

कर्मचारीको स्वार्थका कारण युरोपियन युनियनको नेपालमाथिको हवाई प्रतिबन्ध खुलेन : अध्यक्ष तिमिल्सिना



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कर्मचारीको स्वार्थका कारण युरोपिएन युनियनले नेपाल माथि लगाएको हवाई प्रतिबन्ध खुल्ला हुन नसकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले केही कर्मचारी र पार्टीको स्वार्थका कारण नागरिक उड्डयन ऐन अघि बढ्न नसकेको र जसका कारण हवाई प्रतिबन्ध खुल्ला हुन नसकेको बताएका हुन् ।

नागरिक उड्डयनको नियमक र सेवाप्रदायक छुट्टै बनाउने कानूनमा कर्मचारीले विरोध गर्दा तत्कालिन अवस्थामा मन्त्री र प्रधानमन्त्री कानून ल्याउनबाट पछि हटेको उनले तर्क गरे ।

उनले अहिले पनि यसअघिको नागरिक उड्डयन ऐनलाई अघि बढाउन सके दुईहप्तामा पास हुन सक्ने धारणा राखे । आफूहरुले युरोपिएन युनियनका पदाधिकारीसंग यस बिषयमा कुरा राखेपनि मुलुकमा भने सरोकारवालाले अग्रसरता लिन नसकेको गुनासो गरे ।

उनले स्वार्थका आधारमा देश चलाउदा बेथिति बाहेक केहि नहुने जिकिर गरे । इमान्दारीपूर्वक लागे देश बनाउन कुनै समस्या नरहेको उनको भनाइ छ ।